Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कुल आचार्य अध्यक्षका प्रत्याशी एनआरएनए
नयाँ पत्रिका काठमाडाैं
२०७८ असोज २४ आइतबार ०८:३४:००
Read Time : > 2 मिनेट
प्रवास प्रिन्ट संस्करण

एनआरएनएभित्र छिर्दा राजनीतिको जुत्ता–चप्पल बाहिरै फुकाल्नुपर्छ : कुल आचार्य

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असोज २४ आइतबार ०८:३४:००

२०२९ सालमा पर्वतको धाइरिङमा जन्मेका कुल आचार्यले पर्वत, म्याग्दी र बाग्लुङमा शिक्षा हासिल गरे । आचार्य हाल बेलायतको राजधानी लन्डनमा बसोवास गर्छन् । गैरआवासीय नेपाली संघको स्थापनादेखि नै संस्थामा सक्रिय आचार्यले गैरआवासीय नेपाली संघ बेलायतको कार्यसमिति सदस्यबाट पदीय जिम्मेवारीमा रहेर काम गर्न थालेका हुन् । एनसिसी युकेको उपाध्यक्ष, अध्यक्ष, आइसिसी सदस्य, युरोप क्षेत्रीय संयोजक, आइसिसी उपाध्यक्ष हुँदै सल्लाहकारसमेतको जिम्मेवारी उनले सम्हालिसकेका छन् । दुई दशकदेखि निरन्तर एनआरएनए अभियानमा सक्रिय आचार्य संघको आसन्न दसौँ महाधिवेशन तथा निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार हुन् । आचार्यसँग नयाँ पत्रिकाले गरेको कुराकानी :

अघिल्लोपटकको निर्वाचनमा तपाईंले पराजय व्यहोर्नुभयो । यसपटक पुनः उम्मेदवार बन्दै हुनुहुन्छ । यसपटक जित्ने आधारचाहिँ के हो ? 
नवौँ महाधिवेशनमा सोचेजस्तो परिणाम नआए पनि धेरै साथीहरू (डेलिगेट्सहरू)ले समर्थन जनाउनुभयो । थोरै मतले मात्रै कुमार पन्तले जित्नुभयो । तर, यो एक अभियान भएकाले यसमा कोही जित्ने र कोही हार्ने भन्ने हुँदैन । 

केही समयअघि मात्रै सबै एनसिसीहरूमा निर्वाचन भएको छ । अधिकांश एनसिसीका साथीहरूले फेरि पनि मलाई अध्यक्षको उम्मेदवार बन्न आग्रह गर्नुभयो । अग्रज अभियन्ताहरूले पनि अध्यक्षमा उम्मेदवारी दिन प्रोत्साहन गर्नुभयो । संसारभरका साथीहरूको भावना र अग्रजहरूको सुझाबका आधारमा मैले उम्मेदवारी घोषणा गरेको हुँ । भोटकै आधारमा हेर्ने हो भने पनि अघिल्लोपटकको तुलनामा यसपटक निकै राम्रो देखेको छु ।

एनआरएनए सामाजिक संस्था हो । तर, पछिल्लोपटक यसमा राजनीति घुसेको आरोप छ नि ? केही राजनीतिक दलले तपाईंलाई सहयोग गर्ने गरी ह्विप नै जारी गरे? 
एनआरएनए पवित्र मन्दिर हो । जसरी हामी मन्दिरमा प्रवेश गर्दा जुत्ता–चप्पल खोल्छौँ, त्यसैगरी एनआरएनए अभियानमा सहभागी हुँदा राजनीतिक आस्था छोडेर सहभागी हुनुपर्छ । एनआरएनए विदेशमा रहेका नेपालीहरूको संस्था हो । यो संस्थाप्रति नेपालका राजनीतिक दल र सरकारको चासो हुनु स्वाभाविकै हो । ती चासोलाई हामीले कसरी लिने भन्ने हाम्रो कुरा हो । एनआरएनएको वर्तमान नेतृत्व र सचिवालयका केही साथीहरूका कारण अहिलेको अवस्था आएको हो । जसले बाहिर राजनीतिक हस्तक्षेप भयो वा राजनीतिक चासो बढ्यो भन्नुभएको छ, उहाँहरूले नै हस्तक्षेपलाई निम्तो दिइरहनुभएको छ । यसमा मेरो कुनै भूमिका छैन । केही राजनीतिक दलले मलाई समर्थन गरेका होलान्, केहीले अरू नै साथीहरूलाई समर्थन गरेका होलान्, यो ठूलो कुरा होइन । हामीले हाम्रो संगठनभित्र राजनीतिक आस्था र वादलाई हाबी हुन दिनुहुँदैन । कसैले ममाथि आरोप लगाउँछ भने त्यो उहाँहरूकै कमजोरी हो । 

अध्यक्षका उम्मेदवारका रूपमा तपाईंका एजेन्डाचाहिँ के–के छन् ? 
एनआरएनए नेपालको समृद्धिको सहयोगी मात्रै नभई साझेदार नै हो । नेपालको समृद्धिमा हामीले नेपाल सरकारसँग हातेमालो गरिरहेका छौँ । यसो भनिराख्दा संस्थालाई संस्थागत र पारदर्शी रूपमा सञ्चालन गर्नुपर्नेछ । पारदर्शी रूपमा काम गर्‍यौँ भने यी समस्या आफैँ हटेर जानेछन् । मैले संस्थालाई संस्थागत र पारदर्शी रूपमा सञ्चालन गर्नेछु । दुई वर्षमा कम्तीमा एक सय देशमा एनसिसी पुर्‍याउँछु र सदस्य संख्या पाँच लाख पुर्‍याउनेछु । 

विश्वमा नेपाली मूलका र नेपालीभाषी विदेशीहरू हुनुहुन्छ । उहाँहरूलाई पनि नेपालसँग जोड्नुपरेको छ । नेपालको विकास र समृद्धिमा उहाँहरूले पनि सहयोग गर्नुहुनेछ । पिपुल अफ नेपाली ओरिजिन (पिएनओ)को व्यवस्था गरेर उहाँहरूलाई नेपालसँग जोड्ने मेरो उद्देश्य रहेको छ । 

नेपालको समृद्धिमा विदेशी लगानीको अवधारणा सरकारले अघि सारेको छ । यसका लागि आवश्यक वातावरण बनाउन मैले पुलको काम गर्नेछु । केही कानुनी जटिलता र केही प्रक्रियागत झन्झट छन् । ती जटिलता र झन्झटलाई हटाउन पनि मैले पहल गर्नेछु । विदेशमा हुर्किरहेको नयाँ पुस्ता नेपालसँग बिस्तारै टाढिँदै छ, यो अवस्थालाई तत्काल निराकरण गर्न जरुरी छ । उनीहरू पनि नेपाली सन्तति हुन्, नेपाल आमाका सन्तान हुन् भन्ने मान्यता स्थापित गर्नु छ । विदेशबाट रेमिट्यान्स मात्रै होइन, धेरै थोरै पुँजी मात्रै होइन, विदेशमा सिकेको  ज्ञान, सीप र विज्ञतालाई पनि नेपाल ल्याउने मेरो उद्देश्य छ ।