मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 30 November, 2021
अभिनव चुरिवाल, प्रबन्ध निर्देशक मंगलम इन्डस्ट्रिज
कृष्ण रिजाल काठमाडाैं
२०७८ असोज १७ आइतबार १०:२४:००
Read Time : > 3 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

अबको एक दशक उद्योगका लागि ‘गोल्डेन पिरियड’ हुनेछ

Read Time : > 3 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
२०७८ असोज १७ आइतबार १०:२४:००

नेपालमै पहिलोपटक सिपिभिसी पाइप उत्पादन थालेको मंगलम इन्डस्ट्रिजले सबै सेग्मेन्टका पाइप र फिटिङ उत्पादन गर्दै आएको छ । उद्योग स्थापनाको एक दशकपछि मंगलमले नयाँ उद्योग स्थापना गरिरहेको छ । यसै सन्दर्भमा मंगलम उद्योगको यात्रा, नेपालमा पाइपको व्यावसायिक अवस्था, कम्पनीको भावी योजनालगायतका विषयमा नयाँ पत्रिकाकर्मी कृष्ण रिजालले प्रबन्ध निर्देशक अभिनव चुरिवालसँग गरेको कुराकानी :

मंगलम पाइप उद्योग स्थापनाको एक दशक बितिसकेको छ । कम्पनीको यात्रालाई कसरी सम्झनुहुन्छ ?
जतिवेला हामीले उद्योगको यात्राका रूपमा मंगलम इन्डस्ट्री सुरु गरेका थियौँ, त्यतिवेला उद्योगमा लगानी गर्ने प्रवृत्ति असाध्यै कम थियो । निर्माण र खाद्यान्नबाहेकको उद्योग थिएन । अहिले पनि अवस्था त्यस्तै छ, दाल, आँटा, चामल, डन्डी र सिमेन्टबाहेकका उद्योग असाध्यै कम छन् । कोर निर्माण सामग्रीबाहेक फिनिसिङका उद्योग कम छन् । त्यस्तो वेला हामीले उद्योग खोलेर जोखिम लियौँ । खासमा त्यतिवेलाका लागि उद्योगमा लगानी गर्नु गल्ती नै थियो, हामीले गल्ती गर्‍यौँ । तर, त्यसवेलाको गल्ती हाम्रा लागि सफलताको आधार बन्यो । हामीले धेरै कुरा सिक्यौँ । उत्पादन बढाउँदै लग्यौँ, ब्रान्डिङ गर्‍यौँ र स्थापित भयौँ । अहिले हामी भैरहवामा ठूलो उद्याग खोल्दै छौँ । यो स्टेट अफ दी आर्ट हो । कसैले कल्पना नगरेको उद्योग हामीले खोलेका छौँ । 

उद्योगी पनि व्यापारमा आकर्षित हुने समयमा उद्योग खोल्ने योजना कसरी बन्यो ? 
मैले विद्यालय तहको अध्ययन नेपालमा गरेँ, त्यसपछि भारत र अमेरिकामा पढेँ । भारतमा व्यापार क्षेत्रमा केही काम पनि गरँे । त्यसवेला नेपालको बजारमा धेरै अवसर छन् भन्ने लाग्थ्यो । खासमा नेपाल, अफ्रिका, बंगलादेशजस्ता देशमा व्यापार मात्रै भइरहेका थिए, उद्योग फस्टाएका थिएनन् । जहाँ अभाव छ, त्यहाँ अवसर पनि छ भन्ने लाग्यो । त्यसपछि हामीले नेपालमा उद्योग खोल्ने विचार गर्‍यौँ । खासगरी केही गर्नु छ, लाभ लिनु छ भने उद्योग र पूर्वाधारमा लगानी गर्नुपर्छ भन्ने भयो । अर्कोतर्फ मलाई सुरुदेखि नै व्यापारमा कम, उत्पादनमा बढी रुचि थियो । नेपाल फर्कंदा मलाई केही न केही गर्नैपर्छ भन्ने भयो । त्यसपछि हामीले त्यसवेलाको हाम्रो व्यापार साझेदारलाई उद्योगमा लगानी गर्न प्रस्ताव ग¥यौँ, उहाँहरू तयार हुनुभयो र उद्योग खोल्यौँ । 

