Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
शिल्पा कर्ण काठमाडाैं
२०७८ कार्तिक २२ सोमबार ०६:४३:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आन्दोलन थप सशक्त बनाउने बारको तयारी

सर्वोच्च बार एसोसिएसन भन्छ–प्रधानन्यायाधीश जबरा यसकारण असफल

Read Time : > 3 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
२०७८ कार्तिक २२ सोमबार ०६:४३:००

दोस्रो चरणको आन्दोलनअघि नेपाल बारले देशभरका इकाइसँग भर्चुअल छलफल गरेर सुझाव मागेको छ, आइतबारका अधिकांश सहभागीले आन्दोलन सशक्त बनाउँदै इकाइ तहसम्म पुर्‍याउन सुझाव दिएका छन् । सर्वोच्च बारले त देशभरका अदालत ठप्प पार्नेदेखि प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमै रोक लगाउनेसम्मका आन्दोलनको खाका प्रस्तुत गरेको छ ।

नेपाल बार एसोसिएसनका इकाइहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलन थप सशक्त बनाउन नेतृत्वलाई सुझाव दिएका छन् । आवश्यकताअनुसार आन्दोलनलाई इकाइ तहसम्म लैजानुपर्ने उनीहरूको राय छ ।न्यायालय सुधारका लागि जबराले राजीनामा दिनुपर्ने मागसहित आन्दोलनरत नेपाल बारले दोस्रो चरणको आन्दोलनअघि इकाइहरूसँग सुझाव माग्न आइतबार भर्चुअल छलफल गरेको थियो । देशभरका ९० इकाइमध्ये आइतबार ४० वटासँग छलफल भएको र बाँकीसँग सोमबार सुझाब लिने महासचिव लीलामणि पौडेलले बताए ।

छलफलमा सहभागी सर्वोच्च अदालत बार एसोसिएसनले त २६ कात्तिकसम्मको दोस्रो चरणको आन्दोलनको खाकासहित नै केन्द्रलाई सुझाब दिएको छ । सो आन्दोलनपछि पनि राजीनामा नआए प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमै रोक लगाउने गरी संघर्षमा उत्रिन सर्वोच्च बारको सुझाब छ । ‘समय अभावले गर्दा आज २५ इकाइका २९ साथीहरूले मात्र बोल्न सक्नुभयो । अधिकांश साथीले बारको आन्दोलनलाई समर्थन जनाउनुभएको छ । प्रधानन्यायाधीशको राजीनामाको विकल्प नभएको भन्दै उहाँहरूले आवश्यकताअनुसार आन्दोलन सशक्त र इकाइ तहसम्म लैजान सुझाव दिनुभएको छ,’ महासचिव पौडेलले भने । 

सोमबार बाँकी इकाइसँग छलफल गरिने पौडेलले बताए । इकाइबाट आउने सुझावअनुसार बैठक बसेर आन्दोलनको निर्णय गरिने उनको भनाइ छ । आइतबार साढे १० देखि अपराह्न ३ बजेसम्म छलफलमा जुटेको बारले सोमबार भने १२ बजेपछि भर्चुअल छलफल गर्दै छ । ‘आजको छलफलमा सहभागी साथीहरूले काठमाडौंकेन्द्रित आन्दोलनबाट माग पूरा नभए कडा कार्यक्रम ल्याउनुस्, सहयोग गर्न हामी तयार छौँ भनेर प्रतिबद्धता जनाउनुभएको छ,’ महासचिव पौडेलले भने, ‘बाँकी इकाइका साथीहरूसँग भोलि (सोमबार) छलफल गरेपछि थप आन्दोलनको घोषणा गर्छौँ ।’ 

आइतबारको भर्चुअल छलफलमा सहभागी सर्वोच्च अदालत बार एसोसिएसनले त दोस्रो चरणको आन्दोलनको खाकासहित केन्द्रलाई सुझाव दिएको छ । २६ कात्तिकसम्मको सो आन्दोलनपछि पनि राजीनामका नआए प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमै रोक लगाउने गरी संघर्षमा उत्रिन सर्वोच्च बारको सुझाव छ । छलफलमा सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरेले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने कारणबारे बुँदागत धारणा राखेका थिए । ‘प्रधानन्यायाधीशले राजीनामा नदिएर अटेर गरेर बसे कडा आन्दोलनमा जान सुझाव दियौँ, उहाँको निरन्तरताले संविधान र मुलुकको भविष्य अँध्यारोमा धकेल्ने धारणा राख्यौँ,’ सचिव घिमिरेले भने । 

सर्वोच्च बारले यसअघि ८ कात्तिकमा विज्ञप्ति जारी गर्दै न्यायिक नेतृत्व असफल भएको टिप्पणी गरेको थियो । सचिव घिमिरेका अनुसार आइतबारको भर्चुअल छलफलमा दोस्रो चरणको आन्दोलनको खाकाबारे पनि केन्द्रलाई सुझाव दिइएको छ । जसअनुसार सोमबार यसअघिझैँ सर्वोच्चमा कालोपट्टीसहित धर्ना दिने, २३ र २५ कात्तिकमा देशभरका अदालतमा धर्ना दिनुपर्ने सुझाव सर्वोच्च बारको छ । २४ कात्तिकमा सार्वजनिक बिदा छ । त्यस्तै, २६ कात्तिकमा इकाइहरूमार्फत देशभरका अदालत केही समयका लागि बन्द गराउन सुझाव दिइएको छ । 

