मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ३१ बिहीबार
  • Tuesday, 17 December, 2024
शान्ता मरासिनी
२o७८ भदौ ३१ बिहीबार ११:२o:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

समाजमा हामी कहिले सुरक्षित हुने ?

Read Time : > 2 मिनेट
शान्ता मरासिनी
नयाँ पत्रिका
२o७८ भदौ ३१ बिहीबार ११:२o:oo

साताभरि पढेका १४ वटा महिला हिंसाका घटनामा सात महिलाको कुटपिटबाट हत्या भएको थियो । तीमध्ये एक महिला त पाँच महिनाकी गर्भवती थिइन्, जसको पतिबाटै हत्या भएको थियो । समाजमा लैंगिक हिंसा र हत्याका घटना बढ्दै जानु र पीडितले न्याय नपाउने अवस्था हेर्दा राज्यका संयन्त्र लैंगिक न्यायप्रति संवेदनशील नभएको प्रस्टै देखिन्छ ।

केहीअघि एक कथित बाबाबाट आफू बलात्कृत भएको भन्दै एक महिलाले गरेको उजुरीपछिको छानबिनबाट आफ्नै एक अनुयायीलाई बलात्कार गरेको आरोप प्रमाणित हुँदा पनि पुलिस प्रशासन र न्याय प्रणालीलाई नै प्रभावित गरी सुनसरी जिल्ला अदालतबाट तीन लाख धरौटीमा छुटेका थिए, ती कथित बाबा । भर्खरै सोही अदालतले पीडित महिलालाई नै दोषी ठहर गरी ती बलात्कारी बाबालाई सफाइ दिएको छ । अदालतले पीडित महिलाले लेखेको म्यासेज, मुद्दा दर्ता भएपछि ‘बाबा’ले माफी मागेको अडियो प्रमाणलाई आधार मानी सफाइ दिएको भनेको छ ।

त्रिदण्ड धारण गरेकाले आफू स्त्री (नारी) र अग्नि (आगो) लाई नछुने बताउँदै आएका बाबाले अदालतमा पनि स्त्री र अग्निबाट टाढा रहने बयान दिएका थिए । बलात्कारको आरोपमा पक्राउ परेका बाबालाई अदालतले गत २२ मंसिरमा सफाइ दिएको थियो । त्यसको दुई महिनापछि तयार भएको फैसलाको पूर्णपाठमा जाहेरवाला महिलाले मोहित भएर शरीर समर्पण गरेका कारण बाबाजीले करणी गरेकाले जबर्जस्ती मान्न नसकिने उल्लेख छ ।

पीडित पक्षको भनाइलाई अदालतले दरिलो प्रमाणका रूपमा लिने गर्छ । यो कानुन व्याख्याको सिद्धान्त हो । न्यायालयले ‘इमोसनल’ भएर निर्णय गर्नु हुँदैन । जसका कारण कार्यपालिका र न्यायालयबीच द्वन्द्व बढ्न सक्छ । यस मुद्दामा पीडित महिलाले जाहेरी र बकपत्रमा पनि आफूमाथि करणी भएको बयान दिएकी थिइन् तर अदालतले त्यसलाई मानेन । 

पीडित महिलाले न्यायालयबाटै आफूमाथि अन्याय भएको बताएकी छिन् । जिल्ला अदालतले उच्च अदालत र सरकारी वकिल कार्यालयका दुवै पत्र थन्क्याएर फैसला सुनायो । उनी भन्छिन्, ‘सहमतिमा सम्पर्क भएको भए गुपचुप राख्थेँ, पैसाका लागि भएको भए १० करोड दिन्छु, बकपत्र फेर भनेकै थिए । पत्रकारको जिज्ञासामा पीडित महिलाले भनिन्, ‘यस घटनापछि बलात्कारीलाई कारबाही भएन भनेर आवाज उठाउने भोलिका दिनमा कोही हुनेछैनन् ।

महिला भएकै कारण समाजमा हामी कहिलेसम्म हत्या, हिंसा, अपहरण, बलात्कार, बेचबिखन, तेजाब आक्रमणजस्ता जघन्य अपराधको सिकार भइरहने ? 
 

अप्रमाणित तर्क गरी धर्मको गलत व्याख्या गर्दै हिँड्ने आफ्ना गैरकानुनी, चरित्रहीन व्यवहारको बचावट गर्न धर्म, धामीझाँक्री, लामा या बाबाका नाममा विभिन्न ढोंगीहरूले पूरै समाजलाई विकृत बनाइरहेका छन् । यस्ता अपराधी ढोंगीका कारण समाजमा विद्यमान आध्यात्मिक चिन्तक÷ज्ञानी गुरुमाथि नै शंका उत्पन्न गराएको छ । विज्ञान र प्रविधि विकासको गलत उपयोगले मान्छे नास्तिक बन्दै गएको छ । समाज शिक्षित बन्दै गएको छ तर आचरण र नैतिकता बिर्सिंदै गएको छ ।

विद्यमान मूल्यहीन सामाजिक दुरवस्था अन्त्य गरी मूल्ययुक्त न्यायशील समाज पुनस्र्थापना गर्न हाम्रा प्राचीन मूल्य, नैतिक शिक्षा र ज्ञान विज्ञानको पुनर्जागरणबाट मात्रै सम्भव छ । अनुयायीको अज्ञानताको फाइदा उठाउँदै केही ढोंगी फटाहा स्वघोषित कथित गुरुहरूले समाजमा अनैतिक व्यवहार देखाउँदा महान् सन्त, योगी र महात्मामाथि नै शंका र अविश्वास सिर्जना गराउँदै छन् । मानवका उत्कृट गुण एवं जीवनमूल्यलाई नै पतनोन्मुख गराउँदै छन् । नीति, नियम, आचरण, नैतिकता, आदर्श, सत्कर्म, नीति संहिता, सेवाभावजस्ता मानव गुण कुण्ठित, अपहेलित र तिरस्कृत हुँदै गएका छन् । यस्तो अवस्थामा हामीले हाम्रा पूर्वीय दर्शनका मूल्य–मान्यता, त्यागप्रधान संस्कृति ‘परोपकारपुण्याय पापाय परपीडनम्’ माथि विश्वास राख्न सक्नुपर्छ । 

नैतिकता, सद्चरित्रता, सेवाभाव, न्यायशीलता, सत्यवादिता, भावसंवेदनात्मकता जस्ता गुण मानवका जीवनमूल्य हुन् । यिनै मानवमूल्यको क्षयीकरणका कारण समाज विकृत बन्दै गइरहेको छ । नीति, नियम, आचरण, नैतिकता, आदर्श, सत्कर्म, नीति संहिता, सेवाभावजस्ता मानवका उत्कृष्ट गुण कुण्ठित, अपहेलित र तिरस्कृत हुँदै गएका छन् । विद्यमान शासकीय व्यवस्था, प्रहरी प्रशासन र न्यायालय पनि यस्तै समाजको सहउत्पादन हुन् ।

पीडकले सजाय र पीडितले न्याय पाउने अवस्थाको सिर्जना कसले गर्ने ? हिंसा, अपहरण, बलात्कार, हत्या, बेचबिखन, तेजाब आक्रमणजस्ता जघन्य अपराधलाई अपराधीकरण गर्न, दोषीलाई सजाय दिलाउन र पीडितलाई न्यायको अनुभूति गराउन महिलाको गोलबद्ध लडाइँलाई अझ सशक्त बनाउनुको विकल्प छैन ।