सुरुमा हामीले पिपिआर पाइप उत्पादन गर्ने भनेर प्लान्ट लगायौँ । प्लान्ट स्थापनालाई एक वर्ष लाग्यो, काम गर्दागर्दै पिपिआरको लोकप्रियता कम भयो, माग घट्न थाल्यो । त्यसवेला विश्व बजारमा सिपिभिसीको माग सुरु भएको थियो । हामीले पिपिआर छाड्यौँ भने केही पैसा गुमाउँछाँै, तर छाडेनौँ भने सबै गुमाउँछौँ भन्ने ठान्यौँ । थोरै नोक्सान व्यहोर्ने निर्णयसहित पिपिआरबाट सिपिभिसीमा सिफ्ट भयौँ । हाम्रो यो उत्कृष्ट निर्णय साबित भयो । त्यसवेला प्रतिस्पर्धा थिएन, हामीले आफूलाई बलियो रूपमा प्रस्तुत गर्‍यौँ ।  

त्यसवेला प्रतिस्पर्धा नभएकै कारण सफलता मिलेको हो ? 
खासमा बिल्डिङ म्याटेरियल्समा हामीसँग चार दशकको अनुभव र नेटवर्क छ । हामीसँग आइरन स्टिल, टायल्स, स्यानेटरीलगायत सबै प्रडक्ट थियो र छ पनि । यसले हामीसँग एकखाले कन्फिडेन्ट थियो । अर्को कुरा कुनै पनि ब्रान्डलाई राम्रो पहिचानका लागि गुणस्तर चाहिन्छ, जुन हामीले कायम राख्न सक्यौँ । त्यसवेला हामी पहिलो कम्पनी हौँ, जसले आइएसआई लियौँ । सिपिभिसीका लागि बल्ल नेपाल गुणस्तर आएको छ । आवश्यक र मापदण्ड नहुँदै हामीले आइएसआई लियौँ । त्यसपछि भारतमा निर्यात पनि ग¥यौँ । हाम्रो मुख्य प्राथमिकता नै गुणस्तरमा थियो । त्यसपछि गुणस्तर कायम गर्दै, मूल्यलाई पनि प्रतिस्पर्धी बनायौँ ।  

सिपिभिसी, पिभिसी, पिपिआरलगायतका पाइपमा फरक के छ र उत्पादन कस्तो छ ?  
विभिन्न किसिमका प्रयोग र पानीका लागि पाइपहरू फरक–फरक छन् । पिभिसी पाइप चिसोपानी र तातोपानीका लागि हो । अरू पाइपमा एसडब्लुआर पाइप, एग्रो पाइप, सेतो पाइप आदि पर्छन् । तर, गिजरबाट आउने तातोपानीका लागि, सोलारबाट आउने पानीका लागि पिभिसीबाट हुँदैन । यसका लागि सिपिभिसी चाहिन्छ । क्लोरिनेटेड प्लोनिभिनार क्लोराइड्स अर्थात् सिपिभिसी पाइपले ९३ डिग्री तापक्रम सहन सक्छ । हामीले ११० डिग्रीसम्म तापक्रमको टेस्ट गर्छौँ । 

प्लम्बिङमा हामीले मुख्य गरी दुई किसिमका पाइप उत्पादन गर्छौँ । तातोपानी र चिसोपानीका लागि सिपिभिसी, एक्वा प्रो युपिभिसी चिसोपानीका लागि । ड्रनेज र एग्रिकल्चरमा पनि हाम्रा उत्पादन छन् । खानेपानी सप्लाईका लागि एचडिपी पाइप छ । विद्युत्का लागि पनि चाहिने पाइप बनाउँछौँ, जसको प्रयोग हस्पिटल, होटेलमा बढी प्रयोग भइरहेको छ । हामीले कम्प्लिट रेन्जका पाइप उत्पादन गरिरहेका छौँ । हामी टेलिकम्युनिकेसन प्रोडक्ट पनि उत्पादन गर्ने सोचमा छौँ, तर बजार पाएका छैनौँ । अहिले यस्ता पाइप खपत गर्ने सरकारी कम्पनीले भारतीय कम्पनीले मात्रै भाग लिन पाउने गरी स्पेसिफिकेसन बनाइरहेका छन् । यदि हामीलाई पनि नेपाल सरकारका परियोजनामा प्रतिस्पर्धा गर्न दिने हो भने हामी उत्पादन थाल्छौँ ।

