मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ७ बिहीबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ७ बिहीबार o७:३६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यात्रुको चाप बढे अतिरिक्त उडान गर्ने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ७ बिहीबार o७:३६:oo

आन्तरिक वायुसेवा कम्पनीहरूले दसैँका लागि औपचारिक रूपमा टिकट बुकिङ खुला नगरे पनि अनलाइन प्रणालीबाट टिकट बुकिङ भइरहेको बताएका छन् ।  वायुसेवा कम्पनीहरूले दसैंका लागि टिकटको एउटा निश्चित रेट तोकेर बुकिङ लिइरहेको र टिकट अभाव नहुने बताएका छन् । 

पछिल्लो समय कोभिड संक्रमण फैलिन कम भइरहेको हुनाले दसैँ मनाउन घर जानेहरू धेरै हुने अनुमान छ । तर, धेरैले दसैँ सुरु हुनुभन्दाअघि नै आफ्नो गन्तव्यतिर गइसकेको वायुसेवा कम्पनीहरूको अनुमान छ । अहिले पनि जहाज पूर्णक्षमतामा उडान भरिरहेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्ण बताउँछन् ।

कोभिड महामारीका कारण स्कुल कलेज खुल्न सकेका छैनन् । अनलाइन क्लास घरबाटै लिन सकिने हुँदा धेरैजना दसैँ सुरु हुनुभन्दाअघि नै घर हिँड्न थालेको उनको बुझाइ छ । घर जानेहरू अहिलेदेखि नै हिँड्न थालेको हुँदा दसैँको मुखमा टिकटको त्यति अभाव नहुने वायुसेवा कम्पनीहरूले ठहर गरेका छन् । गत वर्ष पनि दसैँमा हवाई टिकटको अभाव नभएपछि वायुसेवा कम्पनीहरूले अतिरिक्त उडान भर्नुपरेको थिएन ।

 अहिले आन्तरिक गन्तव्यमा पनि ठूला जहाजहरू उड्न थालेको हुँदा टिकटको खासै अभाव नहुने बुद्धका प्रवक्ता कर्णको भनाइ छ । सुगम गन्तव्यमा ८० सिट, ७२ सिट, ५० सिट क्षमताका जहाजले उडान भरिरहेका छन् । कम उडान हुने र साना जहाजले उडान भर्ने व्यस्त गन्तव्यमा भने अहिले नै टिकट सकिन लागेको उनले बताए । बुद्धले तुम्लिङटारमा दैनिक दुई उडान भर्ने गर्छ । दसैँका लागि तुम्लिङटार उडानका टिकट करिब सकिन लागेका छन् । 

वायुसेवा कम्पनीहरूले यात्रुको चाप हेरेर दसैँमा अतिरिक्त उडान गर्ने रणनीति बनाइरहेका छन् । ठूला जहाजले उडान भर्दा दसैँमा टिकट नपाउने अवस्था नरहने यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । ‘हामी दसैँमा यात्रुको चाप हेरेर उडान थप्ने छौँ, तर अहिले यात्रुहरू धमाधम घर फर्किरहेको हुँदा दसैँमा उडान थप्नुपर्ने अवस्था आउने सम्भवना कम देखिन्छ’ उनले भने । वायुसेवा कम्पनीका अनुसार, गत वर्षको दसैँमा पनि उडान थप गर्नुपरेको थिएन ।

एकातिर ठूला विमानहरूले एकैपटकमा धेरै यात्रु बोक्न सक्छन् । अर्कोतिर कोभिडका कारण स्कुल÷कलेज सञ्चालनमा नरहेको हुँदा दसैँ सुरु हुनुअघि नै धेरैजना घर फर्किन थालिसकेका छन् । वायुसेवा कम्पनीहरूका अनुसार, अहिले पनि जहाज ९५ प्रतिशतभन्दा बढी अकुपेन्सीमा उडिरहेका छन् जबकि दसैँ सुरु हुन अझै १५/१६ दिन बाँकी छ । ‘गत वर्षजस्तै यस वर्षको दसैँमा अतिरिक्त उडान गर्नुपर्ने अवस्था आउँदैन होला, किनभने धेरैजना दसैँ सुरु हुनुअघि नै घर फर्किन थालिसकेका छन्’ श्री एयरका प्रवक्ता अनिल मानन्धरले भने, ‘अहिले ठूला जहाजले एउटै उडानमा धेरै यात्रु बोक्ने हुँदा पहिलाजस्तो हवाई टिकटको अभाव हुने दिन हराइसकेका छन्, यदि यात्रुको चाप बढेको खण्डमा अतिरिक्त उडान गर्न तयार नै छौँ ।’

अहिले बुद्ध एयरले १५ वटा जहाजबाट १३ गन्तव्यमा अपडाउन गरी दैनिक १४० उडान भरिरहेका छन् । यस्तै, यती एयरलाइन्सले दैनिक अपडाउन ४२ उडान, श्री एयरले अपडाउन ४० उडान र सौर्य एयरले आठवटा उडान भरिरहेका छन् । हालै मात्र गुण एयरलाइन्सले पनि व्यावसायिक उडान सुरु गरिरहेको छ । समिट, तारा र सीता एयरले पनि विभिन्न गन्तव्यमा उडान भरिरहेका छन् ।