१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o६:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल गोलरहित बराबरीमा रोकियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:१३:oo

नेपाली राष्ट्रिय महिला फुटबल टोली दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको छ । दरशथ रंगशालामा आइतबार भएको खेलमा नेपाल र बंगलादेशका खेलाडीले गोलका लागि निकै प्रयास गरे पनि सफल हुन सकेन । दुवै टोलीका खेलाडीले प्राप्त अवसरको सदुपयोग गर्न नसक्दा दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको हो ।

गत बिहीबार पहिलो खेलमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो । महिला फुटबल इतिहासमा नेपाल र बंगलादेशबीचको यो दोस्रोपटक बराबरी नतिजा हो । सन् २०१९ मा भएको ओलम्पिक छनोटमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो । नेपालले अहिलेसम्म बंगलादेशसँग हार व्यहोरेको छैन । अहिलेसम्म नेपालले आठमध्ये ६ खेलमा बंगलादेशलाई हराएको छ । नेपाल बंगलादेशविरुद्ध आठै खेलमा अपराजित छ । नेपालका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो मैत्रीपूर्ण खेलमा सुरुमै तीन खेलाडी परिवर्तन गरेका थिए ।

पहिलो खेलमा डेब्यु गरेकी रश्मीकुमारी घिसिङ, मिडफिल्डर अनिता बस्नेत र गोलरक्षक अञ्जना रानामगरले पहिलो रोजाइमा मौका पाए । बंगलादेशले सुरुवातदेखि नै आक्रामक शैली अपनाएको थियो । नेपाली महिला खेलाडी मैदानमा पोसेसन बनाउन नपाउँदै बंगलादेशले छैटौँ मिनेटमा डरलाग्दो पोस्ट चार्ज गरेको थियो । नेपालकी गोलरक्षक रानामगरको गल्तीमा मोसामत सोप्नाले सहजै गोल अवसर चुकाइन् । 

गोलरक्षक रानामगरले बल राम्ररी ग्रिपमा लिन नसकेको फाइदामा श्रीमोती सरकारले सोप्नालाई पेनाल्टी क्षेत्रमा बल क्रस दिइन् । सोप्नाले बल प्रहार गर्न ढिला गर्दा फल गर्न पुगिन् ।नेपाली खेलाडीले पहिलो हाफमा बंगलादेशको पोस्टमा त्यति धेरै पोस्ट चार्ज गर्न सकेनन् । मध्यान्तरअघि नेपालबाट दुईपटक मात्र गतिलो आक्रमण भयो । खेलको १०औँ मिनेटमा अनिता बस्नेतको पासमा सरु लिम्बूले डिबक्स बाहिरबाट गरेको प्रहार बंगलादेशी गोलरक्षक चक्माले डाइभ गर्दै बचाइन् ।

खेलको २०औँ मिनेटमा दोस्रो अन्तर्राष्ट्रिय खेल खेलिरहेकी रश्मीकुमारी घिसिङको पासमा सरु लिम्बूले गोल गर्न सकिनन् । लिम्बूले प्रहार गरेको बललाई बंगलादेशी डिफेन्डर मसुरा परभिनले क्लियर गरिन् । बंगलादेशले निरन्तर नेपालमाथि दबाब राखेको थियो । खेलको ३०औँ मिनेटमा सरकारले डिबक्सबाट गरेको बल क्रसबारमा लाग्दा बंगलादेशले अग्रताको सुनौलो अवसर पुनः चुकायो । 

मध्यान्तरपछि नेपाल र बंगलादेशले रक्षात्मक रणनीति अपनाए । जसका कारण दोस्रो हाफमा गतिलो खेल प्रदर्शन भएन । खेलको ६७औँ मिनेटमा बंगलादेशकी कप्तान सविना खातुनको फ्रिकिक नेपालकी गोलरक्षक रानामगरले सहजै नियन्त्रणमा लिइन् । दोस्रो हाफमा मुख्य प्रशिक्षक फिलिप्सले सविता रानामगर तथा अनिता केसीलाई मैदानमा पठाएका थिए । खेलको ८९औँ मिनेटमा नेपालकी रजनी थोकरले वैकल्पिक खेलाडीका रूपमा डेब्यु गरिन् । उनी प्रीति राईको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । खेलको ९०औँ मिनेटमा २७ यार्डबाट सरु लिम्बूले प्रहार गरेको बललाई बंगलादेशी गोलरक्षक चक्माले सहजै नियन्त्रणमा लिइन् । 

एसियाकप छनोटको तयारी
एएफसी महिला एसियनकप २०२२ छनोट तयारीका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । एएफसी महिला एसियनकप २०२२ छनोट उज्वेकिस्तानमा सेप्टेम्बरमा हुँदै छ । छनोटमा नेपाल समूह एफमा रहेको छ ।
नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

एएफसी एसियाकप भारतमा २० जनवरीदेखि ६ फेबुअरीसम्म हुनेछ । नेपालले छनोट प्रतियोगिताको १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ । यस समूहको शीर्ष टोलीले भारतमा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछ । उज्वेकिस्तामा हुने छनोट प्रतियोगिताको समूह जीमा बंगलादेशले जोर्डन र इरानको सामना गर्नेछ । 
 

ad
ad