छलकपट वा आत्मसमर्पण गरेर सफल हुनुभन्दा सम्मानसहित विफल हुनु श्रेयष्कर हुन्छ भनेका छन्, सोफोकल्सले । हरेक राजनीतिक व्यवस्थाका आफ्नै मान्यता, नियम, लय, आदर्श र सुन्दरता भएझैँ संसदीय राजनीतिका पनि मौलिकता र विशिष्टता छन् । जुन खेलमा सहभागी भइन्छ, त्यसका नियम पालना गर्नैपर्छ । कम्युनिस्टतन्त्र, राजतन्त्र, सैनिकतन्त्र, फासीतन्त्र, धर्मतन्त्र सबैका चरित्र र अभ्यास फरक छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता केन्द्रीकरण, अहंकार र अध्यादेश राजनीतिको विरोध बढ्दै जाँदा डबल नेकपा पार्टी, ओली सरकार र एमाले बच्न सकेन । प्रतिक्रियामा गठबन्धनले देउवा सरकार गठन ग¥यो, तर ओलिटिक्सबाट बाहिरिन भने सकेन ।
नेकपा (एमाले) फुट एकाएक भएको हैन । यसको समयरेखा बुझ्न डबल नेकपाको गठनदेखिकै कालक्रम नियाल्नुपर्छ । दोस्रो पुस्ताका नेताका भूमिका र स्वत्वको टकराव सहयोगी भए । अध्यक्षद्वय केपी शर्मा र प्रचण्ड दुईजनाको मात्र सोच र निर्णयमा भएको एकतालाई कालान्तरमा राजनीतिक जोडघटाउ, नियत र नियतिले धोका दियो ।
सरकार आग्रह, अहंकार, सर्वसत्तावादको बन्धक बन्दा दोस्रो पुस्ताले सिर्जनात्मक भूमिका खेल्न सकेन । डबल नेकपा र त्यसपछिको विभाजन एउटा पार्टीको विषय र समस्या मात्रै नभएर देश, संविधान, राजनीतिक संस्कृति र अभ्यासकै समस्या हो । महत्वाकांक्षा, विकास र प्रगतिको बाधक देखिएपछि कारण खोज्दा सबभन्दा नजिक वा आफन्त सोचिन्छ । शक्तिको चरम लालसा बढेपछि लड्नु, झगड्नु सामान्य हुन्छ । कसैले उसलाई चुनौती दिन्छ वा स्विकार्दैन भने ऊ आफ्नै पंक्तिमा दुस्मन खोज्न थाल्छ, बलले मैमत्त बहरको सिङ चिलाएपछि जुझ्न कोही नभए ढिस्कोमा सिँगौरी खेल्न पुगेजस्तै ।
दोस्रो पुस्ता र तेस्रो धार
नेकपा वा एमालेको विभाजनमा दोस्रो पुस्ता पहिलो पुस्ताभन्दा पनि अविश्वसनीय, ढुलमुले र अवसरवादी चरित्रको देखिएर नेतृत्वको हैसियत कायम गर्न सकेन । अध्यादेश अभ्याससम्म पुग्दा त यो एउटा पार्टीको आन्तरिक विषय मात्रै नभएर समस्त राजनीतिक संस्कृतिको दयनीय अवस्थाकै रूपमा उदांगियो । संस्थाको केन्द्रीकरण गर्दा, संविधान नै ध्वस्त हुँदासमेत यो पुस्ता मौन रह्यो । भ्रष्टाचारलाई कानुनी रूप दिएर वैधानिकता दिँदा पनि चुप रह्यो । पार्टी ट्रेडमार्क मात्रमा फेरिँदा सिद्धान्त र आदर्शको बखान गरिरह्यो । उनीहरूका तर्क उल्ट्याएर हेर्दा नांगो सत्य चिच्याइरहेको सुनिन्छ ।
हरेक युगले युवाहरू मानसिक रूपमा तन्नेरी नै छन्, बल, बुद्धि, विवेक र दूरदृष्टि हुन्छ भन्ने सोच्छ । तर, संकट र संगीन घडीमा निर्णय गर्न नसक्नेहरू अल्पायुमै बूढा भइसकेकाहरू हुन् । नदी बौलाइरहेको समयमा दुई नाउमा खुट्टा राखेर नदी तर्न कोसिस गरिन्छ भने भंगालोमा पर्नुसिवाय केही हुँदैन । दोस्रो पुस्तालाई जोखिम उठाएर दायित्व निभाउने प्रशस्त अवसर थियो । तर, दायित्व निभाउन त हैसियत हुनुपर्छ ।
