मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ मङ्सिर ७ मंगलबार ०७:०८:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सर्वसम्मत नेतृत्व : महाधिवेशनको कर्मकाण्ड

Read Time : > 4 मिनेट
२०७८ मङ्सिर ७ मंगलबार ०७:०८:००

महाधिवेशन शक्ति हत्याउने र पद सुरक्षित गर्ने थलोमा फेरिन्छ भने त्यसले आफ्नो औचित्य र सौन्दर्य धान्न सक्दैन


कानुनी बाध्यताका कारण सबै चुनावी पार्टीलाई अहिले महाधिवेशनको चटारो छ । प्रजातान्त्रिक देखिन र पार्टीको वैधानिकता देखाउनु पनि छ । तर, नेतृत्वको जोड वडादेखि केन्द्रसम्मै सर्वसम्मत गर्नुपर्नेमा छ । चुनाव होस्, महाधिवेशन होस् तर प्रतिस्पर्धा नहोस् भन्ने चाहना नेतृत्वमा देखिन्छ । स्थानीय तह, प्रदेश र संघ सबै तहका चुनाव नजिक आइसक्यो । संगठन र नेतृत्वले ती सबै चुनावका उम्मेदवार तय गर्नेछन् । त्यसैले भय र प्रलोभनको राजनीतिले अधिवेशनको उत्साह र प्रभाव बढेको हो । स्थानीय तहको राजनीतिले कार्यकारी हैसियत बढ्नुले स्थानीय पार्टी संगठनप्रति पनि आकर्षण बढेको छ । 

हरेक पार्टीका लागि माहाधिवेशन नयाँ बहस, नीति र नेतृत्व चयन गर्ने थलो हो । महाधिवेशनमा नयाँ नेतृत्वको उदय, चयन र नयाँ कार्यदिशा तय हुने गर्छन् । विगतको समीक्षा र आगतका योजना बन्ने गर्छ । नयाँ नेतृत्वलाई अर्को महाधिवेशनसम्म वैचारिक र संगठनात्मक प्राधिकार सुम्पिइन्छ । तर, कतिपय पार्टीका नेतृत्वलाई नै निरन्तरता र नयाँ वैधानिकता दिने थलो पनि महाधिवेशन बन्छ । तर, व्यवहार भने देखिँदैन ।

नयाँ नेतृत्वको अभ्यास : कम्युनिस्ट पार्टीमा त नेतृत्व हस्तान्तरणभन्दा पनि जीवनको अन्तिम अवस्थासम्म निरन्तरता दिने वैधानिक थलो महाधिवेसन बन्थ्यो । त्यस परम्परालाई चीनमा दंङ सियाओ पिङले तोडे । कार्यकारी नभईकन पनि उनी सत्ता केन्द्रमा रहे । एउटै व्यक्ति दुई कार्यकाल मात्र सर्वोच्च नेता बन्न सक्ने अभ्यास सुरु भयो । तर, त्यसलाई निरन्तरता दिन भने चीनले सकेन । एमालेले पनि उमेरको हदबन्दी र आन्तरिक प्रतिस्पर्धा गराउने परिपाटी ‘कम्युनिस्ट’ अभ्यासको नेपाली नयाँ चलन सुरु गर्‍यो । तर, सत्ता र नेतृत्वको केन्द्रीकरणसँगै आफ्‍नै विधान, अभ्यास र मान्यतालाई पार्टी जीवनमा लागू गर्न भने सकेन । ऊ यतिखेर अन्यन्त्रको भय सिर्जना गरेर सर्वसम्मत नेतृत्व चयनको निर्देशित अभ्यास गर्दै छ । 

बेलायतमा लामो समयसम्म कन्जर्भेटिभ पार्टीको आभामण्डलबाट चुनावी परिणामलाई आफ्ना पक्षमा पार्न नसकेपछि लेबर पार्टीले न्यु लेवर बन्न नयाँ र युवा नेतृत्व खोज्न थाल्यो । भिन्न स्वभावका एकान्तप्रिय संगीतप्रेमी टोनी ब्लेयरप्रति बुढापाका नेतृत्वको नजर पर्‍यो । एकान्त कुनामा हिप्पी स्टाइलले गितार बजाइरहेका, लामा कपाल पालेका ब्लेयरलाई नेतृत्व गर्न अनुरोध भयो । जिएलपी (ग्लोबलाइजेसन, लिब्रलाइजेसन, प्राइभेटलाइजेसन) पुँजीवादकी आधुनिक ‘देवी’ आइरन लेडी मार्गरेट थ्याचरको आभामण्डलबाट मुक्त गर्न न्यु लेवर पार्टीका लागि फलामका चिउरा चपाउनुझैँ थियो । तब नयाँ जोस र आशा जगाउन ब्लेयरलाई अगाडि सारियो । उनले टोरी बिरासत मात्रै तोडेनन्, नयाँ लेवरयुगको थालनी पनि गरे । 

