मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ भदौ २६ शनिबार २०:३७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा नेकपा एकीकृत समाजवादीको शक्ति प्रदर्शन

Read Time : > 1 मिनेट
२०७८ भदौ २६ शनिबार २०:३७:००

नेकपा एकीकृत समाजवादी पार्टीले जुम्लामा शक्ति प्रदर्शन गरेको छ । नेकपा एमालेबाट विभाजित भएपछि निर्माण भएको एकीकृत समाजवादीले प्रथम जिल्ला कार्यकर्ता भेला तथा शक्ति प्रदर्शन गरेको हो । 

जुम्लामा नेकपा एमालेभन्दा एकीकृत समाजवादी पार्टी बलियो भएको प्रमाण देखाउन शक्ति प्रदर्शन गरेको समाजवादीले जनाएको छ । जिल्ला भेलामा जुम्लाका आठै स्थानीय तहका करिब पाँच हजार कार्यकर्तालाई सदरमुकाम खलंगामा भेला गरिएको हो । 

एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्न पार्टीका कर्णाली प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री प्रकाश ज्वाला, कर्णालीका कृषिमन्त्री कुर्मराज शाही, प्रदेश सभा सदस्य पदम रोकायालगायत नेताहरू जुम्ला आएका हुन् । 

पाँच हजार बढी कार्यकर्ताको सहभागितामा जुम्ला सदरमुकाम खलंगाका विभिन्न भागमा ¥यालीसहित शक्ति प्रदर्शन गरेर जिल्ला खेलकुद विकास समितिको कबर्डहलमा औपचारिक कार्यक्रम गरिएको एकीकृत समाजवादीले जनाएको छ । 

भेलामा ज्वालाले हजाराँै कार्यकर्ताको समर्थन र उपस्थितिले जुम्लामा एमाले पार्टी एकीकृत समाजवादी पार्टीमा विलयी भएको ठोकुवा गरेका छन् । व्यक्तिवाद, अहंकार तथा विधि पद्धतिविपरीत काम गर्नेविरुद्ध डटेर सामना गर्न नेपाली राजनीतिमा विद्रोहका रूपमा स्थापित भएको समाजवादी पार्टीको विद्रोह जुम्लाबाटै सुरु भएको उनको तर्क छ । जुम्लामा एमाले सकिएको पुष्टि भएको उनको जिकिर छ ।

कार्यक्रममा कृषिमन्त्री शाही, सांसद पदम रोकायालगायतका वक्ताले कर्णालीकै सबैभन्दा ठूलो र बहुमत भएको एकीकृत समाजवादी पार्टी जुम्लामै निर्माण हुने विश्वास व्यक्त गरे ।

एकीकृत समाजवादी पार्टी जुम्लाका अध्यक्ष तीर्थ बुढाले एउटै घरभित्र पनि सधैँ किचलो, सधैँ अन्याय र अत्याचार सहेर बस्न नसकिने भन्दै एमालेभित्र केपी ओलीको अत्याचार बढेपछि विद्रोहका रूपमा एमालेभित्रै वैकल्पिक शक्तिका रूपमा एकीकृत समाजवादीको उदय भएको बताए ।

जुम्लामा एमाले समाप्त भइसकेको दाबी गर्दै कार्यकर्ताको भरोसा, विश्वास तथा संख्यात्मक हिसाबले एमालेभन्दा समाजवादी पार्टी बलियो र ठूलो भएको बुढाको भनाइ थियो । जुम्लाका एमालेबाट निर्वाचित ९० जना जनप्रतिनिधिमध्ये ४४ जना जनप्रतिनिधिले समाजवादीमा सनाखत गरेका छन् । ६१ जनाको जिल्ला कमिटीमध्ये ५८ जनाले समाजवादी रोजेका छन् ।