१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मुना कुँवर काठमाडाैं
२०७८ असोज १२ मंगलबार ०६:५८:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

१२ लाख नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा : ७० प्रतिशतले गरे बिमा नवीकरण

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७८ असोज १२ मंगलबार ०६:५८:००

स्वास्थ्य बिमा बोर्डले करिब १२ लाख नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा सुरक्षा प्रदान गरेको छ । सरकारले तोेकेको लक्षित समूहभित्र पर्ने ११ लाख ७० हजार ६ सय ८२ नागरिक स्वास्थ्य बिमा बोर्डमा आबद्ध रहेको बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बस्यौलाले जानकारी दिए । बोर्डको तथ्यांकअनुसार अति गरिबको परिचयपत्र प्राप्त ४७ हजार ६ सय ३५ जनाले निःशुल्क स्वास्थ्य बिमा सुविधा प्राप्त गरेका छन् । 

त्यस्तै, एक हजार नौ सय १८ जटिल खालका क्षयरोगी (एमडिआर टिबी) ले निःशुल्क स्वास्थ्य बिमा सुविधा प्राप्त गरेका छन् । साथै, १९ हजार सात सय १८ एचआइभी संक्रमित, दुई हजार तीन सय सात कृष्ठरोगी, ७२ हजार नौ सय ४३ अति अशक्त अपांगता भएका नागरिक, ६६ हजार तीन सय ३५ महिला स्वास्थ्य स्वयंसेविका र पाँच लाख ३१ हजार एक सय नौ ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य बिमा सुविधा पाएका छन् । सरकारले अति गरिबको परिचयपत्र प्राप्त परिवारलाई स्वास्थ्य बिमाको रकममा शतप्रतिशत छुट दिएको छ । ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई पनि योगदान रकममा छुट व्यवस्था गरेको छ भने महिला स्वास्थ्य स्वयंसेविका संलग्न भएको परिवारको योगदान रकमको ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । 
 
 कडा रोग लागेकालाई  निःशुल्क स्वास्थ्य बिमा    
विपन्न नागरिकलाई कडा रोग लागेमा स्वास्थ्य बिमा बोर्डले नै उपचार खर्च व्यहोर्ने भएको छ । बोर्डले विपन्न नागरिकलाई यस्तो रोग लागेमा अधिकतम एक लाख रुपैयाँसम्मको दाबी भुक्तानी गर्नेछ । विपन्न नागरिकलाई उपचार सुविधा प्रदान गर्न सरकारले यस्तो सुविधा दिँदै आएको छ । हालसम्म यो कार्यक्रम स्वास्थ्य मन्त्रालयअन्तर्गतको नर्सिङ महाशाखाले सञ्चालन गर्दै आएको थियो । कार्यक्रम सञ्चालनका लागि बोर्डले विपन्न नागरिक कडा रोग औषधि उपचारसम्बन्धी कार्यविधि, २०७८ जारी गरेको छ । कडा रोगभित्र क्यान्सर, मुटुरोग, हेडइन्जुरी, स्पाइनल इन्जुरी, सिकसेल एनिमिया र अल्जाइमर पर्छन् । 

 ७० प्रतिशतले गरे नवीकरण
सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमामा आबद्ध नागरिकमध्ये ७० प्रतिशतले नवीकरण गरेका छन् । स्वास्थ्य बिमा बोर्डको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ७० प्रतिशतले नवीकरण गरेका हुन् । अघिल्लो आवमा भने ६० प्रतिशतले नवीकरण गरेका थिए ।  बोर्डका अनुसार हालसम्म ४५ लाख ४६ हजार पाँच सय ४२ जना नागरिक स्वास्थ्य बिमामा समेटिएका छन् । जसमध्ये २३ लाख ५५ हजार सात सय १५ पुरुष, २१ लाख ९० हजार दुई सय ६६ महिला रहेका छन् भने पाँच सय ६१ अन्य रहेका छन् । हालसम्म ७५ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भइसकेको छ । सात सय ३६ स्थानीय निकायमा कार्यक्रम सञ्चालन भएको छ । दुई जिल्ला सञ्चालनको तयारीमा छन् । 

