नयाँ राजनीतिक यात्रा कंग्रेसबाट सुरु गरेका ‘कमरेड’ कन्हैयाले अबका दिनमा आफ्नो ओपनिङ ब्याटिङ कंग्रेसको नयाँ पिचमा खेल्नेछन्
सहिद भगत सिंहको जन्मदिनको साइत पारेर तेजतर्रार भारतीय कम्युनिस्ट युवानेता कन्हैया कुमारको नयाँ राजनीतिक यात्रा कंग्रेसबाट सुरु भयो । उनले ओपनिङ ब्याटिङ अब कंग्रेसको नयाँ पिचमा खेल्नेछन् । निम्न मध्यमवर्गीय युवाका ‘पोस्टर–ब्वाई’ यी भूमिहारपुत्र विहारी बाबुले विचारको मूल्य दिल्लीका सडकमा, प्राज्ञिक र राजनीतिक बहसमा, जेलका कोठरीमा र चुनावी मैदानमा तिरे ।
जवाहरलाल नेहरू विश्वविद्यालय (जेयनयू) का विद्यार्थी अध्यक्ष कन्हैया मिडियाका न्युजमेकर बने । उनको गाउँ बिहट धरतीलाई पूर्वको लेनिनग्राद र बेगुसरायलाई मिनी मस्को भनिन्थ्यो । देशैको नजरकेन्द्रित बेगुसरायको गत संसदीय चुनावमा लालसलामका नारा घन्काउने कन्हैयाको समर्थनमा देशैभरिका सेलिब्रेटी उत्रिए । भाजपाले प्रतिष्ठाको लडाइँ लडेको सो चुनावमा उनी पराजित भए । कन्हैयाको कंग्रेस प्रवेशसँगै कम्युनिस्ट आन्दोलनभित्र अनेकौँ कोणले बहस उठे, उठ्दै छन् । आखिर किन कन्हैयाले कम्युनिस्टलाई लालसलाम, बाई–बाई भन्दै कंगे्रसी यात्रा सुरु गरे त !
संसदीय अभ्यासमा कम्युनिस्ट : हिन्दू महासभाबाट राष्ट्रिय स्वयंसेवक संघ बनेको (आरएसएस, भाजपाको माउ संगठन, २७ सेप्टेम्बर १९२५) जन्मेको तीन महिना नबित्दै भारतीय कम्युनिस्ट पार्टी (भाकपा) २६ डिसेम्बरमा स्थापना भयो । चिनियाँ कम्युनिस्ट पार्टी (२३ जुलाई १९२१) स्थापनाको चार वर्षपछि भाकपा जन्मेको हो ।
संसारकै पहिलो निर्वाचित कम्युनिस्ट सत्ता भएको देश सान मारिनो (१९४५–१९५५) भए पनि भारत, केरलको नम्बुदरिपाद सरकार (५ अप्रिल १९५७) चर्चित रह्यो । आठौँ लोकसभा चुनावमा (१९८४) भाजपाको दुई सिट थियो, तर सत्रौँ लोकसभामा (२०१९) भाजपा ३०३ सदस्यसहित राजकीय नेतृत्व गर्दै छ भने वामपन्थी सदनमा ६ सदस्य मात्र छन् । आधारभूत रूपमै भिन्न सोचाइका यी दुवै पार्टीबीच ९६ वर्षमा यो अवस्था के र कसरी आइपुग्यो ? वामपन्थको चुनावी पात्रो नियाल्दा बंगालमा ३३ वर्ष ३२५ दिन (अहिले शून्य सिट) केरलामा ३३ वर्ष ७१ दिन र त्रिपुरामा ३४ वर्ष ३६४ दिन सत्ता सञ्चालन गरेका पार्टीको सदनमा मात्र ६ सिट ।
लोकसभाको सभामुख, केन्द्रीय गृहमन्त्री भइसकेका र प्रधानमन्त्रीमा ज्योति वसुलाई प्रस्ताव गरिँदा पार्टीभित्रको कलहले सम्भव भएन । भारतीय कम्युनिस्ट पार्टीको अहिलेको हविगतको मुख्य कारण के हो ? सामाजिक सरोकारका विषयमा कम्युनिस्ट पार्टी उदासीन भयो र आन्दोलन बन्न सकेन । ऊ अहिले त्यसैको परिणाम झेल्दै छ । चौधौँ लोकसभाको अंक ५९ बाट घटेर सत्रौँ लोकसभामा ६ मा किन खुम्चियो ! संसदीय गणितमा यत्रो हेरफेर भारतीय समाजमा आएको फेरबदल हो कि ! पार्टी घोषित मूल्यमा टिक्न, अभ्यास गर्न नसक्नाको परिणाम हो ?
