मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बाराको पथलैयामा नेपाल प्रहरीले सञ्चालन गरेको पेट्रोलपम्प । तस्बिर : नयाँ पत्रिका
अजित अधिकारी काठमाडौं
२०७८ कार्तिक २ मंगलबार ०९:०१:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

सबैभन्दा धेरै इन्धन बिक्री गर्नेमा पथलैयाको प्रहरीको  पेट्रोलपम्प, दोस्रोमा चितवनको कैलाश आयल

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७८ कार्तिक २ मंगलबार ०९:०१:००

देशभर सञ्चालनमा रहेका करिब एक हजार पाँच सय पेट्रोलपम्पमध्ये बाराको पथलैयामा नेपाल प्रहरीको कल्याणकारी कोषबाट सञ्चालित पेट्रोलपम्पको इन्धन बिक्री पहिलो नम्बरमा देखिएको छ । सो पम्प एक्लैले आर्थिक वर्ष ०७७–७८ मा आयल निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जबाट एक अर्ब १४ करोड २६ लाख ३२ हजार तीन सय ३६ रुपैयाँको डिजेल खरिद गरेको थियो ।

सो खरिद मूल्यमा औसतमा तीन प्रतिशत हुन आउने मूल्य जोडेर पम्पहरूले इन्धन बिक्री गर्दै आएका छन् । जसअनुसार सो पम्पले गत आवमा करिब एक अर्ब २० करोड रुपैयाँको इन्धन कारोबार गरेको छ । पम्पले बिक्री गर्ने इन्धनको मूल्य आयल निगमले निर्धारण गर्दै आएको छ । पथलैयाको ‘प्रहरी कल्याण कोष पेट्रोलपम्प’ले डिजेल मात्रै बिक्री गर्ने गर्छ । तैपनि काठमाडौं उपत्यकासहित प्रमुख सहरमा सञ्चालित पेट्रोल र डिजेल बिक्री गर्ने पम्पलाई ठूलो अन्तरले उछिनेको छ । सो पम्पले गत आवमा एक करोड २५ लाख ३८ हजार लिटर डिजेल खरिद गरेर लगेको निगमको अमलेखगन्ज डिपो प्रमुख प्रदीप यावदले जानकारी दिए ।

‘पथलैया चोकमै रहेको प्रहरीको पम्पले दैनिक २–३ गाडी डिजेल लैजाने गरेको छ । जुन अन्य पम्पको तुलनामा धेरै परिमाण हो’ उनले भने, ‘पम्पहरूले जति तेल माग्छन्, हामीले त्यति नै पठाउने गरेका छौँ ।’ प्रहरीको सो पम्पले सरकारी कुपनसहित मालवाहक ट्रक, सार्वजनिक बसलगायतमा ठूलो मात्रामा डिजेल भर्ने गरेको छ । ‘प्रत्येक साँझ सो पम्पमा तेल भर्नका लागि मालवाहक ट्रकको लाइन हुने गर्छ । धेरै बसहरूले पनि तेल हालेको देखेका छौँ’ अमलेखगन्ज डिपो प्रमुख यादवले भने ।

धेरै इन्धन बिक्री गर्ने पम्पहरूको सूचीमा दोस्रो स्थानमा चितवनको पुल्चोकस्थित कैलाश आयल डिस्ट्रिब्युटर्स रहेको छ । सो पम्पले गत आवमा ९७ करोड ९४ लाख ४६ हजार आठ सय ८० रुपैयाँको पेट्रोल र डिजेल खरिद गरेर लगेको अमलेखगन्ज डिपोले जनाएको छ । सो पम्पले ३० लाख २३ हजार नौ सय ४३ लिटर पेट्रोल र ७२ लाख ६७ हजार सात सय ९० लाख लिटर डिजेल खरिद गरेर लगेको निगमले जनाएको छ ।

