मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २७ आइतबार
  • Friday, 14 August, 2026
नवीन गुरुङ संखुवासभा
२o७८ भदौ २७ आइतबार १२:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी सार्वजनिक

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o७८ भदौ २७ आइतबार १२:१५:oo

मादी नगरपालिका– १ उम्लिङ खोलागाउँको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई सार्वजनिक गरेको छ। घटनाको छैटौँ दिन शनिबार स्थानीय २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो। 
हत्या आरोपमा मृतकका छिमेकी भतिजो साइनो पर्ने लोकबहादुरलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो।  लोकबहादुरले हत्या गरेको स्वीकार गरेको पत्रकार सम्मलेनमा प्रदेश १ का प्रमुख डिआईजी अरूणकुमार बिसीले जानकारी दिए।

घटनाको प्रारम्भिक अनुसन्धानमा पारिवारिक रिसइबीका कारण हत्या भएको देखिएको छ। पक्राउ परेका लोकबहादुरले तेजबहादुर कार्कीको मात्रै हत्या गर्ने योजना रहे पनि परिवारका अन्य सदस्यले समेत देखेपछि प्रमाण लुकाउन सबैको हत्या गरेको स्विकारेको प्रहरीले बताएको छ। 

सोमबार बिहान एकै घरका ६ जनाको सामूहिक हत्या भएको थियो। सोमबारदेखि संघीय इकाइ प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहाल नेतृत्वको टोली, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसपी रुकमबहादुर कुँवरको टोली र जिल्लास्थित डिएसपी लालध्वज सुवेदी र चैनपुर इलाका प्रहरी चौकीका इन्स्पेक्टर योगराज खतिवडालगायत ४० जनाभन्दा बढी सुरक्षाकर्मी र अनुसन्धान टोली घटनास्थलमा खटिएका थिए। मृतक परिवारको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमपछि बुधबार इटहरीको बुढीगंगामा अन्त्येष्टि गरिसकेको छ। 

गत सोमबार बिहान मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा स्थानीय ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको सामूहिक हत्या भएको थियो।