कोरोना भाइरस संक्रमणको जोखिमका कारण रोकिएको गोदावरी पुष्प प्रदर्शनीको १४औँ संस्करण आगामी शुक्रबारदेखि हुने भएको छ। फ्लोरिकल्चर एसाेसिएसन नेपालको आयोजनामा गोदावरी पुष्प प्रदर्शनीको १४औँ संस्करण आगामी शुक्रबारदेखि ललितपुरको जावलाखेल खेलमैदानमा हुने भएको हो।
एसाेसिएसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदर्शनीको सबै तयारी पूरा भएको जनाएको छ। प्रदर्शनीमा ४४ वटा व्यावसायिक र ४ वटा सूचनामूलक गरी ४८ वटा स्टल राखिनेछ। प्रदर्शनीमा नेपालमा विगतका वर्षदेखि नै व्यावसायिक उत्पादन हुदै आएका विविध जातका गोदावरी फूलको बिरुवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातिका फूलको बिरुवाहरूको समेत प्रदर्शनी तथा बिक्री, वितरण हुनेछ। यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूलका बिरुवाहरूको समेत प्रदर्शनी हुनेछ।
एसोसियसनका अनुसार चारदिने मेलामा उत्कृष्ट हुने एक स्टललाई नगद तथा प्रमाणपत्र प्रदान गरिनेछ। यस वर्ष विभिन्न विधामा गरिने प्रतिस्पर्धात्मक प्रदर्शनी भने नहुने एसाेसिएसनले जनाएको छ।
हरेक वर्ष तिहार पर्वलाई लक्षित गरी हुने गरिएको गोदावरी पुष्प मेला कोरोना भाइरसका कारण गत वर्ष भने स्थगन गरिएको थियो। एसाेसिएसनले यसपटकको प्रदर्शनीमा ५० लाख रुपैयाँको कारोबार हुने अनुमान गरेको छ। नेपालमा हाल १५७ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा पुष्प खेती हुने गरेको छ ।