सबैभन्दा धेरै तेल बिक्री गर्ने १० वटा पम्पको सूचीमा दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जमातहतका मात्रै सातवटा पम्प रहेका छन् । बाँकी तीनवटा पम्प बागमती प्रादेशिक कार्यलय, थानकोटमातहतका छन् । निगमका अनुसार तेस्रो धेरै इन्धन बिक्री गर्ने पम्पको सूचीमा काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाले सञ्चालन गर्दै आएको रिपुमर्दिनी पेट्रोल स्टेसन रहेको छ । सो पम्पले गत आवमा निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटबाट ८६ करोड ७४ लाख ४६ हजार ६ सय चार रुपैयाँको पेट्रोल र डिजेल खरिद गरेर लगेको थियो ।

रिपुमर्दिनीमा सरकारी कुपन भएका सवारीसाधनले धेरै तेल हाल्ने गरेका छन् । त्यस्तै, विषम परिस्थितिमा इन्धन आपूर्ति असहज भएका वेला पनि यो पम्पमा उपभोक्ताको भिड बढ्ने गरेको छ । त्यस्तै यो पम्पको डिजेलको तुलनामा पेट्रोल बिक्री करिब अढाई गुणा बढी छ । चौथो र पाँचाैँ नम्बरमा धादिङको भैरवी इन्टरप्राइजेज र हेटौँडाको जयश्री आयल डिस्ट्रिब्युटर्स रहेका छन् । भैरवीले ८३ करोड ९८ लाख ४३ हजार तीन सय १६ रुपैयाँ र जयश्रीले ८२ करोड ५४ लाख १८ हजार नौ सय ५७ रुपैयाँको इन्धन खरिद गरेर लगेको अमलेखगन्ज डिपोले जनाएको छ ।

छेटौँ नम्बरमा ललितपुरको पुल्चोकमा रहेको साझा सहकारीले सञ्चालन गरेको पम्प रहेको छ । सो पम्पमा उपत्यकामा कुनै दिन इन्धन अभाव हुने हल्ला चल्यो भने मात्रै पनि उपभोक्ताको लाइन लाग्ने गरेको छ । सो पम्पले गत आवमा ७७ करोड ५० लाख ५९ हजार एक सय १९ रुपैयाँको इन्धन कारोबार गरेको थियो ।

सातौँ, आठौँ र नवौँ नम्बरमा हटौँडाका तीन पम्प सूचीकृत भएका छन् । सातौँमा रहेको ओम श्री इम्पेक्सले ७७ करोड एक लाख आठ हजा तीन सय २७ रुपैयाँ, आठौँमा रहेको बाबा भोला फ्युल सेन्टरले ७५ करोड ५१ लाख ६४ हजार ६ सय ५० र नवौँ नम्बरमा रहेको चन्द्रसूर्य आयल डिस्ट्रिब्युटर्सले ७५ करोड १५ लाख ९८ हजार दुई सय पाँच रुपैयाँको इन्धन खरिद गरेको अमलेखगन्ज डिपोले जनाएको छ ।

१०औँ नम्बरमा भक्तपुर फ्युल सेन्टर रहेको छ । सो पम्पले ७० करोड ३१ लाख ३९ हजार पाँच सय ९४ रुपैयाँको इन्धन खरिद गरेको निगमको थानकोट डिपो प्रमुख शैलेन्द्र भुसालले जानकारी दिए ।

