मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025
२o८२ असोज ३ शुक्रबार १३:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सहिद विजय चौधरीको परिवारलाई नगरको खाद्य सामग्री सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज ३ शुक्रबार १३:३९:oo

जेन–जी आन्दोलनमा सहिद भएका लहान नगरपालिका– १५, ढोढनाका विजय चौधरीको परिवारलाई लहान नगरपालिकाले एक लाख रुपैयाँ राहत दिने घोषणा गरेको भोलिपल्ट संविधान दिवसको अवसर पारेर खाद्य सामग्री उपलब्ध गराएको छ। 

सिराहाको लहान नगरपालिका– १५ ढोढना, सिमलटोकी गाउँ घर भएका सहिद परिवारलाई नगरप्रमुख महेशप्रसाद चौधरीले शुक्रबार एक क्विटल चामलसहित पाँच–पाँच किलो दाल, नुन र पाँच लिटर तेल हस्तान्तरण गरेका हुन् ।

‘नगरले घोषणा गरेको एक लाख रुपैयाँ नगद नगरपालिकाको खाता सञ्चालन भएलगत्तै हस्तान्तरण गर्छौँ,’ खाद्य सामग्री हस्तान्तरण गर्दै उनले भने, ‘घरमा कमाउने व्यक्ति मुलुक परिवर्तनको आन्दोलनमा सहिद भएपछि परिवारलाई सबैभन्दा ठुलो क्षति भएको छ, त्यसको पूर्ति गर्न नसकिने भए पनि नगरले सक्दो सघाउँछ ।’ खाद्य सामग्री वितरणअघि नगरप्रमुखसहित विभिन्न वडाका वडाध्यक्षहरूले विजयको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए । 

होप फाउन्डेसनको नगद सहयोग

नगरले खाद्य सामग्री हस्तान्तरण गरेलगत्तै लहानस्थित होप फाउन्डेसनका तर्फबाट अध्यक्ष पार्वती सुब्बाले सहिद विजयकी श्रीमती उर्मिला भनिने अमिरकाकुमारी चौधरीलाई नगद १० हजार रुपैयाँ हस्तान्तरण गरेकी छिन् । सुब्बाले भनिन्, ‘यो रकम त्यति धेरै त होइन, तर शोकाकुल अवस्थाबाट निस्किन थोरै भए पनि सहज होस् भन्ने उद्देश्यले नगद सहयोग गरेका हौँ ।’

त्यसअघि बिहीबार अपराह्न नगरप्रमुख चौधरीले पत्रकार सम्मेलनमार्फत सहिद विजयको परिवारलाई एक लाख रुपैयाँ राहतसहित उनकी श्रीमतीलाई नगरपालिकामा शैक्षिक योग्यताअनुसार रोजगारी र एक्ली छोरी बिव्यांसीलाई कक्षा १२ सम्म नगरपालिकाले पढाउने घोषणा गरेका थिए । सहिद विजयकी ठुली दिदी सुशीला चौधरीका अनुसार अमिरकाले विवाह हुनुअगावै सप्तरीको रुपनी गाउँपालिका जगमोहनस्थित माइतीमा रहेकै वेला १२ कक्षा उत्तीर्ण गरिसकेकी छिन् । 

करिब एक दशकदेखि हाउस वायरिङकाे काम गरेर काठमाडौंमा श्रीमती र चार वर्षीया छोरीसहित बस्दै आएका चौधरीको २३ भदौको अपराह्न बानेश्वरमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो । सिमलटोकी गाउँमा बस्दै आएका बाबु हरिप्रसाद चौधरी र आमा जागेश्वरी चौधरीका एक छोरी र दुई छोरामध्ये विजय कान्छा हुन् । आन्दोलनमा भाइ मारिएपछि करिब एक वर्षदेखि रोजगारीका लागि मौरिससमा बस्दै आएका जेठा दाजु अजय चौधरी पनि घर फर्किएका छन् ।