१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
युएईको अजमान सहरस्थित एनआरएनएको सेल्टरमा अलपत्र नेपाली कामदार
मुना कुँवर काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:o८:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

फरएभर म्यानपावरले तीन लाखसम्म असुलेर  भिजिट भिसामा युएई उडाएका २० नेपाली अलपत्र

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:o८:oo

गत ३१ असोजमा कैलालीका चन्द्र बोहरा वैदेशिक रोजगारीका लागि दुबई गए । उनलाई पठाउने फरएभर ह्युमन रिसोर्स सोलुसन कम्पनीका एजेन्ट सुरज राई विमानस्थलमै आइपुगे । उनले नेपालबाट गएका बोहरासहित ६ जनासँग एक–एक हजार उठाए र कम्पनीको मान्छे लिन आउने भन्दै गए । 

राईले भनेजस्तै केही समयपछि पाकिस्तानी एजेन्ट फैजन आयो । उसले सबैजनालाई कम्पनीको क्वारेन्टिन भन्दै एउटा कोठामा लगेर राख्यो । तर, १० दिन बितिसक्दा एजेन्ट नफर्किएपछि खानाको अभाव भयो । उनीहरू आफ्ना चिनजानका साथीहरूमार्फत नेपाली जनप्रगतिशील मोर्चाको सम्पर्कमा पुगे । मोर्चाले उनीहरूलाई खाना उपलब्ध गरायो । तर, भोलिपल्ट भाडा नतिरेको भन्दै घरबेटीले निकालिदियो । अन्त्यमा, दुबईस्थित गैरआवासीय नेपाली संघले उनीहरूलाई अजमान भन्ने ठाउँमा खाने–बस्ने व्यवस्था गरेको छ ।

कैलालीकै ३१ वर्षीय विष्णु चौधरी पनि दुबई पुगेको एक महिनाभन्दा बढी भयो । कतार जाने प्रक्रियामा रहेका उनलाई फरएभर म्यानपावरले दुबई पुर्‍यायो । विमानस्थलमा उनलाई भेट्न पनि म्यानपावर कम्पनीले भनेजस्तै पहिला नेपाली एजेन्ट सुजन राई नै आयो । उसले चौधरीसहित ६ जनासँग डलर लिएर हिँड्यो । केही समयपछि पाकिस्तानी एजेन्ट आए । कम्पनीको क्वारेन्टिन भन्दै कोठामा राखेको उनले फोनमार्फत नयाँ पत्रिकालाई जानकारी दिए । तर, १५ दिनसम्म पनि कोही सम्पर्कमा नआएपछि उनीहरूलाई पनि घरबेटीले निकालिदियो । उनीहरूलाई गैरआवासीय संघले अजमानमा खाने र बस्ने व्यवस्था गरिदिएको छ । 

धरानका २७ वर्षीय विजय खड्का वैदेशिक रोजगारीकै क्रममा म्यानपावर कम्पनीमार्फत दुबई पुगेको ४८ दिन भइसकेको छ । तर, अहिलेसम्म म्यानपावर कम्पनीले उनलाई काम दिएको छैन । खड्कासहित दुबई पुगेका आठजनालाई पाकिस्तानी एजेन्टले कम्पनीको क्वारेन्टिन भन्दै कोठामा छोडेर भागेको छ । घरबेटीले निकालेपछि अहिले उनीहरू पनि एनआरएनको सेल्टरमा छन् । 

म्यानपावरले २० जनालाई दुबईमा अलपत्र बनायो
काठमाडौंको टोखा सरस्वतीस्थित फरएभर रिसोर्स सोलुसन म्यानपावर कम्पनीले २० जना युवालाई दुबईमा अलपत्र पारेको छ । आकर्षक आम्दानीको प्रलोभन देखाई भिजिट भिसामा दुबई पु¥याएको पीडितहरूको आरोप छ । 

कोरोना महामारीका कारण युएई सरकारले करिब डेढ वर्ष विदेशी कामदारलाई प्रवेशमा रोक लगाएको थियो । तर, अर्धसरकारी कम्पनीका लागि भने खुला गरेको वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलले बताए । उनका अनुसार गत भदौदेखि भने युएई सरकारले कामदार प्रवेश खुला गरेको छ । यद्यपि, कुनै पनि म्यानपावर व्यवसायीले भिजिट भिसामा कामदार पठाउन भने नपाउने उनको भनाइ छ । 

तीन लाखसम्म ठग्यो म्यानपावरले
म्यानपावर कम्पनीले आकर्षक आम्दानीको लोभमा युवाहरूबाट एक लाख २७ हजारदेखि तीन लाखसम्म ठगेको पाइएको छ । तर, सरकारले भने वैदेशिक रोजगारीलाई निःशुल्क बनाएको छ । कैलालीका तिलक साउदले फरएभर रिसोर्स सोलुसन म्यानपावर कम्पनीलाई दुबई रोजगारीका लागि एक लाख २७ हजार दिएको बताए । भिसा प्रक्रियाका लागि भन्दै साउदले सुरुमै ३० हजार कम्पनीलाई बुझाएका थिए । ‘म्यानपावर कम्पनीले राम्रो कामको माग आएको भन्दै अचानक हामीलाई काठमाडौं बोलायो । काठमाडौं आएको पाँच दिनमा नै भिसा आएको कम्पनीले बतायो । तत्काल उड्नुपर्ने भएपछि हामीले घरबाट पैसा मगाएर कम्पनीलाई बुझायौँ,’ उनले भने । 