उपत्यकामा पेट्रोल, बाहिरी जिल्लामा डिजेलको खपत धेरै
काठमाडौं उपत्यकाबाहेक अन्यत्र डिजेलको खपत धेरै देखिएको छ । नेपाल भित्रिने पेट्रोलियममध्ये सबैभन्दा धेरै (करिब ७० प्रतिशत) डिजेलकै हिस्सा छ । यद्यपि, काठमाडौं उपत्यकामा डिजेल र पेट्रोलको खपतमा ठूलो अन्तर छैन । निगमको थानकोट डिपो प्रमुख शैलेन्द्र भुसालका अनुसार दैनिक पेट्रोल ६–७ लाख लिटर र डिजेल आठ–नौ लाख लिटर खपत भइरहेको छ । उपत्यकामा रहेका ठूला पम्पले डिजेलको तुलनामा पेट्रोल बढी बिक्री गर्ने गरेका छन् । रिपुमर्दिनीले गत आवमा पेट्रोल ५४ लाख ९१ हजार लिटर बिक्री गर्दा डिजेल २९ लाख ८४ हजार र ललितपुरको साझा पम्पले पेट्रोल ५२ लाख ४९ हजार लिटर बिक्री गर्दा डिजेल २२ लाख ९३ हजार लिटर मात्रै बिक्री गरेको थियो ।

तर, उपत्यकाबाहिरका पम्पले भने पेट्रोल न्यून मात्रामा र डिजेल ठूलो परिमाणमा बिक्री गर्ने गरेका छन् । सबैभन्दा धेरै इन्धन बिक्री गरेर पहिलो नम्बरमा रहेको पथलैयाको प्रहरी पम्पले डिजेल मात्रै बिक्री गर्छ । त्यस्तै, दोस्रो स्थानको कैलाश आयलले पनि पेट्रोलको तुलनामा करिब अढाई गुणा बढी डिजेल बिक्री गर्दै आएको छ । उपत्यकाबाहिरका अन्य पम्पले पनि पेट्रोलको तुलनामा करिब तीन गुणा बढी डिजेल बिक्री गर्ने गरेको पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले जानकारी दिए ।

उपत्यकामा धेरै इन्धन बिक्री गर्ने यी हुन् १० पम्प
काठमाडौं उपत्यकामा सबैभन्दा धेरै इन्धन बिक्री गर्ने पम्पको सूचीमा पहिलो नम्बरमा नेपाली सेनाले भद्रकालीमा सञ्चालन गरेको रिपुमर्दिनी पेट्रोल स्टेसन रहेको छ । सो पम्पले गत आवमा ९७ करोड ९४ लाख रुपैयाँको तेल थानकोट डिपोबाट खरिद गरी बिक्री गरेको थियो । त्यस्तै, दोस्रो नम्बरमा ७७ करोड ५० लाख रुपैयाँको इन्धन खरिद गरेर बिक्री गर्ने ललितपुरको साझा पेट्रोलपम्प रहेको छ । तेस्रो नम्बरमा भक्तपुर फ्युल सेन्टर रहेको छ । यी तीन पम्प देशभरका ठूला १० पम्पको लिस्टमा पनि सूचीकृत छन् । यसबाहेक चौथो र पाँचौँ नम्बरमा नेपाल प्रहरीको महाराजगन्जस्थित महालक्ष्मी फ्युल सेन्टर र नक्सालस्थित प्रहरी पेट्रोलपम्प रहेका छन् । गत आवमा महालक्ष्मीले ५६ करोड ५७ लाख र प्रहरी पम्पले ५४ करोड ९३ लाख रुपैयाँको इन्धन खरिद गरेको निगमको थानकोट डिपोले जनाएको छ ।

छैटौँमा बाँसबारीको खड्का आयल स्टोर रहेको छ । यो पम्प बागमती पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्ष अच्युत खड्काको हो । सो पम्पले गत आवमा ५४ करोड दुई लाख रुपैयाँको इन्धन खरिद गरेर लगेको थानकोट डिपोले जनाएको छ । त्यस्तै, सातौमा बागमती आयल सप्लायर्स, आठौँमा सशस्त्र प्रहरीले ललितपुरको लगनखेलमा सञ्चालन गरेको शक्तिदेवी पेट्रोल स्टेसन, नवौँमा कालीमाटीको सीता केयर र १०औँमा काभ्रेको उग्रचण्डी आयल स्टोर रहेका छन् ।