जब पुरानैै तरिकाले नयाँ लक्ष्य हासिल गर्न सकिँदैन, तब नयाँ नीति, विधि, कला, इच्छाशक्ति र नैतिक पुँजी भएको नेतृत्व, पार्टी र देशले अपेक्षा गर्नुका पछाडि आशाको नयाँ रक्त सञ्चारको अपेक्षा हुनु हो । नयाँ नेतृत्व भनेको व्यक्ति मात्र हैन, नयाँ सोच, मान्यता, लक्ष्य र प्रतिबद्धता पनि नयाँ आधारको नयाँपना पनि हो । जब भूमिका र सोचमा बाधा–अड्चन पुग्छन् वा अप्ठेरो लाग्न थाल्छ तब नयाँ जोसिलो र नयाँ मार्गचित्रमा हाँकिने नेतृत्व आवश्यक पर्छ । जुन उद्देश्यका लागि पार्टी बनेका हुन्छन्, त्यो प्राप्तिको हतियार संगठन हो । तव नयाँ सन्दर्भको नयाँ चुनौतीको साामूहिक चिन्तन गर्न नयाँ महाधिवेशन उत्सवको थलो बन्छ । 

बुर्जुवा, वाम वा दक्षिणपन्थजस्तो भए पनि हरेक पार्टीका महाधिवेशनले सनातनसँग निरन्तरतामा सुधार वा क्रमभंग गरेका हुन्छन्, तब मात्रै पार्टीले नयाँ जीवन पाउन सक्छ । तर, सिद्धान्तको राजनीति सुविधाको राजनीतिमा फेरिएपछि भने पार्टीका आदर्श ट्रेडमार्क बन्ने गर्छन् । संगठन शक्तिको भर्‍याङ बन्छ । कार्यकर्ताहरू भक्तजनमा फेरिन्छन् । भक्तजनहरू अन्धविश्वासी मात्रै हुँदैनन्, महामूर्ख पनि हुन्छन् । उनका रंग, चरित्र, आवरण र विश्वासमा भिन्नता भए पनि आफ्‍ना आस्था र उपासना केन्द्रप्रतिको भक्ति भने हरेक पार्टीमा समान हुन्छ । उनीहरू ‘नायक’को सामान्य आलोचना पनि सहन सक्दैनन् । आक्रामक हुन्छन् । हिंस्रक हुन्छन् । आलोचनात्मक चेतमाथि बज्रिन्छन् । महाधिवेशनकालमा अझ त्यो छर्लंग देखिन्छ । तब महाधिवेशन शक्ति हत्याउने र पद सुरक्षित गर्ने थलोमा फेरिन्छ भने त्यसले औचित्य र सौन्दर्य धान्न सक्दैन । 

हरेक कालखण्डमा समय, समाजको अन्तरविरोध, वर्ग र चिन्तनबीचको टकराहट र छटपटाहट निकासको चिन्तन र अवस्थालाई नेतृत्व गर्न पार्टीहरू जन्मिन्छन् । उनका भूमिका र पक्षधरताको अभ्यासले पार्टी र नेतृत्वको फरक पहिचान बनेको हुन्छ । विचार र पक्षधरताले पार्टीहरू भिन्न हुन्छन् । दृष्टिकोण, लक्ष्य, सरोकार समूह फरक–फरक हुन्छन् । संगठित कार्यकर्ताका चाल, चरित्र र चेहरामार्फत समाजमा पार्टी अभ्यासमा हुन्छ । तर, अहिले पार्टी मात्रै होइन, विचार निर्माताहरूको समस्या भनेकै अवस्था त फेरियो, तर चिन्तनशैली भने फेरिएन । जुन राजनीतिक संस्कृति र संस्कारको अभ्यास पार्टीहरूमा भइरहेका छन्, त्यो पुरानो आदर्शको निरन्तरता दिन पनि नसक्नु, नयाँ आदर्श स्थापना गर्न पनि नसक्नु हो । त्यसैले सबै पार्टीको मूल नेतृत्व महाधिवेशनमा विचार र सिद्धान्तको शास्त्रीय बहसको ‘झन्झट’ व्यहोर्न चाहँदैन्, सर्वसम्मत बहसहीन नेतृत्व चयन चाहन्छ । 

