Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
राणा अय्यूब
२०७८ कार्तिक २ मंगलबार ०८:५१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

‘हाइ प्रोफाइल’ दुई सन्तानको गिरफ्तारीपछि भारतको छवि

Read Time : > 2 मिनेट
राणा अय्यूब
२०७८ कार्तिक २ मंगलबार ०८:५१:००

आशिष मिश्रा र आर्यन खानको गिरफ्तारीले बहुसंख्यकले जे भन्छ, त्यो मान भन्ने प्रस्ट सन्देश दिएको छ । मन्त्रीपुत्र आशिषलाई जोगाइरहँदा आर्यनलाई सुपरस्टार पितालाई पाठ सिकाउन हिरासतमा यातना दिइँदै छ ।


भारतका दुई हाई प्रोफाइल गिरफ्तारीले हाम्रो कानुन व्यवस्थारूपी प्रहसन सार्वजनिक भएको छ । भारतका दुई प्रसिद्ध व्यक्तिका छोराहरू अहिले जेलमा छन्, तर उनीहरूका मुद्दालाई जसरी लिइएको छ, त्यसलाई हेर्दा कसले सजाय पाउने र कसले क्रूर यातना पाउने भन्ने उनीहरूको राजनीतिक आबद्धताले निर्धारण गर्नेछ । आशिष मिश्रा शक्तिशाली एवं विवादित र मोदी क्याबिनेटका गृहराज्यमन्त्री अजय मिश्राका छोरा हुन् । ३ अक्टोबरका दिन आशिष मिश्रासहित चढेको गाडीको लस्करले उत्तर प्रदेश राज्यको लखिमपुर खेरी जिल्लामा आन्दोलनरत किसानको समूहलाई कुल्चिएर हिँड्यो । नतिजा चार किसानको घटनास्थलमै मृत्यु भयो ।     

सो हत्याकाण्डको केही दिनअगाडि मन्त्री अजय मिश्राले आन्दोलनरत किसानलाई ‘केवल दुई मिनेटमा पाठ सिकाउने’ चेतावनीसहितको उत्तेजक भाषण दिएका थिए । राज्यमन्त्री मिश्रा सत्तामा गुन्डागर्दीबाटै उदाएका हुन् । उनलाई सन् २००३ मा हत्याको आरोप लागेको थियो । सन् २००४ मा अदालतमा उनको हत्या प्रयास हुँदा रिहा भएका थिए । राज्यमन्त्रीको भड्काउपूर्ण बयान आउनुअघि सत्ताधारी पार्टीका मन्त्रीले आफ्ना कार्यकर्तालाई ‘लाठी उठाऊ र उपद्रवी किसानमाथि हमला गर’ भनेर आह्वान गरेका थिए । भारतमा किसानहरू मोदी सरकारले कृषि उद्योगको अनियमन गर्ने योजनाविरुद्ध एक वर्षदेखि आन्दोलनरत छन् । धेरैजसो किसानको प्रदर्शनमा सरकारले क्रूरतापूर्वक दमन गर्दै आएको छ । किसानमाथि हमला भएलगत्तै सरकारी अधिकारी हमलालाई जायज ठहर्‍याउन उद्यत थिए । 

मन्त्रीले गाडीमाथि पहिले हमला भएको जिकिर गरेका थिए । तर, सतहमा आएको भिडियोमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका किसानमाथि गाडी जोताइएको प्रस्टै देखिन्थ्यो । राष्ट्रियस्तरमा भएको आलोचना र निन्दाले अन्ततः घटना भएको थुप्रै दिनपछि मन्त्रीपुत्र गिरफ्तार भए । आशिष मिश्रालाई मुलुकका शक्तिशाली व्यक्तिले बचाउ गरेका थिए, यहाँसम्म कि मिश्राको गिरफ्तारीपछिको अनुसन्धान पनि निकै उदासीनतापूर्वक गरिँदै छ । मिश्राको गाडीले किसानलाई कुल्चिएको घटनाको एक दिनअगाडि मुम्बईको समुद्री तटनजिक एक क्रुज पानीजहाजमा पुलिसले छापा मारेपछि लागुऔषध नियन्त्रण गर्ने एजेन्टहरूले बलिउड स्टार शाहरुख खानका २३ वर्षीय छोरा आर्यन खानलाई गिरफ्तार गरेका थिए । आर्यनको गिरफ्तारी समाचार च्यानलका क्यामेराधारीहरूको खचाखच भिडबीच भएको थियो ।