प्रविधि र सूचनाको अभूतपूर्व विकाससँगै आन्दोलनलाई कसरी जोड्ने ? सामाजिक सरोकारसँग पार्टीलाई कसरी सामाजिकीकरण गर्ने ? सामाजिक परिवर्तन, उत्पादनका साधन र स्रोतमा हेरफेर हुँदा समयलाई नेतृत्व दिन सक्ने कार्यनीति बनाउन नसक्नु वामपन्थका समस्या हुन् । सुविधाअनुसार सिद्धान्तको व्याख्या भइरहँदा रूप, गुण र नारा अवस्थाअनुरूप फरक हुन्छन् । पुरानै सोचले नयाँ समस्यामाथि हस्तक्षेप गर्न सक्दैन । दोहोरो अर्थमा शुद्धतावाद प्रयोग हुन्छ । फेरिँदो अन्तरविरोध र अवस्थाबीच बहस, लड्ने तरिका, स्थिति, वैचारिक उदारता या संकीर्णताको घेराबन्दी तोड्ने कसरी ? नेतृत्वले जोखिम कसरी उठाउने ? भन्ने हुन्छ । सोच परिवर्तन नभए रूपअनुसारको गुण हुँदैन । नामअनुसारको काम नहुँदा मर्म र कर्मबीच अन्तर देखिएर पार्टी साइनबोर्डमा सीमित बन्न पुग्छ ।
सर्वहाराको राजनीति जब अर्बहाराको चौतारीमा फेरिन्छ, तब पार्टी पसल बन्छन् भने नाम ट्रेडमार्क । समाज फेर्न गएकाहरू स्वयं फेरिएपछि लालसलाम लालमण्डलेले कब्जा गर्छन् । नक्कलीको बिगबिगीमा सपना तुहिन्छन्, आन्दोलन सकिन्छ, त्यस्तो वेला कम्युनिस्ट वा बुर्जुवा पार्टीबीच कुनै भिन्नता हुँदैन । राजनीति व्यवसायमा फेरिएर शक्तिको भ¥याङ मात्र बनेपछि पृष्ठभूमि लोकप्रियताको ज्यावल बनेर व्यक्तित्वको मार्केटिङ हुन थाल्छ । नयाँ समयका नयाँ चुनौती र आफ्नो समकालीन भूमिकाको आत्ममन्थन गर्दैन भने कार्यकर्ताले नयाँ भाव, भूमि र भूमिका खोज्नु नौलो होइन ।
के कंग्रेस फेरिँदै गएको हो ? : पन्जाबमा अमरिन्दर सिंह, विहारमा नितिशकुमार र पश्चिम बंगालमा ममता बनर्जीको राजनीतिक व्यवस्थापन गरिसकेका प्रशान्तकुमारले कंग्रेसमा नयाँ सोच, नयाँ ऊर्जा र नयाँ विश्वासको उभार ल्याउन सक्लान् ? राहुल गान्धीले नयाँ सोच, विचार र भूमिकाका नयाँ युवालाई पार्टीमा ल्याएर पुरानासँगको टकराहटको जोखिम मोलिरहेका छन् । भाजपासँग सांस्कृतिक राष्ट्रवाद र अखण्ड भारतको आवेगी तुरुप र नयाँ भाष्य छ । बुजुर्वा मध्यम वर्ग एकातर्फ कम्युनिस्ट चाहँदैनथे भने अर्कातर्फ अन्य वैकल्पिक शक्तिको अभावले जातीय, धार्मिक घृणाको आवेगमा फस्दै गए । खाली भएको सडक धार्मिक उन्मादीले सांस्कृतिक राष्ट्रवादी विचार र आन्दोलनले अपहरण ग¥यो । कांग्रेस मध्यमार्गी पार्टी भए पनि उसले उग्रदक्षिणपन्थीको मलिलो जमिन तयार गरिदिएकै थियो । मिश्रित अर्थव्यवस्था त्यागेको थियो ।
