मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज ३ शुक्रबार १३:o७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बिहीबार नेप्सेमा पहिरो गएपछि अर्थमन्त्रीले बनाए अध्ययन कार्यदल, पाँच दिनभित्र रिपोर्ट दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज ३ शुक्रबार १३:o७:oo

जेन–जी आन्दोलनपछि बिहीबार खुलेको सेयर बजारमा ठुलो गिरावट देखिएपछि अर्थ मन्त्रालयले तत्काल अध्ययनका लागि कार्यदल गठन गरेको छ। बिहीबार नेप्से परिसूचक १६०.३३ अंकले घटेर २५११.९१ विन्दुमा रोकिएको थियो। पुँजी बजारमा देखिएका समस्या र विसंगति अध्ययन गरी समाधानका लागि गठन गरिएको कार्यदललाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार कार्यदलले लगानीकर्ताको मनोबल वृद्धिका लागि तत्काल आवश्यक प्रणालीगत तथा प्रक्रियागत सुधारका उपाय र दीर्घकालीन रूपमा बजार सुदृढ बनाउनुपर्ने कदमबारे सुझाव दिनेछ। शुक्रबार अर्थमन्त्री रामेश्वर खनालको निर्णयअनुसार बनेको कार्यदलमा धितोपत्र बोर्ड नेपालका कार्यकारी निर्देशक (कामु) रुपेश केसी संयोजक नियुक्त भएका छन्।

त्यस्तै, नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका कार्यकारी निर्देशक (कामु) निरन्जन फुयाँल सदस्यका रूपमा रहनेछन्। अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्यसचिव रहने गरी कार्यदललाई काममा लगाइएको छ। जेन–जी आन्दोलनपछि राजनीतिक अन्योलता बढ्दै गर्दा सेयर बजारमा लगानीकर्ताको मनोबल कमजोर भएको छ। बिहीबार नेप्से परिसूचकमा आएको तीव्र गिरावटले लगानीकर्तामा थप असुरक्षा र अविश्वास पैदा गरेको भन्दै  तत्काल हस्तक्षेप आवश्यक ठानेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कार्यदलले प्रस्तुत गर्ने प्रतिवेदनमार्फत तत्कालै लागू गर्न सकिने सुधारका कदमहरू पहिचान गरिनेछ। त्यसैगरी, पुँजी बजारलाई दीर्घकालीन रूपमा विश्वसनीय र स्थायित्वपूर्ण बनाउनुपर्ने नीतिगत तथा संरचनागत सुझाव पनि आउने अपेक्षा गरिएको छ।