 १९ प्रतिशतमा पुग्यो स्वास्थ्य बिमा
स्वास्थ्य बिमा १९ प्रतिशतमा पहुँच पुगेको छ । बोर्डको तथ्यांकअनुसार प्रदेश नम्बर एकमा सबैभन्दा बढी ३३ प्रतिशतमा पहुँच पुगेको छ । प्रदेश २ मा ४ प्रतिशत, बागमती प्रदेशमा १६ प्रतिशत, गण्डकी प्रदेशमा २३ प्रतिशत, लुम्बिनी प्रदेशमा १५ प्रतिशत, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिममा १५ प्रतिशतमा बिमाको पहँुच पुगेको तथ्यांकमा उल्लेख छ । 
प्रदेशअनुसार बिमित परिवारको अवस्थाअनुसार २५ दशमलव ५४ प्रतिशत घरपरिवारमा बिमाको पहुँच पुगेको बोर्डको तथ्यांक छ । प्रदेश नम्बर १ मा चार लाख ४३ हजार आठ सय ३३ घरपरिवारमा स्वास्थ्य बिमा पुगेको छ । प्रदेश नम्बर दुईमा ८५ हजार आठ सय ३७, बागमती प्रदेशमा दुई लाख ५० हजार चार सय २२, गण्डकीमा एक लाख ९२ हजार नौ सय ४८, लुम्बिनी प्रदेशमा दुई लाख १९ हजार पाँच सय १६, कर्णाली प्रदेशमा ७० हजार दुई सय ७९ र सुदूरपश्चिम प्रदेशमा एक लाख २३ हजार सात सय ३८ घरपरिवारमा बिमाको पहुँच छ ।

 बोर्डले नै बिमा कोष  सञ्चालन गर्न पाउने
अबदेखि स्वास्थ्य बिमा बोर्डले नै बिमा कोष सञ्चालन गर्न पाउने भएको छ । स्वास्थ्य बिमा ऐनमा गरिएको व्यवस्थाअनुसार बोर्डले बिमा कोष स्थापना गरी आफँैले सञ्चालन गर्न पाउने व्यवस्था छ । ‘यसअघिका प्रमुखहरूले कोष सञ्चालनका लागि कुनै प्रयास गर्नुभएको रहेनछ । म बोर्डमा आएपछि यसका लागि विभिन्न निकाय पुगेर अहिले कोष सञ्चालनको अनुमति पाएका छौँ,’ उनले भने । त्यस्तै, बोर्डले वैदेशिक रोजगारमा जाने व्यक्तिहरूका परिवारको स्वास्थ्य बिमासम्बन्धी कार्यविधि, २०७८ जारी गरेको छ । कार्यविधिअनुसार अबदेखि वैदेशिक रोजगारीमा जाने कामदारका परिवार अनिवार्य रूपमा स्वास्थ्य बिमामा आबद्ध हुनुपर्नेछ । कामदारले श्रम स्वीकृति लिने समयमा नै स्वास्थ्य बिमामा आबद्ध भएको प्रमाण पेस गर्नुपर्नेछ । 

साथै, बोर्डले स्वास्थ्य बिमा कार्यक्रमको नमुना पालिका बनाउने कायविधि, २०७८ पनि जारी गरेको छ । यस कार्यविधिअनुसार प्रत्येक प्रदेशमा एउटा पालिकालाई स्वास्थ्य बिमाका लागि नमुना गाउँपालिका बनाइनेछ । बिमा कार्यक्रमलाई सबैले अपनत्व लिनुपर्ने भन्दै यस्तो खालको नमुना कार्यक्रम सञ्चालन गरिएको बोर्डका प्रमुख कार्यकारी डा. बस्यौलले बताए । 

आगामी दिन बिमा कार्यक्रममा सहज र पारदर्शी बनाउन प्रविधिसँग जोड्ने भएको छ । यसका लागि बोर्डले स्वास्थ्य बिमा बोर्डको आफ्नै मोबाइल एप्लिकेसन निर्माणको अन्तिम चरणमा पुगेको बोर्डका कार्यकारी प्रमुख डा. बस्यौलाले बताए । एप्लिकेसनमार्फत हरेक नागरिकले आफ्नो बिमा रकम कहाँ, कसरी प्रयोग भइरहेकोबारे जानकारी लिन सक्नेछन् । साथै, बोर्डले बिमा व्यवस्थापन सूचना प्रणालीलाई अपडेट गर्ने भएको छ । यस सफ्टवेयरमार्फत आगामी दिनमा मानिसहरूले आफैँ स्वास्थ्य बिमामा आबद्ध हुन सक्नेछन् । सफ्टवेयरमार्फत नै योगदान रकम भुक्तानी गर्न सक्नेछन् । त्यस्तै, हस्पिटलहरूले तत्काल दाबी गर्न सक्नेछन् ।