मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ असोज २५ सोमबार १०:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ खेलकुद समितिको सदस्यसचिवमा पर्शुराम बस्नेत नियुक्त

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ असोज २५ सोमबार १०:३३:००

अल्पमतमा परेको प्रदेश १ सरकारले प्रदेश खेलकुद समितिको सदस्यसचिवमा विवादित छवि भएका पर्शुराम बस्नेतलाई नियुक्त गरेको छ । मुख्यमन्त्री भीम आचार्य नेतृत्वको मन्त्रिपरिषद्को २४ भदौमा बसेको बैठकले विराटनगरनिवासी विवादित छवि भएका पर्शुराम बस्नेतलाई सदस्यसचिवमा नियुक्त्त गरेको हो । 

सदस्यसचिवमा नियुक्त भएका पर्शुराम पत्रकार आक्रमण, गुन्डागर्दी र अकुत सम्पत्ति आर्जन आरोपमा मुद्दा खेपिसकेका विवादित व्यक्ति हुन्  । उनलाई नियुक्त गराउन एमाले शीर्ष तहबाटै चर्को दबाब परेको बताइन्छ । प्रदेश खेलकुद महासंघको सदस्यसचिव बन्न पर्शुरामले पहिलेदेखि नै प्रयास गर्दै आएका थिए । तर, यसअघिका  मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले विवादित छविका व्यक्तिलाई पदाधिकारी बनाउन चाहेका थिएनन् । समितिको उपाध्यक्षमा पाँचथरका बाबा मेयाङ्वा र सदस्यमा सुनसरीका भेषराज कार्की र विप्लव घोष अनि ओखलढुंगाका थलु राजभण्डारी नियुक्त भएका छन् । 

यसैगरी आचार्य नेतृत्वको सरकारले प्रदेश पर्यटन बोर्ड सदस्यहरू पनि २४ असोजमै नियुक्त गरेको छ । विराटनगरका फणिन्द्र अधिकारी, सुनसरीका देवी गौतम, सोलुका भीमराज राई, धनकुटाका उमेश घिमिरे, इटहरीका प्रेरणा थापा र बिर्तामोडका इन्दिरा श्रेष्ठ प्रदेश पर्यटन बोर्डको सदस्यमा नियुक्त भएका छन् ।

प्रस्ट अल्पमतमा परिसकेकाे मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई विपक्षी दलहरूले चेतावनी दिए पनि बेवास्ता गर्दै सरकारले एकपछि अर्को दूरगामी र महत्वपूर्ण निर्णय गर्दै गइरहेको छ ।  २५ असोजभित्र विश्वासको मत लिइसक्नुपर्ने अल्पमतमा परेको मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारले अझै प्रस्तावसमेत प्रदेश सभामा दर्ता गराएको छैन ।