
पोखरामा जारी युवा संघको १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ । शुक्रबारदेखि पोखरामा जारी संघको महाधिवेशन आयोजनास्थल पोखरा सभागृहमा मतदान प्रक्रिया सुरु भएको हो ।बिहान १० बजेदेखि सुरु मतदानको समय हाल दिउँसो ३ बजेसम्मलाई तोकिएको मुख्य निर्वाचन अधिकृत मदन तिवारीले जानकारी दिए ।
यसअघि प्रकाशित निर्वाचन तालिकाअनुसार ८ बजेबाट मतदान प्रक्रिया सुरु गर्ने भनिएकोमा विभिन्न काम पूरा गर्दा दुई घण्टा ढिलो गरी मतदान प्रक्रिया सुरु भएकाले हाल ३ बजेसम्म तय गरिएको समय थप दुई घण्टा बढ्न सक्नेसमेत उनले बताए ।
यसका लागि निर्णय गर्नुपर्ने भएकाले निर्णय भने भइनसकेको तिवारीले जानकारी दिए । मतदानका लागि ४५ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ । प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै बुथ राखिएको उनले जानकारी दिए । नयाँ नेतृत्व चयनका लागि एक हजार ७६४ जना प्रतिनिधिले मतदान गर्नेछन् । मतदाताले मतदानमार्फत अध्यक्ष, उपाध्यक्ष दुई, महासचिव, उपमहासचिव, सचिव चारजना गरी नौ पदाधिकारीसँगै १५१ सदस्यीय नयाँ समिति चयन गर्नेछन् ।
सँगै निर्वाचन, अनुशासन, युवाविज्ञ र लेखा आयोगका लागि अध्यक्ष, उपाध्यक्ष र सचिव गरी कुल १६३ जनासमेत निर्वाचनमार्फत चयन हुनेछन् । निर्वाचित हुने कुल १६३ जनामध्ये ९३ पदका लागि मतदान भएकाे हो भने अन्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
ओली र भण्डारी पक्षका गरी दुई प्यानल मैदानमा अध्यक्षका लागि हालका अध्यक्ष क्षिजित थेबे र हालका महासचिव सुमन पुरी मैदानमा उत्रिएका छन् । थेबे प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली पक्षका हुन् । थेबेलाई सर्वसम्मत अध्यक्ष बनाउने ओलीको अडानका कारण निर्वाचन प्रक्रिया ढिलाइ भएको बताइन्छ । पुरीलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन रहेको छ । पार्टी अध्यक्षले थेबेलाई अध्यक्षमा दोहोर्याउने तयारी गरेपछि भण्डारी पक्षले पुरीलाई साथ दिएको हो । ९ गतेबाट सुरु भएकाे महाधिवेशन ११ गते अर्थात् आइतबार सकिने भनिएकोमा निर्वाचन प्रक्रिया समयमा सुरु नगर्दा समय लम्बिएको हो ।
निर्वाचनमा क्षितिज समूहबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिव महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मोबिन आलम, मदन भण्डारी, देबु बस्नेत र निशा लिम्बूले उम्मेदवारी दिएका छन् । यसैगरी पुरी समूहबाट उपाध्यक्षमा प्रकाश गौतम, पर्वत भण्डारी, महासचिव कुवेर अधिकारी, उपमहासचिव खेम शर्मा, सचिवमा रेशु तामाङ, चित्ररञ्जन यादव, ध्रुव खड्का र अरुण कुँवरले उम्मेदवारी दिएका छन् ।