मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रसेल भाइनर
२०७८ असोज १ शुक्रबार १०:५६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

यसकारण बालबालिकालाई खोप

देश/परदेश

Read Time : > 2 मिनेट
रसेल भाइनर
२०७८ असोज १ शुक्रबार १०:५६:००

बेलायतका चार प्रमुख चिकित्सा अधिकारीहरू (सिएमओ) ले १२ देखि १५ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाउन सुझाब दिएका छन् । यसअघि खोपसम्बन्धी निर्णय गर्ने द जोइन्ट कमिटी अन भ्याक्सिनेसन एन्ड इम्युनाइजेसन (जेसिभिआई) ले सुरुमा १२ देखि १५ वर्षसम्मका स्वस्थ बालबालिकालाई खोप लगाउने पर्याप्त आधार नभएको बताएको थियो ।

स्वास्थ्य एवं सामाजिक सुरक्षा सचिवालयले जेसिभिआईको क्षेत्राधिकारबाहिर गएर सिएमओहरूलाई खोपले ल्याउने सम्भावित शैक्षिक एवं मनोवैज्ञानिक स्वास्थ्यबारे चासो राख्न आग्रह गरेको थियो । बालबालिकालाई खोप लगाउनुका विभिन्न आयाम छन् । हामीले बालबालिकालाई खोप लगाउँदा हुने सम्भावित जोखिम एवं फाइदालाई सन्तुलनमा राख्नुपर्छ । 

फाइजर र मोडर्ना एमआरएनए खोपहरू मात्र १२ देखि १५ वर्षका बालबालिकाका लागि प्रभावकारी मानिएको छ र सिएमओले यस उमेर समूहलाई खोपको एक मात्रा मात्रै लगाउन सुझाब दिएको छ । बेलायतमा १२ देखि १५ वर्ष उमेर समूहका करिब २६ लाख बालबालिका छन् भने त्यसमा तीन लाख ५० हजार बालबालिकालाई कोभिड–१९ संक्रमणको सम्भावित जटिलताका कारण खोप लगाइसकिएको छ । तथ्यांकअनुसार खोपको एक मात्रा लगाउँदा ५५ प्रतिशत प्रभावकारी हुने देखाएको छ । यी आँकडालाई आधार मानेर स्वास्थ्य विभागले बेलायतका खोप नलगाएका २२ लाख किशोर–किशोरीमध्ये ६० प्रतिशतलाई खोपको एक मात्रा उपलब्ध गराउने हो भने यो उमेर समूहका ३० हजार बालबालिकालाई कोभिड–१९ संक्रमणबाट जोगाउन सकिन्छ । 

बालबालिकालाई खोप लगाउने वा नलगाउनेबारेको मुख्य चासो दुवै देखिने र नदेखिने साइड इफेक्ट (अतिरिक्त असर) मा केन्द्रित छ । म्योकार्डिटिस वा पेरिकार्डिटिस नामक दुर्लभ मुटुरोग अहिले मुख्य चासोको विषय बनेको छ । अमेरिकी तथ्यांक हेर्दा खोप लगाएका प्रत्येक १० लाख १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकामध्ये एक सय ६० जना किशोर र १३ किशोरीमा सो रोग देखिएको छ । यस्ता रोग भएका अधिकांश बालबालिकाले दुवै खोप लगाएका थिए, यद्यपि रोग देखिएका बालबालिकामा लक्षण सामान्य देखिएको छ ।    

 हामीले गरेको तथ्यांक विश्लेषणका अनुसार इंग्ल्यान्डमा महामारीको पहिलो वर्षमा कोभिड–१९ का कारण १२ देखि १५ वर्षका उमेर समूहका बालबालिकामध्ये नौजनाको मृत्यु भयो भने एक लाखभन्दा बढी वयष्कको मृत्यु भयो । उसो त एकजनाको मृत्यु हुनु पनि दुःखद हो । नौजनामध्ये सातजना बालबालिकामा अन्य जटिलता पनि देखिएका थिए, यद्यपि ती बालबालिका खोप लगाउन योग्य थिए ।

स्वस्थ किशोर–किशोरीलाई खोपको एक मात्रा दिने सिएमओको निर्णयले म्योकार्डिटिसको जोखिमलाई मात्रै घटाउनेछैन, कोभिड–१९ संक्रमणबाट हुने दुर्लभ र गम्भीर लक्षणलाई पनि नियन्त्रण गर्नेछ

