
बारामा तीन महिनाको अवधिमा चारजनाको ज्यान लिने नरभक्षी बाघ अन्ततः दुई सातापछि नियन्त्रणमा आएको छ । बाघ नियन्त्रणमा आएसँगै त्रसित बनेका स्थानीयले राहतको अनुभूति गरेका छन्र। नरभक्षी बाघलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी र प्राविधिक टोलीले विभिन्न तीन स्थानमा राँगो बाँधेर निगरानी गरिरहेका थिए। तीमध्ये जितपुरसिमरा उपमहानगरपालिका– २१ को जंगलमा बाँधिएको राँगोलाई बाघले गएराति करिब ११ बजे आक्रमण गरेपछि टोली सक्रिय बनेको हो।
बिहीबार राँगोलाई बाघले आक्रमण गरेलगत्तै पर्सा राष्ट्रिय निकुञ्जका हात्तीसहितका प्राविधिक टोली, सुरक्षाकर्मी र डार्ट प्राविधिकहरू परिचालन गरियो। शुक्रबार बिहान करिब ८:११ बजे अमलेखगन्ज क्षेत्रमा पर्ने मझैना फायरलाइनमा बाघलाई डार्ट हानेर नियन्त्रणमा लिइएको जितपुरसिमरा उपमहानगरपालिका– २१ का वडाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिए। उनका अनुसार बाघले राँगोलाई आक्रमण गरेलगत्तै खोजतलास सुरु भएको थियो। पहिलो डार्टमै बाघ बेहोस भयो र नियन्त्रणमा लिन सफल भएको हो।
पर्सा राष्ट्रिय निकुञ्जले निरन्तर आक्रमणपछि करिब दुई सातादेखि बाघको निगरानी गरिरहेको थियो। हात्ती प्रयोग गरेर सुरक्षाकर्मी तैनाथ गरिएका थिए भने विभिन्न प्राविधिक टोलीलाई जंगल क्षेत्रमा परिचालन गरिएको थियो। यस क्रममा निकुञ्जका कर्मचारीसँगै डिभिजन वन कार्यालय बारा, चितवनबाट आएका राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रका प्राविधिक टोली, नेपाल प्रहरी र नेपाल आर्मी सक्रिय रूपमा संलग्न थिए।
डिभिजन वन कार्यालय बारा प्रमुख राजीव झाका अनुसार, बाघलाई हात्ती प्रयोग गरेर डार्टमार्फत बेहोस पारिएको हो।उनले भने, ‘स्थानीय बासिन्दा त्रासमुक्त बनाउन बाघ नियन्त्रणमा लिनुपरेको हो। मानिसमाथि निरन्तर आक्रमण गर्दै आएको बाघलाई निकुञ्जको चिडियाखानामा राखिएको छ।’
गत तीन महिनामा सो बाघको आक्रमणमा परी बाराका विभिन्न ठाउँमा चारजनाको मृत्यु भएको थियो। यस घटनाले स्थानीयमा गहिरो त्रास फैलिएको थियो। साँझपख खेतबारी जान, जंगल पस्न वा दैनिक आवतजावतमै कठिनाइ भएको थियो। त्यसैले बाघ नियन्त्रणमा लिन सरोकारवाला निकायमाथि दबाब बढ्दै गएको थियो।
स्थानीय बासिन्दाले बाघ नियन्त्रणमा आएको खबरसँगै राहतको अनुभूति गरेका छन्। तर, उनीहरूले दिगो व्यवस्थापनका लागि सरकार र निकुञ्जलाई थप सजग रहन आग्रह गरेका छन्। उनीहरूको भनाइमा त्रास उत्पन्न गर्ने बाघ त नियन्त्रणमा आयो, तर भविष्यमा यस्ता घटना दोहोरिन नदिन निकुञ्जबाट दिगो समाधान चाहिन्छ।
नियन्त्रणमा लिइएको बाघको शरीरमा केही चोटपटक देखिएको छ। डार्ट हानेर नियन्त्रणमा लिएपछि उपचार र आवश्यक परीक्षणका लागि चिडियाखानामा राखिएको जनाइएको छ।