१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
किरण दहाल काठमाडाैं
२०७८ भदौ २८ सोमबार ०७:३०:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

संसद्को अवरोध हटाउने प्रयास : विपक्षी र सत्तापक्ष संयमित

Read Time : > 1 मिनेट
किरण दहाल, काठमाडाैं
२०७८ भदौ २८ सोमबार ०७:३०:००

बुधबार र शुक्रबारको तनावपूर्ण अवस्थापछि संसद्लाई सहज ढंगले चलाउने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच संवादको सुरुवात भएको छ । आइतबारको बैठकमा विगतमा जस्तो विपक्षी पनि ‘उग्र’ देखिएन भने सत्तापक्षले पनि पेलेर कामकारबाही अगाडि बढाएन ।

संसद्मा आक्रामक रूपमा प्रस्तुत हुँदै आएको प्रमुख प्रतिपक्ष दल एमाले आइतबार भने संयमित देखियो । उनीहरूले बेलअगाडि बसेर संयमतापूर्वक नाराबाजी गरे । त्यहाँ अघिल्ला बैठकमा जस्तो मर्यादापालकसँग घम्साघम्सी भएन । विश्वास र संवादका लागि मंगलबारसम्म बैठक स्थगन गरेर सभामुख अग्नि सापकोटाले सोमबार दिउँसो सर्वदलीय बैठक आह्वान गरेका छन् । अवरोध हटाउने विषयमा बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका प्रमुखलाई बोलाइएको छ । संसद् बैठक सुरु हुनुअगाडि नै विपक्षी दलका नेता केपी ओलीले पार्टीका सांसदहरूलाई संयमतापूर्वक विरोध गर्न निर्देशन दिएका थिए । ‘हामीले संसदीय मर्यादाभित्र तोकिएका नारा लगाउँछौँ, फाल्तु नारा लगाउँदैनौँ । हामी तोकिएको व्यवहार गर्छौँ, बेलमा जान्छौँ, नारा लगाउँछौँ,’ पार्टी संसदीय दल बैठकमा ओलीको निर्देशन थियो, ‘अलि सामान्य अवस्था आयो भने बिस्तारै नारा लगाउने, सत्तापक्ष र सभामुख अलि बढी आक्रामक भएर आउँदा अलि चर्को स्वरमा नारा लगाउने हुन सक्छ । नारा लगाउने र बेलमा जानेभन्दा बाहिरका संसदीय मर्यादा मिच्नुहुँदैन ।’

पार्टी अध्यक्ष एवं संसदीय दलका नेताको निर्देशनबमोजिम एमाले सांसद प्रस्तुत भए । उनीहरूले ‘संवैधानिक सर्वाेच्चता कायम गर’, ‘पक्षपातपूर्ण व्यवहार बन्द गर’, ‘पार्टी फुटाउने षड्यन्त्र बन्द गर’, ‘गैरसांसदलाई प्रवेश बन्द गर’, ‘यथास्थितिमा संसद् चल्न सक्दैन’ भन्दै नाराबाजी गरे । उनीहरूले ‘बेल’ घेरे । तर, पहिलाजस्तै घेरा तोड्ने र बलपूर्वक रोस्ट्रम पुग्ने प्रयास भने गरेनन् । 

विपक्षीको नाराबाजीपछि सभामुख पनि कार्यसूचीमा प्रवेश गरेनन् । उनीहरूको नारा सुनिरहे । सहज ढंगले सदन चल्न दिन आग्रह गरे । उनले बैठकमा पटक–पटक संवाद र समन्वयमा जोड दिए । ‘यो जनताको सर्वाेच्च जनप्रतिनिधि सभालाई हामीले मर्यादित र व्यवस्थित बनाएर जानुपर्छ । आखिर हामीले वादविवाद संवाद हुँदै सहकार्य–समन्वयतिर जानैपर्छ,’ सभामुखले विपक्षीलाई विश्वासमा लिने कोसिस गरे, ‘त्यसैले बैठक सहज ढंगले सञ्चालन गर्ने वातावरण बनाइदिन आग्रह गर्छु ।’

तर, आफू नियम–कानुनअनुसार नै अघि बढेको सभामुख सापकोटाको भनाइ थियो । ‘सभामुखले संविधान, नियम, कानुनअनुसार पहलकदमी लिनेमा म सधैँ प्रतिबद्ध छु । र, यसको मर्यादा कायम गर्ने हामी सबैको दायित्व हो । त्यतातिर मनन गर्न विशेष आग्रह गर्छु,’ सभामुखले भने । सरकारले पनि विपक्षीसँग संवादको प्रस्ताव सारेको छ । गृहमन्त्री बालकृष्ण खाणले संसद्मा देखिएका समस्या समाधानका लागि वार्तामा आउन प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरे । ‘म आग्रह गर्न चाहन्छु– भएका मतभेदहरूलाई सुल्झाएर जाऔँ । संवाद, छलफल र वार्ताको माध्यमबाट हामीले ठुल्ठूला समस्याहरूलाई सम्बोधन गरेका छौँ,’ आइतबार संसद्भवन परिसरमा गृहमन्त्री खाणले भने, ‘अहिले संसद्मा देखिएका समस्यालाई पनि सम्बोधन गर्न सकिन्छ ।’

सभामुखको कार्यशैलीमाथि एमालेको असन्तुष्टि छ । १४ सांसदलाई पार्टीले कारबाही गर्दा पनि सभामुखले सूचना नगरेर भेदभावपूर्ण व्यवहार गरेको उसको ठहर छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले नयाँ पत्रिकासँग आफ्ना मागबारे भनेका थिए, ‘हामीले कारबाही गरेका मान्छेको सनाखत गरेर निर्वाचन आयोगले किन दल दर्ता ग¥यो ? सभामुखले किन हामीले कारबाही गरेर निकालेका मान्छेको सूचना निकाल्नुभएन ?’

यिनै विषयलाई लिएर एमालेले गत बुधबार र शुक्रबार पनि सदन अवरुद्ध गरेको थियो । तर, अवरोधकै बाबजुद बुधबारको प्रतिनिधिसभामा सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गरेको थियो । शुक्रबारको बैठकमा पनि सरकारले बजेटसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याएको थियो । प्रतिपक्षले अवरोध गरिरहँदा पनि सरकार र सभामुखले संवादमा चासो नदेखाएको भन्दै एमालेले असन्तुष्टि पोख्दै आएको थियो । एमालेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि संवादको कतैबाट पनि पहल नभएको बताएका छन् ।