कोभिड–१९ का कारण आइसियूमा भर्ना भएका एक सय ५० बालबालिकामा पनि अन्य जटिलता देखिएका थिए । विश्लेषणअनुसार इंग्ल्यान्डका १२ देखि १५ वर्षका बालबालिकालाई खोप लगाएको भए दुई बालबालिकाको ज्यान जोगाउन सकिन्थ्यो भने ३० देखि ४० बालबालिकालाई आइसियू भर्ना हुनबाट रोक्न सकिन्थ्यो । यद्यपि यो रोकथाम गर्दा एक सय ७० देखि एक सय ८० किशोरकिशोरीमा म्योकार्डिटिस देखिन सक्थ्याे जसको लक्षण एकदमै सामान्य रहेको छ । समाजका लागि यो संख्या न्यून भए पनि चपेटामा परेका बालबालिकाका परिवारका लागि यो असर निश्चय नै पीडादायी हो ।

सिएमओको स्वस्थ किशोर–किशोरीलाई खोपको एक मात्रा दिने निर्णयले म्योकार्डिटिसको जोखिमलाई मात्रै घटाउनेछैन, कोभिड–१९ संक्रमणबाट हुने दुर्लभ यद्यपि गम्भीर लक्षणलाई पनि नियन्त्रण गर्नेछ । खोपले कोभिडपछिका लक्षण अर्थात् पोस्ट–कोभिड सिन्ड्रोमलाई पनि कम गर्न सक्छ । एक प्रक्षेपणअनुसार दुईदेखि १४ प्रतिशत बालबालिकामा कोभिडपछि पनि समस्या देखिएका थिए यद्यपि अधिकांशमा समस्या चाँडै बिलाएर गएका छन् ।    

  यसअतिरिक्त १२ देखि १५ वर्षका बालबालिकाले सहजै शिक्षामा पहुँच पाउनेछन्, जुन सिएमओको निर्णयको मुख्य कारक बनेको थियो । हालको ग्रीष्म सत्रमा विद्यालयमा भएको अनिवार्य आइसोलेसनले शिक्षा प्रक्रियामा असहजता निम्त्याएको थियो । यदि खोप लगाइने हो भने बालबालिकामा संक्रमण कम देखिनुका साथसाथै विद्यालयमा सहज पहुँच बढाउनेछ । पछिल्लो ६ महिनाको तथ्यांकलाई हेर्ने हो भने विद्यालयमा विद्यार्थीहरू कुल एक लाख दिनको पठनपाठनबाट वञ्चित भएका छन् । यससँगै बालबालिकालाई खोप लगाउनु समग्र समाजमा संक्रमण दर पनि घटाउनु हो ।

चिकित्सकीय रूपमा भन्ने हो भने १२ देखि १५ वर्षका बालबालिकालाई खोप लगाउँदा धेरै लाभ नभए पनि धेरै जोखिम पनि छैन, अर्थात् जोखिम सन्तुलित छन् । विद्यालयमा विद्यार्थी व्यस्त भइरहून् र महामारीका संक्रमणका अतिरिक्त असरबाट विद्यार्थीलाई जोगाउन सकियोस् भन्ने ध्येयले गरिएको निर्णयको म सशक्त समर्थन गर्छु ।

कुनै पनि खोप धेरैभन्दा धेरै व्यक्तिमा लगाउन सके मात्रै खोपले सार्थकता पाउँछ । बेलायतको सन्दर्भमा खोपको अभिलेख सकारात्मक रहेको छ तथापि बालबालिकाको मामिलामा खोपदर निकै कम छ । बालबालिकामा रहेको न्यून खोपले अभिभावकलाई चिन्तित तुल्याएको छ । हालैको एक सर्वेक्षणले ८६ प्रतिशत अभिभावक आफ्ना सन्तानलाई खोप लगाउन इच्छुक रहेको पाइएको छ । तथापि खोप लगाउन अनिच्छुकलाई प्रोत्साहन गर्नु अहिलेको सबैभन्दा ठूलो चुनौती हो । 
द गार्जियनबाट (भाइनर बाल–चिकित्सक एवं बाल–स्वास्थ्यका प्राध्यापक हुन्)