भारतीय जनता पार्टीका एक अधिकारी र आफूलाई जासुस भन्ने व्यक्तिको उपस्थितिले गिरफ्तारी स्थललाई संदिग्ध बनाइदिएको थियो । आर्यन खानले लागुऔषध सेवन गरेको वा आफूसँग लागुऔषध राखेको भन्ने कुनै स्पष्ट प्रमाण अहिलेसम्म आएको छैन । घटनालगत्तै मिडियामा उत्तर प्रदेशमा भएको बीभत्स हत्याकाण्डको ठाउँमा अकस्मात चलचित्र उद्योग नैतिक रूपमा पतित भइसकेको खबरले प्रधानता पायो । यो घटनालाई बुझ्न गाह्रो छैन, अर्थात् शाहरुख खान एक चर्चित अभिनेता मात्रै होइनन्, खान मुसलमान समुदायका एक वैश्विक आदर्श हुन्, जसले भारतमा भइरहेको धार्मिक असहिष्णुता एवं विभेदविरुद्ध आवाज उठाएका थिए । सन् २०१० मा उनले ‘माई नेम इज खान’ नामक चलचित्रमा अभिनय गरेका थिए । यो चलचित्रले ११ सेप्टेम्बर २००१ पश्चात् विश्वव्यापी रूपमा मुसलमानप्रति भइरहेको हिंसाविरुद्ध आवाज उठाएको थियो । 

भारतीय फिल्म उद्योगमा मुसलमानलाई बहुसंख्यकवाद वा रुढिबद्ध (स्टेरियोटिपिकल) धारणाका कोणबाट प्रतिनिधित्व गराइन्छ । खानले आफूलाई एक सम्मानजनक मुसलमान नायकका रूपमा प्रस्तुत गरेका थिए । पुरस्कार जित्न सफल ‘चक दे इन्डिया’मा शाहरुख खानले आफूलाई एक मुसलमान कोचको चरित्रमा उतारेका थिए, जहाँ ती कोचले आफूमाथि लागेको पाकिस्तानसँग बिकेको आक्षेपको खण्डन गरेर आफ्नो देशप्रेमलाई पुष्टि गर्नुपर्ने बाध्यता थियो । एक दशकअगाडि बनेको सो चलचित्रले हालको मोदीशासित भारतको झल्को दिन्छ, जहाँ मुसलमानको अपराधीकरण एवं दानवीकरण गरिन्छ र राष्ट्रप्रेम साबित गर्न लगाइन्छ ।              

सन् २०१५ मा बढ्दो धार्मिक असहिष्णुताविरुद्ध शाहरुख खानले खुलेरै बोलेका कारण उनलाई आतंककारीको आरोपसमेत लगाइयो । भारतको सबैभन्दा धेरै जनसंख्या भएको प्रदेश उत्तर प्रदेशका मुख्यमन्त्री एवं उग्र हिन्दू राष्ट्रवादी महन्त योगी आदित्यनाथले शाहरुखलाई पाकिस्तानी आतंककारीसँग तुलनासमेत गरेका थिए । त्यसयता दक्षिणपन्थी अधिकारीहरू र सामाजिक सञ्जालका ट्रोलहरूले उनलाई पाकिस्तान जाऊ भनेर सताइरहन्छन् । आर्यन खान अझै हिरासतमै छन् । पिता शाहरुख खान ‘चक दे इन्डिया’को कथानकमै बाँच्न अभिशप्त छन् । मोदी सरकारका अधिकारीसहित सामाजिक सञ्जालका थुप्रै प्रयोगकर्ताले शाहरुख खानलाई गद्दार करार गरेका छन् । उनलाई विज्ञापनका लागि अनुबन्ध गरेको एक अग्रणी शैक्षिक ब्रान्ड बाइजुसले पनि विज्ञापन रद्द गरेको छ । यो सब राजनीतिक दबाब दिनप्रतिदिन धर्मान्ध एवं रुढिवादी भइरहेको चलचित्र उद्योगमा खानलाई किनारा लगाउने काम हो भन्ने प्रस्टै देखिन्छ ।     

यी दुई सन्तानको घटना–परिघटना नियालिरहेकालाई बहुसंख्यकले जे भन्छ, त्यो मान भन्ने प्रस्ट सन्देश दिएको छ । एउटा सन्तानलाई जोगाइरहँदा अर्को सन्तानलाई आफ्नो सुपरस्टार बुबालाई पाठ सिकाउन हिरासतमा यातना दिइँदै छ । यी घटना–परिघटना शाहरुख खानमा मात्रै सीमित छैन, यी घटना–परिघटना मोदी र मोदीको राष्ट्रवाद नमान्ने हरेक व्यक्तिविरुद्ध लक्षित छन् । अहिले विशेषतः सार्वजनिक वृत्तका प्रभावकारी व्यक्तिहरूको आवाजले भारत तरंगित हुनुपर्छ । एकताबद्ध भएर लड्ने वा भयमा बिलाउने ?  द वासिंगटन पोस्टबाट