सात महिनासम्म एकताले मूर्त रूप लिन नसक्दा पनि संस्थागत निर्णयको पहल र दबाब दिएनन् । प्रमुख नेतृत्वलाई नीति, विधि, विधानबाट माथि भइरहने मौका दिइरहे र आज्ञापालकमा आफूलाई सीमित गरिरहे । संकट त योग्यता, क्षमता र दक्षता मापनको कसी हो । जब संकटलाई कलामय सामना गरिँदैन, तब निर्णय लिन नसक्नेको भविष्य निर्धारण गर्ने अर्कै शक्ति आइदिन्छ । त्यसैले एमालेको तेस्रो धारलाई मधेसी भनाइमा ‘चौवे छब्बे बन्ने गए, दुवे बनके लौट आए’ भनेझैँ भयो । षड्यन्त्र सिद्धान्तले अनेकौँ कोणबाट हेर्न भन्छ । जो मान्छे आफ्नै विश्वास, भूमिका र मित्रलाई संकटमा धोका दिन सक्छ भने नयाँ शक्तिले क्षणिक विश्वास गरे पनि त्यो शक्ति सञ्चयका लागि मात्र हो भनेर बुझिन्छ ।
आभामण्डलबाट मुक्त नभएको दोस्रो पुस्ताले नयाँ बाटोको जोखिम उठाउन नसकेर नत्रको धम्कीमा आफ्नो अस्तित्व खोज्न थाल्यो । त्यसलाई ओलीले पत्याएनन्, नेपालले पर्खेनन् ।
तेस्रो धार हुँदैहुँदैन । हुन्छ भने मध्यबिन्दु नभई विद्रोही बन्ने फरक विषय हो । चुनौती झेल्न नसक्ने व्यक्ति, समूह वा पार्टीको नियति समाप्त हुनु वा कालान्तरमा कसैसँग टाँसिनु मात्रै हुन्छ । विकसित समग्र राजनीतिक घटनाक्रममा दोस्रो पुस्ताको मौनताले उनीहरूको दूरदृष्टि, जोखिम उठाउने ह्याउ र आइपर्दा राष्ट्रकै नेतृत्व लिने क्षमतामाथि नै प्रश्न उठेको छ । नेतृत्वका आभामण्डलीबाट मुक्त नभएका मान्छेहरू जतिसुकै ठूला बनून्, उनीहरू आफ्नो दिमाग खर्चेर भूमिकामा उत्रिने जोखिम उठाउने ह्याउ राख्दैनन् ।
राजनीतिक अभ्यासले दिएको संकेत र सन्देशले भिन्न परिणाम देखाउँदै थियो । ओली–नेपालबीच लामो समयदेखिको स्वत्वको टकराव अहंकारमा फेरिएको थियो । त्यसको सहउत्पादन नै डबल नेकपाको जन्म, विघटन, कालान्तरमा एमालेको विभाजनसम्म पुग्यो । सबैको कमजोरीलाई एकएक गरेर मनमस्तिकमा राख्दै समयअनुसार प्रयोग गर्न सबैको औकात जाँचिसकेका अध्यक्ष ओलीलाई माधव नेपालले विद्रोह गर्लान् भन्नेचाहिँ कल्पना थिएन । चारपटकसम्म कारबाही गर्दा, अध्यादेश ल्याउँदा, फिर्ता गर्दा पनि अपमान सहेर बसेकाहरूलाई सहजै गाल्न सकिन्छ भनेर नै मौका पाउनेबित्तिकै कटाक्ष गर्दै सावजनिक रूपमै उडाउन छोडेनन् । पूर्वप्रधानमन्त्रीको कानभन्दा मुख सक्रिय भयो । मान्छे सबै सहन्छ, हेपिएको सहँदैन । दोस्रो पुस्ता पनि ओली गल्छन् भन्ने भ्रममा रहेर अवसरको आरक्षण गर्न नेता नेपाललाई उचाल्नतर्फ थाले । काँध थाप्नेहरूले अन्तिम समय खेमा फेर्लान्, तटस्थको सुखभोग गर्लान् भन्ने नेपालले पनि सोचेनन् ।
बालुवाटारबाट बालकोट खेद्ने शक्तिलाई ओलीले विश्वास गर्ने, पत्याउने प्रश्नै उठ्दैनथ्यो । संकेतले सन्देश दिइरहँदा पनि विरोधी शक्ति कमजोर पार्ने एकआपसमा खेल मञ्चन हुँदै गए । आभामण्डलबाट मुक्त नभएको दोस्रो पुस्ताले नयाँ बाटोको जोखिम उठाउन नसकेर नत्रको धम्कीमा आफ्नो अस्तित्व खोज्न थाल्यो । त्यसलाई ओलीले पत्याएनन्, नेपालले पर्खेनन् । मित्र र दुस्मनको बीचमा पनि केही समयका लागि कोही तटस्थ पनि हुन सक्छ । तर, ह्याउ र प्रतिबद्ध नभएको दोस्रो पुस्ताले आलोचनात्मक र विद्रोही चेतको तेस्रो वा चौथो पुस्ताको समेत ढोका छेकिरहेको छ । हेक्का रहोस्, भंगालोको नियति कालान्तरमा नदीसँग मिसिनु हो ।