मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २० बुधबार
  • Monday, 16 December, 2024
केभिन रुज
२o७८ असोज २० बुधबार o९:४५:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण

बाहिरबाट देखिएजस्तो बलियो छैन फेसबुक

Read Time : > 3 मिनेट
केभिन रुज
नयाँ पत्रिका
२o७८ असोज २० बुधबार o९:४५:oo

वाल स्ट्रिट जर्नलले हालै प्रकाशित गरेको आलेख शृंखलाले फेसुबक कमजोर हुँदै गएको संकेत गर्छ


द वाल स्ट्रिट जर्नलले केही अघि फेसबुक कम्पनीद्वारा आन्तरिक अनुसन्धानका लागि तयार पारिएका सामग्रीहरू हात पारेपछि तिनको आधारमा ‘फेसबुक फाइल्स’ नाममा शृंखलाबद्ध रिपोर्ट छाप्यो । वाल स्ट्रिट जर्नलले ‘फेसबुक फाइल्स’ नाममा छापेको आलेख शृंखलामा फेसबुकले मुनाफाका लागि समाजलाई घातक सामग्री जानेर नरोकेको देखिन्छ ।

शृंखलाले फेसबुकमा दुई तहको निर्णय प्रणाली रहेको र उसलाई इन्स्टाग्रामको कारणले युवतीहरूमाझ अस्वस्थ शारीरिक धारणा विकास भएको कुरा जानकारी रहेको खुलासा ग¥यो । यी र यस्तै खुलासाले फेसबुक निकै शक्तिशाली रहेको र यसलाई सरकारी हस्तक्षेपले मात्र घुँडा टेकाउन सकिने विचार विकास गराउन सघाइरहेको छ । तर, वाल स्ट्रिटको ‘फेसबुक फाइल्स’ शृंखलाले फेसबुकको समस्याग्रस्त चित्र प्रस्तुत गर्छ । 

वित्तीय समस्या, कानुनी समस्या अथवा मार्क जुकरबर्गले सिनेटरको सामना गर्नुपर्नेवाला समस्या पनि होइन । बिस्तारै र नियमित क्षीण भएर मर्ने कम्पनीलाई नजिकबाट हेरेका हरकोहीले फेसबुकको हालको समस्यालाई चिन्छन् । आफ्नो अस्तित्वको सबैभन्दा उत्कृष्ट दिन पार गरिसकेको कम्पनीमा देखिने अस्तित्वको डरको माहोल फेसबुकमा देखिन्छ । त्यसैले कम्पनीका हरेक व्यवस्थापकीय प्राथमिकता, उत्पादन निर्णयहरू आगामी निकासको मार्गलाई व्यग्रताका साथ खोजिरहेको देखिन्छ । यस्तो प्रकारको क्षय बाहिरबाट देखिइहाल्दैन, तर भित्रका मानिसले हरेक दिन त्यस्ता सयौँ साना र अव्यक्त संकेत देखिरहेका हुन्छन् । 

अघिल्लो बिहीबार फेसबुककी सुरक्षा प्रमुख एन्टिगन डेभिसलाई अमेरिकी सिनेटमा बोलाएर केरकार गरियो । सुनुवाइमा डेभिससँग अमेरिकी विधायकले कम्पनीको लत लाग्ने खालको डिजाइन र त्यसका कारण उसको अर्बौं प्रयोगकर्तामा परेको नकारात्मक प्रभावबारे प्रश्न गरे । डेभिसलाई गरिएका धेरै प्रश्न कठोर थिए । तर, सुनुवाइ पछिल्लो समय ठूला प्रविधि उद्योगका विषयका सुनुवाइमा गरिएका प्रश्नभन्दा फरक थिएन । 

फेसबुकका पूर्व उत्पादक व्यवस्थापकले वाल स्ट्रिट जर्नललाई दिएको कागजातमा कम्पनी उसको शक्ति र प्रभाव गुम्ला भनेर चिन्तित देखिन्छ । कम्पनीले गरेको भित्री अनुसन्धानले उसका धेरै उत्पादन स्वतः वृद्धि नभएको देखाउँछ । अहिले ऊ आफ्नो विषाक्त छवि सुधारेर प्रयोगकर्तालाई एप नछाडून् भन्ने सुनिश्चितता गर्न केन्द्रित देखिन्छ । द वाल स्ट्रिट जर्नलले फेसबुकको आन्तरिक अनुसन्धानलाई उद्धरण गरेर तयार पारेको एउटा आलेखमा कम्पनीले बालबालिकामाझ विस्तार गर्ने रणनीति बनाइरहेको देखिन्छ । यो उमेरसमूहलाई ‘बहुमूल्य तर प्रयोगमा नआएको सम्भावित उपभोक्ता’ भनिएको छ । यदि फेसबुकको शक्ति बढिरहेको हुन्थ्यो भने उसले आफूलाई यस्तो सानो उमेरसमूहमा केन्द्रित गर्दैनथ्यो होला । 

अमेरिकी किशोरकिशोरीमाझ फेसबुकको प्रयोग वर्षौंदेखि घटिरहेको छ । यो थप हुन सक्ने फेसबुकको आन्तरिक अनुसन्धानमै उल्लेख छ । अनुसन्धानकर्ताका अनुसार विगतमा फेसबुकको स्थानमा किशोरकिशोरीले कम्पनीकै अर्को एप इन्स्टाग्राम चलाउँथे । तर, अहिले त्यसलाई पनि टिकटकले चुनौती दिन थालेको छ । 

