१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १४ आइतबार
  • Wednesday, 02 July, 2025
२o७८ कार्तिक १४ आइतबार १६:२६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बुद्ध दर्शनलाई आत्मसात् गरे मात्रै विश्वमा दिगो शान्ति कायम हुन्छ : राष्ट्रपति भण्डारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १४ आइतबार १६:२६:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गर्दै अगाडि बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुने बताएकी छिन्। 

आइतबार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमूर्तिको अनावरण गर्दै राष्ट्रपति भण्डारीले मानवजातिले बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गरेर अगाडि बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुन सक्ने बताएकी हुन्। उनले नेपालले बुद्धका शान्ति, अहिंसा, करुणा, सहअस्तित्व तथा समानताको सन्देश विश्वभर फैलाएकोमा सम्पूर्ण नेपालीले गर्वको अनुभूति गरेको पनि बताइन्।

नेपालीहरू आपसमा सदभाव साथ मिलिजुली बसी विश्व समुदायलाई नै अहिंसा र शान्तिको सन्देश दिइरहेको उनको भनाइ थियो। उनले भनिन्, ‘नेपालले बुद्धका शान्ति, अहिंसा, करुणा, सहअस्तित्व र समानताको सन्देश विश्वभर फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकोमा हामी सम्पूर्ण नेपालीले सधैँ गर्वको अनुभूति गरेका छौँ र सधैँ गरिरहनेछौँ। बुद्धले २५ सय वर्षभन्दा अगाडि पहिल्याउनुभएका जीवनोपयोगी सन्देशरू अहिले पनि निकै सान्दर्भिक हुनु र यसका अनुयायीहरू दिनानुदिन विस्तारित हुँदै जानु हाम्रा निम्ति खुसीको विषय हो। यस पवित्र भूमिमा हामी नेपालीहरू बुद्धत्वको भावनाअनुरूप एक–आपसमा सधैँ सदभाव साथ मिलिजुली बसेको हाम्रो इतिहास छ। यसले हाम्रो पहिचान मात्र स्थापित गरेको छैन। विश्व समुदायलाई नै अहिंसा र शान्तिको शिक्षा दिइरहेको छ। बुद्ध दर्शनलाई मानवले दैनिक जीवनमा आत्मसात् गर्दै अगाडि बढ्न सक्दा नै विश्वमा दिगो शान्ति कायम हुन सक्दछ भन्ने मलाई लाग्दछ।’

राष्ट्रपति भण्डारीले लुम्बिनीलाई बुद्ध संस्कृतिसँग जोडिएको आकर्षक र मौलिक पूर्वाधारको विकास गरी पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा समेत जोड दिइन्। यसो गर्दा स्थानीय समुदायको जीवनमा पनि समृद्धि हासिल हुने उनको भनाइ छ। उनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रूपमा विकास गर्नका लागि गुरुयोजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताइन्।  यहाँको ऐतिहासिक, पुरातात्विक महत्वका संरक्षणसहित बुद्ध सर्किट विकास गरी मौलिक पहिचानलाई विश्वासामु प्रस्तुत गर्नुपर्ने उनले बताइन्। उनले भनिन्, ‘यहाँ योग र ध्यानजस्ता साधना तथा खोज र अध्ययन गर्न सक्ने परिवेशसहित बुद्ध संस्कृतिसँग जोडिएका दिगो, आकर्षक र मौलिक पूर्वाधारको विकास गरी स्वदेशी तथा विदेशी पर्यटकलाई न्यानो आतिथ्यता दिनुपर्दछ । यस क्षेत्रमा पर्यटकलाई उत्कृष्ट सेवा तथा सत्कारले बुद्ध दर्शनको मूलमर्म र भावना पहिल्याउन योगदान पुग्छ साथै स्थानीय समुदायको समृद्ध जीवनमा समेत सहयोग पुग्नेछ। लुम्बिनी विश्वकै आकर्षक क्षेत्र हो। यसलाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रूपमा विकास गर्नका निमित्त गुरुयोजनाको प्रभावकारी कार्यान्वयन अपरिहार्य छ। यहाँ भएका ऐतिहासिक, पुरातात्विक महत्वका स्थान र सामग्रीहरूको अध्ययन, अनुसन्धान, संरक्षणसहित सबै मूर्त र अमूर्त सम्पदालाई उजागर गर्दै बुद्ध सर्किट विकास गरी यस क्षेत्रको मौलिक पहिचानलाई विश्वसामु प्रस्तुत गर्नुपर्दछ। यस क्षेत्रलाई आधार बनाएर स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयले आफूलाई बुद्ध दर्शन र परम्पराको अध्ययन अनुसन्धान गराउने विषयमा ध्यान केन्द्रित गराउँदै विश्वकै एक उत्कृष्ट प्राज्ञिक स्थलको रूपमा विकास गर्न दृढ संकल्पित बन्नुपर्दछ भन्ने मलाई लागेको छ।’  

राष्ट्रपति भण्डारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अत्याधुनिक र सुविधासम्पन्न बनाउनेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुको साथै लुम्बिनीमा खानेपानी, बिजुली, ढल निकासलगायतको विषयमा सम्बन्धित निकायले ध्यान पुर्‍याई उत्कृष्ट बस्ती बनाउनुपर्ने बताइन्।