१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी काबुल
२०७८ असोज १४ बिहीबार १३:२०:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानी आकाशमा ड्रोन नउडाउन अमेरिकालाई तालिवानको चेतावनी

Read Time : > 1 मिनेट
एजेन्सी काबुल
२०७८ असोज १४ बिहीबार १३:२०:००

अफगानिस्तानको आकाशमा ड्रोन उडाउन बन्द नगरे अमेरिकाले नसोचेको परिणाम भोग्नुपर्ने भन्दै तालिवानले चेतावनी दिएको छ। तालिवानको ट्विटरमार्फत एक वक्तव्य जारी गर्दै अमेरिकाले सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ।

‘अफगानिस्तानमा ड्रोन अप्रेसन गरेर अमेरिकाले सबै अन्तर्राष्ट्रिय कानुन र कतारको दोहामा भएको सम्झौता र प्रतिबद्धताको उल्लंघन गरेको छ,’ वक्तव्यमा भनिएको छ, ‘कुनै पनि किसिमको नकारात्मक परिणाम रोक्नका लागि हामीले विश्व समुदायलाई, विशेषगरी अमेरिकालाई अन्तर्राष्ट्रिय कानुन तथा प्रतिबद्धताका आधारमा अफगानिस्तानसँग व्यवहार गर्न आग्रह गर्दछौँ।’

अमेरिकी अधिकारीहरूले तत्काल यसको प्रतिक्रिया नदिएका अलजजिराले उल्लेख गरेको छ। यसले गत अगस्ट ३० मा अफगानिस्तानबाट अमेरिकाले आफ्नो सेना फिर्ता गरेपछि  बिग्रँदै गएको अमेरिका–तालिवान सम्बन्धलाई झन् नाजुक बनाउन सक्ने जानकारहरूले बताएका छन्।

तालिवानले सत्ता कब्जा गरेसँगै अमेरिकाले अफगानिस्तानसँग सामान्य सम्बन्ध राखे पनि तालिवान सरकारलाई औपचारिक रूपमा मान्यता भने दिएको छैन। तालिवानको सरकार आइसकेपछि ‘अल कायदा’ र ‘आइएसआइएस’जस्ता आतंकवादी संगठनहरूको सम्भावित उदयबारे चिन्ता व्यक्त गर्ने अमेरिकी अधिकारीहरूले अफगानिस्तानबाट हुन सक्ने खतरा टार्नका लागि अमेरिकाले ‘ओभर द होराइजन’को रणनीति अपनाउने बताउँदै आएका छन्।

जानकारहरूका अनुसार अमेरिकाले अपनाउने त्यस्तो रणनीति अफगानिस्तानबाहिर रहेर गरिने प्रविधिमा आधारित खुफिया अनुगमन र आक्रमणहरूमा निर्भर गर्नेछ। विगतमा अमेरिकाले यस्तो क्रियाकलाप अन्तर्राष्ट्रिय कानुनसम्मत नै भएको तर्क गर्दै आइरहेको भए पनि अफगानिस्तानबारे अब लिने रणनीति कसरी लागू गर्छ भन्ने स्पष्ट भइसकेको छैन। अमेरिका र तालिवान दुवैले इस्लामिक स्टेट इन खोरासन प्रोभिन्स (आइएसकेपी अथवा आइएसआइएस–के) आफूहरूका लागि खतरा भएकाले त्यस्ता संगठनविरुद्ध सहकार्य गर्ने पनि बताइसकेका छन्। तर, आलोचकहरूले तालिवानले त्यस्ता आतंकवादी संगठनहरूको रक्षा गरिरहेको आरोप लगाउँदै आएका छन्।

आइएसकेले गत अगस्ट २६ मा अमेरिकाको नियन्त्रणमा रहेको काबुल विमानस्थल क्षेत्रमा र पछि जलालवाद सहरमा आक्रमण गरेको थियो। मानवअधिकारवादीहरूले नागरिकहरूमा ‘बुट्स अन द ग्राउन्ड’ नीतिले भन्दा धेरै क्षति ‘ओभर द होराइजन’ नीतिले पार्न सक्ने भन्दै चेतावनी दिएका छन्।  उनीहरूले गत अगस्ट २९ मा अमेरिकाले गरेको ड्रोन हमलाको उदाहरण दिँदै उक्त हमलामा आइएसकेपीका लडाकुहरू नभएर १० आमनागरिक मारिएको तथ्यलाई प्रस्तुत गरेका छन्।

तालिवानले अलकायदाको निगरानीका लागि अमेरिकासँग सहकार्य गर्नेबारे चासो नदेखाएको अमेरिकी आरोप छ। तालिवानले अल कायदा लडाकुहरू अफगानिस्तानमा सक्रिय छन् भन्ने अमेरिकी दाबीलाई अस्वीकार गर्दै आइरहेको छ।