घट्दो रेमिट्यान्स, बढ्दो आयातले मुलुक बाह्य क्षेत्र दबाबमा पर्न थालेको छ । गत असारसम्म विदेशी मुद्राको सञ्चितिले १० महिना दुई दिनसम्मको वस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्था रहेकोमा साउन लाग्दा आठ महिना तीन दिनको मात्रै आयात धान्न सक्ने अवस्था आएको हो । केही वर्षदेखि राष्ट्र बैंकले सञ्चिति पर्याप्तता सूचक सात महिना अवधि भए पुग्ने बताउन थालेको छ । यसअघि आठ महिना आधार रहने गरेको थियो ।
विदेशी विनिमय सञ्चिति पनि ३.२ प्रतिशतले कम भएको छ । एक महिनाअघि असारमा १३ खर्ब ९९ अर्ब रुपैयाँबराबर यस्तो सञ्चिति रहेकोमा साउनमा १३ खर्ब ५३ अर्ब छ । आयात करिब दोब्बरले वृद्धि भएको हो । गत आवको साउनमा ८५ अर्ब रुपैयाँको आयात भएकोमा चालू आवमा ७५ प्रतिशतले वृद्धि भएर एक खर्ब ५० अर्ब पुगेको छ । चालू आवको पहिलो महिना नै गत आवको तुलनामा रेमिट्यान्स भित्रिने दरमा सुस्ती देखिएको छ । गत आवमा ९२ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा चालू आवको यही अवधिमा १६ अर्ब रुपैयाँले कम रेमिट्यान्स भित्रिएको छ । १८ प्रतिशतले कम रेमिट्यान्स भित्रिएर ७५ अर्ब ९५ करोड रुपैयाँमा सीमित भएको छ ।
एक प्रतिशत बढ्यो मूल्यवृद्धि
गत आवको तुलनामा चालू आवमा मूल्यवृद्धि करिब एक प्रतिशत बिन्दुले मात्रै वृद्धि भएको राष्ट्र बैंकको मासिक वित्तीय प्रतिवेदनले देखाउँछ । गत आवको यही अवधिमा ३ दशमलव ४९ प्रतिशतले महँगी बढेकोमा चालू आवको यो अवधिमा भने ४ दशमलव ३५ प्रतिशतले बढेको छ ।
साउनमा घिउ, तेल, गैरमदिराजन्य पेय पदार्थ, सुर्तीजन्य पदार्थ र यातायात उपसमूहको मूल्यवृद्धि क्रमशः २९.०७ प्रतिशत, १०.५१ प्रतिशत, १०.१२ प्रतिशत र ९.४३ प्रतिशत छ । काठमाडौं उपत्यकामा ३.७० प्रतिशत, तराईमा ४.११ प्रतिशत, पहाडमा ५.६३ प्रतिशत र हिमालमा ३.५८ प्रतिशत मुद्रास्फीति छ ।
गत असारको तुलनामा भने खाद्य तथा पेय वस्तुको मूल्यवृद्धिदर कम देखिएको छ । असारमा ५ दशमलव ८१ प्रतिशतले यी वस्तुको मूल्यवृद्धि भएकोमा साउनमा ३ दशमलव ८६ प्रतिशत वृद्धिदर रहेको छ ।
‘कर्जा विस्तार नियन्त्रण आवश्यक’
कर्जा विस्तार तीव्र दरमा भइरहेकाले आयातमा वृद्धि भएको र यसले विदेशी मुद्रा सञ्चितिमा दबाब परेको हो । ‘लकडाउनमा हुन नसकेको आयात अहिले भएको वा दसैँजस्ता पर्व लक्षित आयातमा वृद्धि भएको हो र यो प्रवृत्ति असोज र कात्तिकबाट घट्न थाले समस्या हुँदैन,’ राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले भने, ‘नत्र भने सञ्चिति कम भएमा मुलुकले थप वैदेशिक ऋण लिनुपर्ने अवस्थासम्म आउन सक्छ ।’
श्रेष्ठले कर्जाको करिब ४५ प्रतिशत आयातमा गइरहेकाले त्यस्तो अवस्था आएमा कर्जा विस्तार नियन्त्रणमा पनि जानुपर्ने बाध्यता आउन सक्ने बताए । विशेष गरी सेयर बजार, जग्गा कारोबारजस्ता सम्पत्तिको मूल्य उच्चदरमा बढेका कारण सुन, विलासी सवारीसाधनजस्ता वस्तुको समेत आयात बढेको उनले बताए । साउनमा मात्रै तीन अर्ब रुपैयाँको सुन र ११ अर्ब रुपैयाँको यातायात र यससम्बन्धी सामग्रीको आयात भएको छ । बैंकहरूको निक्षेप ब्याजदर वृद्धि भएमा भने आयातमा समेत आफैँ नियन्त्रण हुने राष्ट्र बैंकको भनाइ छ ।
बढ्दो आयात, विदेशी मुद्रा आम्दानी हुने क्षेत्रमा समस्या, रेमिट्यान्समा देखिएको कमीका कारण मुलुकको भुक्तानी सन्तुलन पनि ऋणात्मक हुने दर वृद्धि भइरहेको छ । साउनमा यो ३८ अर्ब रुपैयाँले ऋणात्मक छ । भदौमा पनि यो करिब ५० अर्ब पुगेको अनुमान गरिएको छ ।