१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असोज १२ मंगलबार १५:४३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पर्यटक बोलाउँदै पोखरा, ११ देशका राजदूतको भ्रमणले पलाएको आशा

Read Time : > 2 मिनेट
२०७८ असोज १२ मंगलबार १५:४३:००

कोरोना संक्रमणको लामो कहरपछि पर्यटकीय नगर पोखरामा रौनकता देखिन थालेको छ। यहाँका पर्यटकी संस्था, गण्डकी प्रदेश सरकार र पर्यटन बाेर्ड गण्डकी प्रदेश कार्यालयको समन्वयमा कार्यक्रमका आयोजना हुन थालेसँगै रौनकता देखिन थालेको हो। पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले सरोकारवाला निकायबीच राम्रो समन्वय गरेर पर्यटन क्षेत्रलाई चलायमान गराउन खोजिएको बताए। 

यतिवेला पर्यटन प्रवर्द्धन र पोखरा खुला रहेको सन्देश दिन विभिन्न कार्यक्रम आयोजना हुने क्रम चलेको छ। एक हप्ताअगाडि नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको र नाट्टा प्रदेश २ को आयोजनामा ६ असोजमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा पोखरामा पाँचबुँदे अन्तरप्रदेश समझदारी घोषणा गरिएको छ। 

समझदारीमा अन्तरप्रदेशबीच पर्यटकीय गन्तव्यको पहिचान, संवर्द्धन र प्रचारप्रसार बढाउने, दुवै प्रदेशबीच सीधा हवाई सेवाको निरन्तरताका साथै जनकपुर–पोखराको हवाई सेवा विस्तारमा जोड दिनेलगायत छन्। यो सम्झौताले खासगरी नेपालकै तराई र भारतीय पर्यटकका लागि पोखरासँगको पहुँच सहज गराउने अपेक्षा गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष भट्टराई बताउँछन्। यसका साथै पोखरामा विभिन्न सरकारी गैरसरकारी संस्थाहरूले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने क्रम बढेको उनले सुनाए। विभिन्न मुलुकका नेपालस्थित राजदूत, कूटनीतिज्ञदेखि विकास साझेदार संस्थाका प्रमुखहरूको भ्रमणलगायतका कार्यक्रम पर्यटन प्रवर्द्धनका लागि आयोजना भएका छन्। भट्टराईले छिट्टै बोर्डर सिटीहरूमा समेत प्रवर्द्धनात्मक कार्यक्रम गरिन लागेको जानकारी दिए। 

विभिन्न देशका राजदूतको पोखरा भ्रमण
पोखराको पर्यटन प्रवर्द्धन गर्न र कोरोना कहरपछि अब पोखरा सुरक्षित छ भन्ने सन्देश दिन विभिन्न ११ देशका राजदूतसहित विकास साझेदार संस्थाका अधिकारीहरूलाई पोखरा भ्रमण गराइएको छ। विश्व पर्यटन दिवशको सन्दर्भ पारेर उनीहरूलाई पोखरा भ्रमण गराइएको हो। निजी क्षेत्रको सल्लाहबमोजिम गण्डकी प्रदेश सरकारले परराष्ट्र मन्त्रालयमार्फत राजदूतसहित विकास साझेदार संस्थाका पदाधिकारी पोखरा बोलाएको गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्माले जानकारी दिए। 

यसरी आएका राजदूत र विकास साझेदार संस्थाका अधिकारीहरूले दुई दिन पोखरामा बिताएर फर्किका छन्। आइतबार पोखरा आएका उनीहरू मंगलबार फर्किएका हुन्। यस अवधिमा उनीहरूले कास्कीकोटदेखि सराङकोटसम्म हाइकिङ (पदयात्रा) गरे। डेभिज फल्स अवलोकन गर्नुका साथै फेवातालमा बोटिङसमेत गरे। उनीहरू पोखरामा आयोजित मिनी सडक महोत्सवमा समेत सहभागी भए। संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय प्रतिनिधि सराबे सलोनयन्तीले भ्रमणको क्रममा टिकटक नै बनाएर पोखराको सौन्दर्यताबारे बखान गरिन्। 