सर्वसम्मत नेतृत्वको अभ्यास भनेको हुकुमीतन्त्र हो । यो निर्देशनयुक्त राजनीतिक प्रणालीमा मात्र हुन्छ । प्रतिस्पर्धात्मक राजनीतिक अभ्यास र आलोचनात्मक चेतको निषेधले कार्यकर्तालाई पछुवा वा भक्त मात्रै बनाउँछ भने नेतालाई निरंकुश (नवराजा) बनाउँछ । जो प्रतिस्पर्धा गर्न सक्दैन, त्यो गुट, गिरोह र नेतृत्वको आशीर्वादमा सत्तासिँढी चढ्न चाहन्छ ।

दलहरूका हुन लागेका महाधिवेशन नियमित कर्मकाण्डको सँघार छिचोलेर माथि उठ्न सक्लान् ? नयाँ सोच, विचार, नेतृत्व, मार्गचित्र र प्रतिबद्धता आउलान् ? सम्भावना अत्यन्तै कमजोर छन् ।

 कुरा जैविक र पाहुनाहरूको : महाधिवेशन प्रतिनिधि र नेतृत्व चयनमा जैविक कार्यकर्ता र पाहुना महत्वाकांक्षीबीचको व्यवस्थापन केन्द्रीय नेतृत्वको टाउको दुखाइको विषय बन्ने गर्छ । अध्यक्ष ओलीलाई चुनौती दिने कोही नभए पनि सबैभन्दा समस्या एमालेमै देखिन्छ । १) सिद्धान्तको राजनीति वकालत गर्ने, २) अन्तर्संघर्षका वेला अध्यक्षको साथ दिने र नदिने, ३) माओवादी पृष्ठभूमिका, ४) अल्पकालीन माओवादी भएर एमालेमै फर्केका, ५) शक्तिको छहारी खोज्दै दागी पृष्ठभूमि चोख्याउन पार्टी प्रवेश गरेका, ६) हिजोसम्म चन्दा र बाहुबलले पार्टीको समर्थन गरे पनि अब ‘किङ मेकर’ नभई स्वयं राजनीतिको कार्यकारी नेतृत्व चाहने ।  

अन्तरविरोधको समय अध्यक्ष ओलीलाई दृढतापूर्वक समर्थन गर्नेहरू नै जैविक (शुद्ध) एमाले भएको र अरू चाहिँ भाग खोस्न आएका द्वयम दर्जाका एमाले ठानिन्छन् । माओवादी पृष्ठभूमिकालाई संकटका घडीमा उभिए पनि द्वन्द्वकालीन मनोविज्ञानले हार्दिक रूपमा स्विकार्न सकेका छैनन्, उनीहरूलाई महत्व दिँदा जनयुद्धको अवमूल्यन र प्रचण्डकेन्द्रित आक्रोेशको नैतिक बल हुँदैन, महत्व नदिँदा संकटको वेलाका सहयोगीलाई वास्ता नगरेको ठहरिनेछ । 

