नेप्सेमा सुधार, बढ्न थाल्यो कारोबार

आइतबार, २४ असोज, २०७८
डिजिटल संस्करण

दसैँ अगाडि सेयर किनेको पैसा तत्काल दिनुनपर्ने भएपछि बढ्न थाल्यो कारोबार 

 गत साता नेप्से परिसूचक ४७ दशमलव ६८ अंकले बढेर बजार बन्द भएको छ । कारोबार रकम भने ४१ दशमलव ६२ प्रतिशतले घटेर १५ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ । लामो समयदेखि घटेको बजार दुई हजार पाँच सयको तह आइपुग्दा केही सम्हालिएको हो । त्यसबाहेक निजी क्षेत्रमा आबद्ध व्यवसायीहरूले समेत राष्ट्र बैंकले प्रतिग्राहक चारदेखि १२ करोडको सीमा हटाउनुपर्ने आवाज उठाउन थालेपछि पनि लगानीकर्ता केही आशावादी बनेका हुन् । 

यसबीच केही लघुवित्त कम्पनीहरूले उच्चदरमा लाभांश घोषणा गर्न थालेका छन् । यसले पनि बजारमा यस्ता कम्पनीप्रति आकर्षण बढेको छ । धेरथोर लाभांश घोषणा भएका कम्पनीहरूमा समेत सरकारी खर्चमा वृद्धिसँगै बैंकहरूमा देखिएको तरलता अब समाधान हुन थाल्ने अपेक्षामा समेत लगानीकर्ता रहेका छन् ।

बैंकहरूले निक्षेपको ब्याजदर बढाए पनि तत्कालै सुधार हुन सक्ने अनुमानमा सीमान्तदरमा ब्याज बढाएको एसएमएस ग्राहकहरूलाई पठाएकाले पनि ब्याजदरमा तत्काल धेरै वृद्धि नहुने अनुमानमा बजारमा लगानी बढेको हो । दसैँअगाडि बजारमा किनेको सेयरको भुक्तानी दसैँ बिदाका कारण त्यसपछि मात्रै दिन सकिने भएकाले पनि कारोबार रकममा सुधार देखिन सुरु गरेको छ । 

सातामा मैलुङखोला जलविद्युत्को मूूल्य सबैभन्दा धेरै बढ्यो भने सानिमा माई हाइड्रोको सबैभन्दा धेरैले घटेको छ ।  प्रवृत्ति सर्ट टर्म बुलिस ः प्राविधिक विश्लेषणका अल्पकालीन औजारहरूले बजारको प्रवृत्ति बुलिस बनेको देखाउँछ भने केही लामो अवधिका औजारहरूले अहिले पनि बजार बियरिस नै रहेको संकेत गर्छ । 

साताको दोस्रो दिन घट्दो बजारमा डोजी आकृति बनेर बजार घट्न रोकिन सक्ने संकेत गरेको थियो । यो संकेत दरिलो नभए पनि मंगलबार बजार बढेपछि थप केही दिन बजार बढ्ने संकेत गरेको थियो । बजारको अल्पकालीन प्रवृत्ति हेर्न प्रयोग हुने मैनबत्ती चित्रअनुसार बुधबार पनि बजार बढेको छ । यस साता बजार बढ्न सक्ने सम्भावना दरिलो भएको छ । 

तुलनात्मक रूपमा केही लामो अवधिका लागि विश्लेषणमा प्रयोग गरिने मुभिङ एभरेज रेखाले भने बजार बियरिस प्रवृत्तिमै रहेको संकेत गरिरहेको छ । नेप्सेको ७ दिने मुभिङ रेखालाई केही समयअघिदेखि २१ दिने मुभिङ रेखाले काटेर माथि लागेको छ । यसलाई डेथ क्रसओभर भनिन्छ । यद्यपि, छोटो–छोटो अवधिमा यसको प्रवृत्तिमा समेत परिवर्तन देखिएकाले यसमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । ७ दिने रेखा माथि हुँदा बजार बुलिस रहेको मानिन्छ भने यदि २१ दिने रेखा माथि रहेमा बजार बियरिस प्रवृत्तिमा रहेको विश्लेषण गरिन्छ । 

१४ दिने आरएसआई सूचकले बजारमा अधिक बिक्रीको अवस्थामा सुधार देखिएर केही माथि लागेको संकेत गर्छ । गत साता यो सूचक करिब २९ स्केलमा पुगेपछि बेढर ३६ दशमलव ५३ सम्म आएको छ । स्केल ३० मुनि रहे बजारमा अधिक बिक्री भइरहेको, ३० देखि ७० मा रहे माग र आपूर्ति सन्तुलित र ७० माथि रहे अधिक खरिद क्षेत्रमा आएको विश्लेषण गरिन्छ । साताको अन्तिम दिन नै गत साताका लागि उच्च बिन्दु दुई हजार ६ सय ८१ बनेको नेप्सेको पिभट विश्लेषणअनुसार आगामी एक सातामा दुई हजार सात सय २७ मा पहिलो लक्ष्य पाउनेछ । यस लक्ष्यमा प्रतिरोध पाएमा नेप्सेले दुई हजार पाँच सय ८८ मा पहिलो टेवा परीक्षण गर्नेछ । 

See More On

सुझावित समाचार