त्यस्तै, कैलालीकै चन्द्र बोहराबाट म्यानपावर कम्पनीले दुई लाख १० हजार असुलेको उनले बताए । साउदी अरब गइसकेका उनलाई यति धेरै रकम लाग्दैन भन्ने पनि थाहा थियो । ‘तर, एजेन्ट आफ्नै मान्छे थियो । मेरो विश्वास लाग्दैन भनेर भन्न थाले । के गर्नु, आफन्तलाई कसरी विश्वास नगर्नु,’ उनले भने । 

कैलालीकै विष्णु चौधरीले दुई लाख ५० हजार म्यानपावरलाई बुझाएको बताए । ‘आफूसँग त थिएन । तैपनि राम्रो आम्दानी हुन्छ भनेपछि ऋणधन गरेर पैसा बुझाएँ,’ उनले भने । धरानका विजय खड्काले भने म्यानपावर कम्पनीलाई एक लाख ७५ हजार रुपैयाँ बुझाएको बताए । 

आफ्नैबाट ठगिए युवाहरू 
वैदेशिक रोजगारीमा जाने अधिकांश कामदार आफन्तबाट नै ठगिने गरेको पाइएको छ । खड्काको मीतकाका पर्ने करन चाम्लिङले जुत्ता प्याकिङ गर्ने काम भन्दै उनलाई दुबई पठाएका थिए । ‘काकाले १७ सय रियाल तलब छ । कम्पनीको मान्छे एयरपोर्टमा लिन आउँछ । एक हप्ता क्वारेन्टिन बस्नुपर्छ । त्यसपछि काम सुरु हुन्छ भनेका थिए,’ उनले भने । खड्कालाई उड्ने वेलासम्म भिजिट भिसा भन्ने थाहा थिएन । ‘अन्तिम समयमा थाहा पाएपछि मैले भिजिट भिसामा जान्नँ पनि भनेको थिएँ । आफ्नै मान्छेले नै फसाउने रहेछ,’ उनले गुनासो गरे ।

त्यस्तै, कैलालीका तिलक साउदलाई पनि छिमेकी विशाल नेपालीले फसाएका थिए । ‘विशाल हाम्रो छिमेकी हुन् । सानैदेखिको चिनजान छ । कसरी विश्वास नगर्नु,’ उनले भने । कैलालीकै विष्णु चौधरीलाई चिनजानकै राजीव क्षेत्रीले फसाए । फुड प्याकिङ कम्पनी हो भन्दै उनले चौधरीलाई भिजिट भिसामा दुबईमा अलपत्र पारे ।

मेरो संलग्नता भेटिए सजाय भोग्छु : भीम राई 
सञ्चालक, फरएभर ह्युमन रिसोर्स सोलुसन म्यानपावर 

यसमा मेरो व्यक्तिगत संलग्नता केही छैन । मैले पनि समाचारमा आएपछि थाहा पाएको हुँ । त्यसैले मैले ती भाइहरूसँग सम्पर्क गरेँ । तर, उनीहरूको माग उच्च छ । त्यसैले यो समस्या समाधान गर्न कठिन छ । यद्यपि, यसमा मेरो संलग्नता भएको भेटिएमा सजाय भोग्न तयार छु । 


म्यानपावरले भिजिट भिसामा कामदार पठाउन पाउँदैन : मेघनाथ भुर्तेल, सचिव, वैैदेशिक रोजगार व्यवसायी संघ
हामीले दुबईको भिजिट भिसाको विरुद्धमा धेरै आवाज उठाएका छौँ । यसलाई रोक्नुपर्छ भनेर पनि सरकारलाई आग्रह गरेका छौँ । कुनै पनि म्यानपावर व्यवसायीले भिजिट भिसामा कामदार पठाउन पाउँदैन । यदि कसैले जानजान पठाउँछ भने त्यसको जिम्मेवार कम्पनी नै हुन्छ ।

मानव तस्करको जालो एयरपोर्टमै सेटिङ
वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलकाअनुसार दैनिक हजारौँ युवा भिजिट भिसामा वैदेशिक रोजगारीका लागि बिदेसिने गरेका छन् ।  महामारीमा यस्तो क्रम अधिक थियो । तर, भिजिट भिसामा जाने कामदारहरू दुबईमा अलपत्र पर्न थालेको समाचार आउन थालेपछि वैदेशिक रोजगार विभागले कडाइ गरेको भुर्तेलले बताए । विभागले सूचना नै जारी गरी दुबई भिजिट भिसामा नजानसमेत आग्रह गरेको थियो । त्यस्तै, वैदेशिक रोजगार व्यवसायी संघले पनि सरकारलाई दुबईका लागि भिजिट भिसा बन्द गर्नसमेत आग्रह गरेको थियो । 

विभागले भिटिज भिसालाई निरुत्साहित गरे पनि विमानस्थलका कर्मचारीको सेटिङमा कामदार दुबई जाने गरेको संघका सचिव भुर्तेलले बताए । कैलालीका चन्द्र बोहराले विमानस्थलमा फरएभर म्यानपावरले सेटिङ गरेको बताए । ‘मैले भिजिट भिसामा जान्नँ भन्दा, केही समस्या हुँदैन भनेका थिए,’ उनले भने । विमानस्थलमा पनि कुनै सोधपुछ नभएको उनले बताए । 

ad
ad