मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज ६ बुधबार १६:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सानो कारागार, धेरै कैदीबन्दी : सुत्न र शौचालय जान समस्या

Read Time : < 1 मिनेट
२०७८ असोज ६ बुधबार १६:३६:००

जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमता ३५ भए पनि क्षमताभन्दा झन्डै तेब्बर कैदीबन्दी बस्दै आएका छन् । 

कारागारमा अहिले ९७ जना कैदीबन्दी राखिएको छ । १० महिला र ८७ जना पुरुष केदीबन्दी बस्दै आएका छन् । फरार अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेपछि कैदीबन्दीको संख्या बढेको हो । 

०२८ मा स्थापना भएको कारागार ०७२ कोे भूकम्पका कारण जीर्ण छ । कारागारका जेलर जगदीश मिश्रका अनुसार कारागार ३५ जना राख्ने क्षमताको हो । ‘भवन जीर्ण छ, कैदीबन्दीको संख्या बढेको बढ्यै भयो,’ उनले भने । 

वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीहरूलाई बस्न समस्या भएको छ । जीर्ण बन्दै गएको लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न निकै समस्या परेको छ । ‘सुत्ने–बस्ने समस्या भयो भन्दै कैदीहरूले गुनासो गर्छन् ।’ 

कारागारका कैदीहरूले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा आफूहरूलाई सुत्न र शौचालय जानसमेत समस्या भएको बताउँदै आएका छन् । कारागारका चौकीदार नवीन गुरुङले क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको कारागारमा वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई सुत्न र शौचालय जान समस्या भएको बताए । उनले भने, ‘कैदीबन्दीले पिउने पानी, चर्पी, आरामदायी बसाइलगायतका समस्या झेल्दै आएका छन् ।’ 

जिल्लामा आधुनिक कारागार भवन निर्माणका लागि विभागमा पटकपटक अनुरोध गरे पनि कुनै प्रक्रिया अगाडि नबढ्दा दिन प्रतिदिन समस्या बढ्दै गएको कारागार प्रशासनको भनाइ छ ।