मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १६ शनिबार ०६:५१:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आर्मी र हेल्प नेपालबीच उपाधि भिडन्त

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १६ शनिबार ०६:५१:००

छैटौँ संस्करणको एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधिका लागि साविक विजेता हेल्प नेपाल र र विभागीय टोली त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा आर्मीले अर्को विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई सहज ३–० को सेटमा स्तब्ध पार्दै फाइनलको स्थान पक्का गरेको हो । अन्तिम दुई स्थान बनाउने क्रममा आर्मीले विभागीय डर्बीको सेमिफाइनलमा एपिएफमाथि २५–१७,२५–१७ र २५–१९ को जित निकालेको हो । 

अर्को खेलमा हेल्प नेपालले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल खेल पक्का गर्‍यो । आर्मीले एपिएफलाई तीनवटै सेटमा फर्कने अवसर नै दिएन । पहिलो र दास्रो सेट आर्मीले समान २७–१७ को अन्तरमा जितेको थियो । एपिएफले फाइनल आशा जीवित राख्न कम्तीमा तेस्रो सेट जित्नुपर्ने थियो । 

तर, उत्कृष्ट फर्ममा रहेका आर्मीका खेलाडीले तेस्रो सेटको सुरुवातदेखि नै डिफेन्स र ब्लकलाई बलियो बनाए । यद्यपि एपिएफले पहिलो दुई सेट तुलनामा तेस्रो सेटमा सुधारिएको प्रदर्शन गरेको थियो । तर, त्यो आर्मीलाई फाइनलसम्म रोक्न पर्याप्त भएन । 

लगातार फाइनलमा हेल्प नेपाल
भारतका तीनजना अनुभवी खेलाडी समावेश भएको हेल्प नेपालले लगातार दोस्रोपटक फाइनल स्थान पक्का गरेको हो । यता पुलिसमा भने राष्ट्रिय खेलाडीले भरिएका थिए । तर, भारतीय खेलाडीसामु पुलिसको केही पनि सीप लागेन । हेल्प नेपालले पहिलो सेटमा पुलिसको कमजोरी फाइदा लिँदै २५–१७ ले जित्यो । प्रतियोगितामा हेल्प नेपालका खेलाडीले एकैनासको प्रदर्शन गरिरहेका छन् । अनुभवी खेलाडी रहेको पुलिसले दोस्रो सेटमा खासै राम्रो गर्न सकेन । 

पहिलो सेट जित निकालेको हेल्प नेपालले दोस्रो सेटमा पनि आफ्नो लयलाई कायमै राख्दै २५–१८ ले बाजी मार्‍यो । तेस्रो सेटमा पुलिसले बलियो चुनौती पेस गरे पनि हेल्प नेपाल नै अब्बल देखियो । तेस्रो सेटमा हेल्प नेपालले २५–२१ ले जित निकाली फाइनलको स्थान सुरक्षित गर्‍यो । अब पुलिस र एपिएफबीच तेस्रो स्थानका लागि खेल हुनेछ । 

फेरि एपिएफ र न्यु डायमन्डबीच फाइनल
यसैगरी महिलातर्फको उपाधि भिडन्त गत संस्करणकै फाइनल पुगेका एपिएफ क्लब र न्यु डायमन्ड स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ फाइनल पुग्न नसके पनि महिलातर्फ एपिएफले सहजै स्थान पक्का गरेको हो । पुलिस र आर्मीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । पहिलो सेमिफाइनलमा एपिएफले त्रिभुवन आर्मीलाई प्रतिस्पर्धात्मक ३–२ को सेटमा हराएको हो । एपिएफ र आर्मीबीचको पहिलो सेटदेखि नै कडा प्रतिस्पर्धा भयो । 

एपिएफले पहिलो सेट २७–२५ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट २१–२५ ले गुमाउन पुगेको एपिएफ तेस्रो सेट पनि २५–२७ ले गुमाउन पुग्यो । हारको नजिक पुगेको एपिएफ आफूलाई सम्हाल्दै चौथो सेटमा २६–२४ ले जित्दै सेमिफाइनल खेललाई २–२ को बराबरीमा पुर्‍याउन सफल भयो । अन्तिम तथा निर्णायक सेटमा एपिएफले १५–१३ ले आफ्नो पक्षमा पार्दै कठिन फाइनल यात्रा तय गर्‍यो । यस्तै दोस्रो सेमिफाइनल पनि निकै नै रोमाञ्चक रह्यो । न्यू डायमन्डले पुलिसमाथि ३–२ को कठिन जित निकाली एपिएफसँगको उपाधि भिडन्त पक्का गरेको हो । 

पहिलो सेट १८–२५ ले पुलिसलाई सुम्पेको न्यु डायमन्डले दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्‍यो । न्यु डायमन्डले तेस्रो २५–२१ ले गुमायो । न्यु डायमन्ड चौथो सेटमा सम्हालिँदै २५–१७ को स्कोरमा पुलिसलाई हरायो । यस जितसँगै खेल २–२ को बराबरीमा पुग्यो । तेस्रो तथा अन्तिम सेटमा १५–१३ ले आफ्नो पक्षमा पार्दै न्यु डायमन्ड उपाधिको निकट पुग्यो ।

च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली आउने चैतमा हुने लिगका लागि छनोट हुनेछन् । च्याम्पियन हुने पुरुष र महिला टोलीले समान ४ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुने टोलीले दुई लाख तथा तेस्रो हुने टोलीले एक लाख रुपैयाँ हात पार्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन् । हरेक विधाका उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।