जर्मनीका राजदूत डा. थोमस प्रिन्जले यहाँको सुन्दरता अद्वितीय रहेको उल्लेख गर्दै प्राकृतिक सुन्दरतालाई भावी पुस्ताका लागि बचाएर राख्नुपर्ने सुझाब दिए।बंगलादेशका राजदूतका सलाउद्दिन नोमान चौधरीले पोखरालाई हिमाल र सहरको मज्जा एकै नजरमा लिन सक्ने रमाइलो स्थल भनेका छन्। उनले सबैले एकपटक पोखरा घुम्न आउनैपर्ने बताए।
गण्डकी प्रदेश सरकारको पहलमा कतार, साउदी अरेयिबा, दुबई, दक्षिण कोरिया, थाइल्यान्ड, बंगालदेश, इजिप्ट, जर्मनी, मलेसियालगायत देशका राजदूत, कूटनीतिक नियोगका उच्चपदस्थ प्रतिनिधि गरी आइतबार मात्र २५ सदस्यीय टोली पोखरा आइपुगेकाे हाे। उनीहरू पोखरा बसाइबाट सन्तुष्ट हुँदै मंगलबार फर्किका छन्।

पोखरा पर्यटन परिषद्का अध्यक्ष भट्टराईले कोरोनाले थलिएको पर्यटन क्षेत्रमा विदेशी कूटनीतिज्ञको यसप्रकारको भ्रमणले पोखराबारे अन्तर्राष्ट्रिय बजारमा राम्रो सन्देश गएको बताए। यसले आफूहरूलाई उत्साहित बनाएको उनको भनाइ छ।   

नेपाल पर्यटन बोर्डका पूर्वबोर्ड सदस्य वासु त्रिपाठीले राजदूतहरूको भ्रमणले धेरै नै महत्वपूर्ण अर्थ राख्ने र यसको प्रभाव पछिसम्म पर्ने बताएका छन्। पोखरा विश्वका पर्यटकलाई स्वागत गर्न आतुर रहेको सन्देश यसले दिएको उनको भनाइ छ। ‘सरकार र निजी क्षेत्रको सहकार्यले साँच्चै नै एउटा महत्वपूर्ण सन्देश दिन सफल भएका छौँ,’ उनले भने, ‘यसले दिने सन्देशको प्रभाव दूरगामी छ। हामी विश्वका पर्यटकलाई स्वागत गर्न आतुर छौँ भन्ने सन्देश यसले दिएको छ।’

दसैँ र तिहारमा ५० प्रतिशत अकुपेन्सी हुने अपेक्षा
पश्चिमाञ्चल होटेल संघका अध्यक्ष विकल तुलाचनका अनुसार पोखराको पर्यटन क्षेत्रमा सकारात्मक लक्ष्यण देखिन सुरु भइसकेको छ। अहिले बिदाको दिनमा औसत होटेल अकुपेन्सी २० प्रतिशतको हाराहारीमा पुग्न थालेको छ। दसैँ–तिहारको बीचमा यो बढेर ५० प्रतिशतको हाराहारीमा अकुपेन्सी पुग्ने अपेक्षा गरिएको उनले जानकारी दिए। अहिले नै होटेलको बेड संख्यामध्ये १५–२० प्रतिशत बुकिङ भइसकेको उनले जानकारी दिएका छन्। 

खोप लगाएको सन्देश, प्रदेश २ का मुख्यमन्त्रीको पोखरा भ्रमण र दुई प्रदेशबीचको समझ्दारीका साथै पोखराका धार्मिक स्थलदेखि मुक्तिनाथसम्मका धार्मिक स्थलसमेत खुलेको सन्देश बाहिर पुर्‍याउन सफल रहेका कारण आन्तरिक एवं भारतीय पर्यटकसमेत पोखरा भित्रने उनको अपेक्षा छ। पोखरा र यसको आसपासमा पर्यटकीय स्तरका सात सयभन्दा धेरै होटेलहरूमा ३० हजारको संख्यामा पर्यटकलाई एकैपटक राख्ने क्षमता छ। होटेल, रेस्टुरेन्ट, ट्रेकिङलगायत विभिन्न क्षेत्रमा कार्यरत ७० प्रतिशत मजदुर काममा फर्किसकेको र आफूहरू सबै अहिले पर्यटकको पर्खाइमा रहेको अध्यक्ष तुलाचनले बताए।