उपभोक्तालाई पाइपको छनोटमा कुनै सुझाब छ ? 
एउटा घर निर्माणमा पाइपको लागत कुल खर्चको २ प्रतिशत पनि हुँदैन । त्यो २ प्रतिशतको खर्चमा सस्तो र गुणस्तरहीन वस्तु नखोजौँ । २ प्रतिशतलाई हेरेर ९८ प्रतिशतलाई नबिगारौँ । म मंगलम नै छान्नुस् त भन्दिनँ, तर गुणस्तरीय सामान छान्दा मंगलम त्यहीँभित्र पर्छ । 

अहिले नेपालमा पाइपको व्यावसायिक अवस्था कस्तो छ ?
अहिले पाइपिङको बजार १८ देखि २० अर्ब हाराहारीको पुगिसकेको छ । करिब १० अर्ब रुपैयाँको बजार कालो पाइप भनेर चिनिने एचडिपीकै छ । सरकारले गर्ने पुँजीगत खर्चमा यस्ता पाइपको बजारको अवस्था निर्धारण हुन्छ । सिपिभिसी, पिभिसी, पिपिआरको बजार आठ अर्ब रुपैयाँबराबरको रहेको छ । 

पाइपको कुल बजारमा हाम्रो बजार हिस्सा करिब १५ प्रतिशतबराबरको रहेको छ । अरूचाहिँ आयातीत वस्तु र अन्य स्वदेशी उद्योगको छ । एउटै उद्योगको बजार हिस्सा १५ प्रतिशतबराबर हुनु भनेको राम्रो हो । अहिले एचडिपीमा ४५ वटा उद्योग होलान् । सिपिभिसी, पिभिसी र पिपिआर गरेर २० वटा होलान् । करिब ६०–६५ हाराहारी उद्योग होलान् । अहिले यस क्षेत्रमा उत्पादक तथा व्यापारीहरू धेरै छन् । यद्यपि, सिपिभिसीमा हामी सबैभन्दा ठूलो उद्योग हौँ, पिभिसीमा पनि हाम्रो राम्रो छ ।  

उद्योगको नयाँ योजना के छ ?
हाम्रो उद्योग भैरहवाको सिद्धार्थनगरमा छ । जुनवेला हामीले उद्योग सुरु गर्‍यौँ, त्यतिवेला सानो रूपमै सुरु गरेका थियौँ । पछि क्रमशः बढाउँदै लगेका हौँ । त्यहाँ हामीले उद्योग विस्तार गर्न जग्गा पाएनौँ । हामीले सम्पूर्ण हिसाबले नयाँ उद्योग लगाउने विचार गर्‍यौँ । ग्रिनफिल्ड प्रोजेक्ट अगाडि बढायौँ । अहिले हामीले मास्टर प्लानसहितको उद्योग स्थापना गरेका छौँ । हामी नेपालकै व्यवस्थित र ग्रिनरी उद्योग खोल्दै छौँ । एक लाख वर्गफिटमा, कम्प्लिट्ली इन्सुलेटेड, जहाँ बाहिरको तापक्रम ४० डिग्री हुँदा भित्र ३० डिग्री हुन्छ । नयाँ उद्योगमा ३२ सय वर्गफिटको ल्याब छ । 

मंगलम ग्रुपको भावी योजनाचाहिँ के छ ? 
हाम्रो ग्रुपमा हामी जहिले नयाँ कुरा गर्न खोजिरहेका हुन्छौँ । नेपालको ग्रोथ स्टोरी अझै बाँकी छ, यहाँ लगानीको सम्भावना अझै छ, अर्थात् हाम्रा लागि पनि लगानीको क्षेत्र अझै बाँकी छन् । नेपालको औद्योगिकीकरण अझै बाँकी छ । नेपालमा बन्न सक्ने धेरै कुरा बाँकी छन् । सरकारी नीति उद्योगमैत्री बनाइयो भने, उद्योगलाई सहुलियत दिइयो भने अबको १० वर्ष उद्योगका लागि ‘गोल्डेन पिरियड’ हुनेछ ।