साना प्रयोगकर्ताप्रतिको फेसबुकको मोह खासमा बजार विस्तारसँग भन्दा पनि प्रयोजनहीन हुने डरसँग जोडिएको छ । अमेरिकी किशोरकिशोरीमाझ फेसबुकको प्रयोग वर्षौंदेखि घटिरहेको छ । यो थप घट्न सक्ने फेसबुकको आन्तरिक अनुसन्धानमै उल्लेख छ । अनुसन्धानकर्ताका अनुसार विगतमा फेसबुकको स्थानमा किशोरकिशोरीले कम्पनीकै अर्को एप इन्स्टाग्राम चलाउँथे । तर, अहिले त्यसलाई पनि टिकटकले चुनौती दिन थालेको छ । 

फेसबुकका समस्यालाई दुई समूहमा वर्गीकरण गर्न सकिन्छ । एउटा, धेरै प्रयोगकर्ताले उत्पन्न गराएको समस्या र अर्को, उसले चाहेको नयाँ खालको प्रयोगकर्ताको उल्लेख्य कमी हुँदा उत्पन्न समस्या । युवा प्रयोगकर्ताले संस्कृति निर्माण गर्ने, प्रवृत्ति निर्धारण गर्ने मात्र होइन, विज्ञापनदातालाई पनि तान्न सघाउँछन् । दोस्रो प्रकारको समस्याले कम्पनीको क्षयलाई जनाउँछ । र, फेसुबकका कार्यकारी यसबाट सबैभन्दा बढी चिन्तित देखिन्छन् । 

वाल स्ट्रिट जर्नलको शृंखलाको तेस्रो आलेखले सन् २०१८ मा न्युज फिड अल्गोरिदम परिवर्तन गर्ने फेसबुकको निर्णयबारे व्याख्या गरेको छ । कम्पनीले ‘अर्थपूर्ण सामाजिक अन्तरक्रिया’लाई जोड दिन सो परिवर्तन गरिएको भने पनि खासमा त्यो प्रयोगकर्ताबीच घट्दो ‘इंगेजमेन्ट’ समाधानको प्रयास थियो । नयाँ अल्गोरिदमले घट्दो लाइक तथा कमेन्टलाई सम्बोधन गर्नका लागि धेरै कमेन्ट र प्रतिक्रिया हासिल गरेका सामग्रीलाई मानिसको न्युज फिडमा देखाउन थाल्यो । जसको अर्थ हुन्थ्यो, ‘मानिसलाई धेरै क्रुद्ध बनाउने सामग्री’लाई प्रवद्र्धन गर्ने । 

अहिले नै फेसबुक मरिसक्यो भनेर व्याख्या गर्न छिटो हुन्छ । कम्पनीको स्टक मूल्य अघिल्लो वर्ष ३० प्रतिशतले बढेको थियो । त्यसमा बलियो विज्ञापन आय र महामारीको समयमा फेसबुकका उत्पादनहरूको बढ्दो प्रयोगले भूमिका खेल्यो । फेसबुक अझै पनि अमेरिकाबाहिरका मुलुकमा विस्तार भइरहेको छ । साथै, कम्पनीले भर्चुअल रियालिटी र ओगुमेन्टेड रियालिटीजस्ता नयाँ परियोजनामा ठूलो लगानी गरिरहेको छ । 

तर, फेसबुकको अनुसन्धान सामग्रीले एउटा स्पष्ट सन्देश दिएको छ र त्यो सुखद छैन । यसका युवा प्रयोगकर्ता ठूलो संख्यामा स्न्यापच्याट र टिकटकमा गइरहेका छन् । पुराना प्रयोगकर्ताहरू खोपबारे झुटा भ्रम फैलाउने मिम पोस्ट गरिरहेका छन् र राजनीतिबारे बहस गरिरहेका छन् । केही फेसबुक उत्पादनहरू उल्लेख्य खुम्चिसके । केही तिनका प्रयोगकर्तालाई क्रुद्ध वा संकोची बनाउने काम गरिरहेको छ । युवाहरूमाझ फेसबुकको घट्दो प्रासंगिकता उसका आलोचकहरूका लागि सुखद हुन आवश्यक छैन । इतिहास हेर्ने हो भने सामाजिक सञ्जाल बूढो हुँदै जाँदा त्यति शिष्ट देखिँदैन । तिनले झन् खराब निर्णय गर्दै गएको देखिन्छ । फेसबुकका आगामी केही वर्ष उसका पछिल्ला केही वर्षभन्दा घृणित हुन सक्छ । 

तर, माथि भनिएका कुराले फेसबुक शक्तिशाली छैन भन्न खोजेको होइन, न त यसको नियमन र यसका गलत अभ्यासविरुद्ध सतर्कताको विरोध गरेको हो । फेसबुक क्षीण हुदै जाँदासमेत यो इतिहासको सबैभन्दा प्रभावशाली कम्पनी हुनु स्वाभाविक हो । अर्थात्, यसले अहिले पनि विश्वभरका राजनीति र संस्कृतिलाई आकार दिइरहेको छ । तर पनि हामीेले कम्पनीको कमजोरीलाई सबलताको रूपमा बुझ्न हुँदैन ।