कम्युनिस्ट पार्टीभित्रको संकीर्णता, समयसँगै सिद्धान्त र व्यवहारमा तालमेल मिलाउन नसक्ने समस्या, राजनीतिलाई सामाजिकीकरण गर्न नसक्ने नेतृत्व आदिका कारण पार्टीबाट कन्हैया कुमारहरू पलायन हुनु अनौठो होइन
बंगालको चुनावमा भाजपाको पराजयले मध्यपन्थी धारमा आशा र ऊर्जा फैलियो । सबभन्दा पुरानो र लामो समय सत्तामा रहेको पार्टीले कुलीन नेतृत्वका ‘राजा–महाराजा’ ज्योतिरादित्य सिंधिया, जितिनप्रसाद, कैप्टन अमरिन्दर सिंहको ठाउँमा वाम र गरिब पृष्ठभूमिका सडक आन्दोलनका जुझारु र जनाधारवाला कन्हैया, जिग्नेश र हार्दिक पटेल मात्रै होइन, पन्जाबको मुख्यमन्त्रीमा पूर्वराजाको ठाउँमा दलित चन्नीलाई ल्यायो ।
अब ऊ जनाधार बढाउन इतिहासतिर फर्किन थालेको हो ? के यो ‘प्याराडाइम सिप्mट’ हो ? कर्पोरेट र कुलीन वर्गको हालिमुहाली हुँदा उदारवादको खासै अर्थ रहँदैन भने जनसरोकारका विषय सडकबाट उठाउने नेतृत्वको अभावले चुनौतीको सामना गर्न सक्दैनथ्यो । सत्ताबेगर रहन नसक्ने चरित्र मध्यमार्ग (सेन्ट्रिस्ट लेफ्ट) सामु अस्तित्वको संकट बन्यो । तब कंगे्रसमा पुराना भर्सेस नयाँको व्यक्ति, सोच र भूमिका खोज्न थालियो ।
आफ्नै विचारधारा खोजिरहेको अवस्थामा विचारधाराबेगर राजनीति गर्न सकिँदैन । के यो नयाँ प्रयोग विचारमा फेरबदल हो ? जब कि कंग्रेस र भाजपाको अर्थनीति र वर्गचरित्र एउटै छ । पुराना र कुलीनको ठाउँमा नयाँ जुझारु युवालाई लिएर नयाँ टिम बनाउने प्रयासले जनविश्वास फेरि पाउन सक्ला ? लामो समयको भाजपाको अभ्यासले ‘न्यारेटिभ’ नै फेरबदल हुँदा समाजमा तीव्र रूपमा धार्मिक धु्रवीकरण हुँदै छ । खानपान, पूजाविधि र कपडाको रङ (पहेँलोले हिन्दू, हरियोले मुसलमान, रातोले कम्युनिस्ट र निलोले दलित) ले उसको आस्था र पक्षधरता खोजिँदै छ ।
के कम्युनिस्टहरूले निर्मम समीक्षा गर्लान् ? : हरेक पार्टीको केन्द्रीय लक्ष्य सत्ताप्राप्ति नै हो । सत्ता प्रयोग गरेर आफ्ना सोचअनुसार समाज परिवर्तन गर्ने उद्देश्य हुन्छ । आन्दोलनले जनाधार तयार गर्दै राजनेता जन्माउँछ । विचार, आदर्श र लक्ष्यको अभ्यास आन्दोलनमा देखिन्छन् । वैचारिक मुद्दाबेगर राजनीति हुन सक्दैन । अन्य पार्टीका नेताले पार्टी प्रवेशसँगै विचार र संस्कृति पनि साथै लिएर आउँछन् या आत्मसमर्पण गरेर । कन्हैयाहरू अवसरको खोजीमा छन् । जेएनयू घटनाले उनलाई चर्चाको केन्द्रमा लग्यो । सांस्कृतिक फासीवाद र असहिष्णु सत्ताविरुद्धको प्रतीकमा विकसित पनि भए उनी । तर, एक्सिडेन्टल नेता बन्नु र हुनुु फरक कुरा हो ।
