मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असोज २७ बुधबार १२:५२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

मध्यपहाडी राजमार्गको ९५ प्रतिशत काम सम्पन्न

Read Time : > 1 मिनेट
२०७८ असोज २७ बुधबार १२:५२:००

राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका– २५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ। पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमि सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको सडक आयोजनाले जनाएको छ । ढिलोमा आगामी माघ महिनाभित्रमा सम्पूर्ण काम सम्पन्न हुने दाबी गरिएको छ।

फेदीदेखि घट्टेखोलासम्मको दुई किमि सडकबाहेक अन्य सबै स्थानमा ‘अस्फाल्ट ’कालोपत्र सकिएको छ । सो स्थानमा कालोपत्रका लागि सबै काम तयारी अवस्थामा रहेको बताइन्छ। कालोपत्रपछि अहिले रोड मार्किङलगायतका काम जारी छ।

याम्दीदेखि सुुइखेतसम्म छ किमि र सुइखेतदेखि घट्टेखोला छ किमि २०० मिटर गरी दुई खण्डमा ठेक्का सम्झौता गरेर काम सुरु गरिएको थियो । सो सडकको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाका इन्जिनियर अनन्त बरालले जानकारी दिए । सुरुवातमा विद्युत् पोल र खानेपानीको पाइपको स्थानान्तरणको प्राविधिक समस्याले ढिलाइ भएको र पछि कोरोनाका कारणले आयोजना प्रभावित भएर तीनपटकसम्म म्याद थप गरिएको उनले बताए ।

आयोजना निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा पोल र पाइप कसले स्थानान्तरण गर्ने भन्ने जिम्मेवारी तय नहुँदा सुरुमा लामो समय काम प्रभावित भएको दाबी आयोजनाको छ। इन्जिनियर बरालले भने, ‘सरकारले पछिल्लोपटक कोरोनाका कारण प्रभावित आयोजनाका लागि चैतसम्मको म्याद थप गरेको छ । तर, यस आयोजनाको बाँकी काम त्यसभन्दा अघि नै ढिलोमा माघभित्रमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम गरेका छ।’

असोजदेखि बाँकी रहेको स्थानमा कालोपत्र गर्ने योजना रहे पनि नियमितजस्तो वर्षा भएकाले काम सुरु गर्न नसकिएको बताइन्छ । सडकको ‘मेडियन’का कारण सडकमा पानी आउँदा सडक छिट्टै जीर्ण हुने भएकाले अहिले मेडियनको ढलानको काम भइरहेको छ । त्यसबाहेक सडक सौन्दर्यकरणको कामसमेत चालू रहेको इन्जिनियर बरालले बताए । वि.सं. २०७६ असोज मसान्तभित्रमा सम्पन्न गर्ने गरी वि.सं. २०७४ भदौमा आयोजनाको ठेक्का सम्झौता भएको थियो।

सो खण्ड ३० मिटर फराकिलो छ । निर्माण कार्य तोकिएको मितिमा सम्पन्न हुन नसकेपछि वि.सं. २०७६ असोजमा पहिलोपटक, पहिलो चरणको कोरोनाका वेला  दोस्रोपटक र कोरोनाको दोस्रो चरणपछि तेस्रोपटक म्याद थप गरिएको थियो ।

आयोजनाले याम्दी–सुइखेत खण्ड निर्माणका लागि वि.सं. २०७४ भदौमा स्वच्छन्द इलाइट जेभीसँग रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ मा र सुइखेत–घट्टेखोला खण्ड शर्मा एन्ड कम्पनीसँग रु ९८ करोड १२ लाख ५० हजार ५२९ लागतमा ठेक्का सम्झौता गरेको थियो । रासस