सिद्धान्तभन्दा धर्म र प्रतिक्रियाका कुरा : सुविधाजनक राजनीतिको केन्द्रमा सत्ता र शक्ति हुन्छ । सिद्धान्त, अभ्यास र इतिहाससँग सरोकार हुँदैन । विचार बगलीमा राखेर व्यवहारवादी बन्न पुग्छ । जब पार्टी कुनै आन्दोलन रहँदैन, सपना, आदर्श र दायित्व नरहेर सामाजिकीकरण हुन सक्दैन, तब विचारहीन भिडमा संगठन फेरिएपछि पार्टी ऊर्जाका लागि धार्मिक उत्तेजना, गालीगलोज बन्छन् । सबै चिज किन्न, बेच्न, लोभ्याउन, डराउन, लहडी बनाउन सकिन्छ भन्ने हुन्छ । तब पार्टीका साइनबोर्ड, झन्डा त फरक हुन्छन् तर स्वभाव, सोच, अभ्यास र भूमिका एकैखाले हुन्छन् । इतिहासलाई सम्झने त गरिन्छ, त्यसका आदर्श भने पछ्याइँदैन । मिथकले संस्कृतिको रूप धारण गरेर इतिहास छोड्न पनि नसक्ने र स्वीकार गरेर पार्टीजीवन बनाउन पनि नसक्ने अवस्था हुन्छ । अगुवा जुन बाटोमा जान्छन्, त्यही मूल बाटो बन्छ र कार्यकर्ताले त्यसैलाई पार्टी नीति, विधि र सिद्धान्त भनेर पछ्याउँछन् । तब ठट्टा र गाली पार्टीको ऊर्जा र घोषणापत्रमा फेरिन्छ । राजनीतिको अंग चाप्लुसी, अक्रमण र गाली बन्छ । एक घृणाले अर्को घृणा फैलाउँछ । त्यसै अनुकूलका शब्दको जन्म भइदिन्छन् । 

आर्थिक भ्रष्टताभन्दा वैचारिक भ्रष्टता कुरूप र दीर्घकालिक खतरा हुनेगर्छ । तर, पार्टीहरू त्यस्ता भ्रष्टता र कुरूपता धुने धोबीघाट बन्ने गर्छन् । त्यसको औचित्य र वैधानिकता प्रदान गर्ने महाधिवेशन थलो बनिदन्छ । तब माक्र्स यहाँ सान्दर्भिक देखिन्छन् । शासक विचारधारा जनताको विचारधारा बनिदिन्छ ।

अहिले विचार सिद्धान्तभन्दा पनि राजनीति दायित्वहीन व्यवसाय बन्दो छ । व्यापारीहरू निरन्तर सोच फेरिरहन्छन् । अरूको सोच पनि हितअनुकूल फेर्ने कोसिस गरिरहन्छन् । त्यहाँ विद्रोहको नभई स्वार्थको सहमति हुन्छ । महाधिवेशनमा इतिहास रचिन्छ । तर, जुन पुस्ता इतिहास फेर्न चाहन्छ, त्यसलाई नयाँ इतिहास लेख्ने इच्छाशक्ति, नैतिक पुँजी, सपना देख्ने÷देखाउने सोच आवश्यक हुन्छ । जोखिम उठाउन सक्नुपर्छ । त्यो जोखिम उठाउन सक्ने नयाँ पुस्ता कुनै पनि पार्टीमा देखिँदैन । 

यो नेपाली राजनीतिको शीतयुद्धकालीन समय हो । राजनीतिक संकट र भीषण टकराहटको वेला पार्टीहरूका माहाधिवेशन हुँदै छन् । संकटको अभिप्राय राजनीतिक प्राधिकारसँग जोडिएको छ । लोकप्रियतावादलाई पार्टीमा आवेग छर्नु, घृणा र प्रतिक्रियाको रसायन छर्नु, आफ्ना तर्क, सोच, अभ्यास र कथनलाई वैधानिकता दिलाउनु, प्रतिस्पर्धी र विरोधी छिमल्नु मात्रै होइन, बाहिरबाट आउने चुनौती पनि सामना गर्नुपर्ने हुन्छ ।

विगत महाधिवेशनका ऐतिहासिक पृष्ठभूमि के–कस्ता रहे ? त्यसले समग्र देश र पार्टीको राजनीतिलाई के, कस्तो प्रभाव पार्‍यो ? के उपलब्धि भयो ? दिशा मोडयो ? हुन लागेका महाधिवेशन नियमित कर्मकाण्डको संघार छिचोलेर माथि उठ्न सक्लान् ? नयाँ सोच, विचार, नेतृत्व, मार्गचित्र र प्रतिबद्धता आउलान् ? त्यसका सम्भावना अत्यन्तै कमजोर छन् ।
शक्ति केन्द्रमा रहेर मात्र सुरक्षा र पहिचान सोच्ने मनोभावले नेतृत्व सहज हस्तान्तरण हुँदैन । नीति, विधि, अभ्यास र नयाँ नेतृत्वको सम्भावना हुँदैन, त्यो कामकाजी नभै नामकाजीमा मात्र सीमित हुने गर्छन् ।