‘त्यसपछि पनि प्रधानन्यायाधीशले अटेर गरेर बस्नुभयो, राजीनामा दिनुभएन भने उहाँलाई सर्वोच्च प्रवेशमा रोक लगाउने गरी आन्दोलनका कार्यक्रम ल्याउन सुझाव दिएका छौँ । न्यायपालिकाको मान–प्रतिष्ठा जोगाउन प्रधानन्यायाधीशलाई हामी फेरि पनि आग्रह गर्छौँ,’ घिमिरेले भने । नेपाल बारको पहिलो चरणको आन्दोलनअन्तर्गत कानुन व्यवसायीहरूले १४ देखि १७ कात्तिकसम्म दैनिक एक घन्टा सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर धर्ना दिएका थिए । सोमबार पनि धर्ना जारी राखिने महासचिव पौडेलले बताए । ‘न्यायालय सुधारका लागि प्रधानन्यायाधीशको राजीनामा एक मात्र विकल्प हो भन्ने हाम्रो माग हो । राजीनामा नआएसम्म आन्दोलन सशक्त र कडा बनाउँदै लैजान्छौँ,’ उनले भने ।

अल्झाउने जबरा रणनीति जारी
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवादका नाममा संघर्षरत न्यायाधीशहरूलाई अल्झाउने रणनीति जारी राखेका छन् । आइतबार मात्रै पनि उनले संवाद गर्ने जिम्मा पाएका तीन न्यायाधीशसँग छलफल गरे । तर, सम्मानजनक बहिर्गमन भन्दै आएका उनले ठोस विकल्प भने अघि सारेका छैनन् । उनीबाहेकका १९ न्यायाधीश भने न्यायालय सुधारका लागि जबराले मार्गप्रशस्त गर्नुपर्नेमा एकमत छन् । ‘हामीले बिदा सुरु हुनुअघि पनि उहाँसँग वार्ता गरेका थियौँ । आज (आइतबार) दिउँसो पनि केहीबेर बस्यौँ । उहाँ बहिर्गमनका विभिन्न अप्सन छन् भन्नुहुन्छ, तर त्यो के हो भन्ने स्पष्ट बोल्नुहुन्न,’ संवादमा संलग्न एक न्यायाधीशले भने, ‘उहाँ पद छाड्न सकारात्मक हुनुहुन्न, अहिलेलाई यति भनौँ ।’ अहिलेसम्म पाँचपटक वार्ता भएको उनले बताए । संघर्षरत न्यायाधीश सोमबार पनि छलफलमा बस्दै छन् । बैठकमा तीन न्यायाधीशले जबरासँग भएको पछिल्लो छलफलबारे ब्रिफिङ गर्नेछन् । ‘छलफलबाट के निष्कर्ष आउँछ त्यहीअनुसार अगाडि बढ्छौँ,’ एक न्यायाधीशले भने ।

 सर्वोच्च बार एसोसिएसन भन्छ– प्रधानन्यायाधीश जबरा यसकारण असफल

  • नेतृत्वमा आएको झन्डै तीन वर्ष हुँदा पनि नियुक्त हुँदा सार्वजनिक रूपमा गरेका कुनै पनि प्रतिबद्धता कार्यान्वयन नगरेको
  • न्यायाधीशहरूका बीचमा गुटबन्दी सिर्जना गरी न्यायाधीशहरूकै बीचमा आपसी कलह, द्वेष र वैमनस्यता सिर्जना गरेको 
  • वरिष्ठ र कनिष्ट न्यायकर्मीका बीचमा मतभेद, द्वन्द्व र विभाजन सिर्जना गरी न्यायालयलाई कमजोर बनाउँदै न्यायालयको हुर्मत लिने काम गरेको 
  • न्यायिक इतिहासमै न्यायप्रशासनलाई सबैभन्दा बढी विवादित, अपरादर्शी, विसंगति र विकृत बनाएको 
  • राजनीतिक दल र सत्तासँग आफ्ना निहित स्वार्थको सौदाबाजी गरी संविधानको आत्माका रूपमा रहेको स्वतन्त्र न्यायपालिका, संविधानवाद, शक्ति पृथकीकरण र
  • शक्ति सन्तुलनको सिद्धान्त, मूल्य र मान्यतालाई क्षत विक्षत बनाएको
  • न्यायालयमा देखिएको विकृति, विसंगति र भ्रष्टाचारलाई निर्मलीकरण गर्ने र न्याय प्रशासनलाई सुधार गर्ने सम्बन्धमा सार्वजनिक भएका कुनै पनि प्रतिबद्धता पूरा नगरेको 
  • आफैँले गठन गरेको न्यायपालिकामा हुन सक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचार एवं बिचौलियाबाट हुन सक्ने क्रियाकलाप रोकथामका लागि कानुनी, सञ्चारगतलगायत उपायसहितको प्रतिवेदन र सुझावहरूको कार्यान्वयनका लागि जिम्मेवारीसहितको कार्ययोजना प्रस्ताव गर्न बनेको समितिले सार्वजनिक गरेको प्रतिवेदनलाई कार्यान्वयन गर्नुको साटो उपहास गरेको
  • नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसन तथा न्याय क्षेत्रका सम्मानित व्यक्तिहरूले पटकपटक उठाउँदै आएका जायज माग र सरोकारलाई बेवास्ता गरेको
  • न्यायिक नेतृत्वका लागि आवश्यक न्यायिक गुण तथा कार्यक्षमता, असल आचरण, व्यवहार र चरित्रको अभाव रहेको