साम्प्रदायिक शक्ति र सोच विकास हुने आधार कंग्रेसकालमै ज्यादा भयो भने वामपन्थीहरू उदास र निष्क्रिय रहे । विचारअनुसार आन्दोलनको चरित्र बनाउन सकेनन् । ‘उच्च जाति’ र ‘उच्च वर्ग’बाटै आएका वाम नेतृत्वका कारण सामान्य परिवार वा ‘तल्लो जाति’का नेता कार्यकर्ताले दलित नै बन्नुप¥यो । आफ्नै भूमिकाले खुम्चिएको संसदीय वाममार्ग नेतृत्व, विचार र कार्यक्रमको संकटबाट गुज्रियो । जब विचारको अन्त्य हुन्छ, तब राजनीतिमा आवेगी भिड तयार गरेर पार्टी जिउँदा देखिन्छन् । तर, केरलबाहेक संसदीय कम्युनिस्ट पार्टीसँग बिल्डिङ र झन्डा मात्र छन् । सामाजिक न्यायको दिशा, जातिको बनोट र सामाजिकीकरणमा सबैखाले कम्युनिस्ट चुके । शास्त्रीय वर्गसंघर्षले मात्र समाजलाई राजनीतीकरण गर्न सकिँदैन । उनीहरूले ‘सोसल इन्जिनियरिङ’मा ध्यानै दिएनन् ।
आखिर मूल्यको राजनीतिलाई महत्व दिने कन्हैयाहरूले कम्युनिस्टबाट एकाएक बुर्जुवा राजनीतिमा किन फड्को मारे त ? यो व्यक्तिको प्रश्न नभई प्रवृत्तिको विषय हो । कम्युनिस्ट पार्टीभित्रको संकीर्णता, समयसँगै सिद्धान्त र व्यवहारमा तालमेल मिलाउन नसक्ने समस्या, राजनीतिलाई सामाजिकीकरण गर्न नसक्ने नेतृत्व आदिका कारण पार्टीबाट कन्हैया कुमारहरू पलायन हुनु अनौठो होइन, समस्या पार्टीमा हो कि कार्यकर्तामा ? ‘टुकडे–टुकडे ग्याङ’, ‘देशद्रोही ग्याङ’ भनेर सत्ताबाट खेदिएका कन्हैयाहरू कसरी एकाएक कंग्रेसलाई स्वीकार्य भए ? के कंग्रेस आफूलाई आधारभूत परिवर्तन गर्दै छ ? अझै रातै सर्ट लगाइरहेका कन्हैयाले नयाँ पार्टी प्रवेशसँगै भने— ‘कंग्रेस पार्टी एउटा ठूलो जहाजजस्तै हो । यदि यो बाँच्यो भने कैयौँ मान्छेको आकांक्षा बाँच्छ, महात्मा गान्धीको एकता, भगत सिंहको साहस र बिआर अम्बेडकरको समानताको विचार पनि बाँच्छ । तर, जयप्रकाश नारायण, चन्द्रशेखरजस्ता समाजवादीलाई पचाउन नसकेको कंग्रेसमा उनको भावी यात्रा सहज र सरल हुन कठिन छ ।
लोकप्रियतावाद आफैँमा एउटा तीव्र महत्वाकांक्षी रोग हो । यसलाई धान्न निरन्तर चर्चा आवश्यक हुन्छ । चर्चाका लागि भूमिका चाहिन्छ । जब अंकुश लाग्न थाल्छ, तब घेराबन्दी तोडिन्छन् । जब पुरानै तरिकाले नयाँ युद्ध लड्न सकिँदैन, तब नयाँ हतियार र रणभूमि पनि फेरिनुपर्छ । पार्टी एउटा साधन मात्र हो, जब पार्टी मौलिक चरित्रमा रहँदैन, न आन्दोलन बन्न सक्छ, न आदर्श धान्न सक्छ । तब कार्यकर्ता निराश भएर पलायन हुन्छन् वा छट्पटाएर सँघार तोड्छन् । कन्हैयाले पनि त्यही बाटो रोजे । तर, मौलिक चरित्र र नयाँ संस्थाबीच सोच र संस्कृति टकराहटमा कन्हैयाको अगाडिको बाटो सोचेजस्तो सहज र सरल भने छैन ।