१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ भदौ २६ शनिबार ०६:३८:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेसीले तोडे पेलेको रेकर्ड

Read Time : > 2 मिनेट
२०७८ भदौ २६ शनिबार ०६:३८:००

अर्जेन्टिनी कप्तान लियोनल मेसीले ब्राजिलियन लिजेन्ड पेलेको कीर्तिमान तोडेका छन् । २०२२ को कतार विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोट फुटबल प्रतियोगितामा बोलिभियाविरुद्ध ह्याट्रिक लगाउँदा मेसीले पेलेको नाममा रहेको ७७ अन्तर्राष्ट्रिय गोलको रेकर्ड तोडेका हुन् । मेसीले एक सय ५३ खेलमा राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा ७९ गोलसंख्या पुर्‍याएका छन् । 

विश्व फुटबलमा सर्वाधिक गोल गर्ने सूचीको पाँचौँ स्थानमा मेसी जाम्बियाका गोडफ्रेयसँगै उभिएका छन् । गोडफ्रेयले एक सय ११ खेलमा ७९ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रिय टोलीबाट सर्वाधिक व्यक्तिगत गोलको कीर्तिमान पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले राखेका छन् । रोनाल्डोले एक सय ८० खेलमा सर्वाधिक एक सय ११ गोल गरेका छन् । गत साता मात्र रोनाल्डोले इरानका अलि दाईको रेकर्ड तोडेका थिए । अलि एक सय नौ गोलका साथ दोस्रो स्थानमा छन् । मेसीले रोनाल्डोको रेकर्ड बराबरी गर्न ३२ गोल गर्नुपर्नेछ । 

३६ वर्षीय रोनाल्डोले गत साता उत्तरी आयरल्यान्डविरुद्ध दुई गोल गर्दै विश्व फुटबलमा राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने विश्व रेकर्ड राखेका थिए । ८९ गोलका साथ मलेसियाका मोख्तर दाहारी तेस्रो स्थानमा छन् । हंगेरीका फेरेन्क पुुस्कास ८४ गोलका साथ चौथो स्थानमा छन् । ब्राजिललाई तीनपटक विश्वकप उपाधि दिलाएका पेलेले ९२ खेलमा ७७ गोल गरेका थिए । ६ पटकको बालोन डिअर विजेता मेसीले गत डिसेम्बरमा पेलेले एकै क्लबबाट सर्वाधिक गोलको कीर्तिमान तोडेका थिए ।

 ह्याट्रिक लगाए मेसीले 
पेलेले ब्राजिलियन क्लब सान्तोषबाट ६ सय ४३ गोल गरेका थिए । मेसीले बार्सिलोनामा डेढ दशक रहँदा ६ सय ७२ गोल गरेका थिए । गत महिना मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आबद्ध भएका हुन् । विश्वकप छनोटमा शुक्रबार मेसीको ह्याट्रिकको सहयोगमा अर्जेन्टिनाले बोलिभियालाई ३–० ले हरायो । खेलको १४औँ मिनेटमा मेसीले डिबक्सबाहिरबाटै गोल गर्दै पेलेको कीर्तिमानलाई बराबरी गरे । 

मध्यान्तरअघि अर्जेन्टिना बोलिभियाविरुद्ध १–० ले अघि नै रह्यो । मध्यान्तरपछि मेसी चम्किँदा बोलिभियाको केही लागेन । खेलको ६५औँ मिनेटमा मेसीले व्यक्तिगत दोस्रोे गोल थप्दै पेलेको कीर्तिमान तोडेका हुन् । मेसीले ८९औँ मिनेटमा ह्याट्रिक पूरा गरे । उनले ह्याट्रिक गर्दा बोलिभियाका एक डिफेन्डरलाई कटाउँदै गोल गरेका हुन् । यससँगै मेसी दक्षिण अमेरिकी क्षेत्रमा राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीसमेत बनेका छन् । 

मेसीले पेलेको रेकर्ड तोड्ने सपना तथा लक्ष्य पूरा भएको बताएका छन् । ‘लामो समयदेखि लिजेन्डर पेलेको कीर्तिमान तोड्ने लक्ष्य राखेको थिएँ, जुन आज पूरा भएको छ,’ हर्षित हुँदै मेसीले भने, ‘मेरो सपना पूरा हुनुमा भगवान्लाई धन्यवाद दिन चाहन्छु ।’ राष्ट्रिय टोलीका लागि थप योगदान दिन पाउँदा आफू अत्यन्तै खुसी भएको उनले बताए । ‘अर्जेन्टिनी टोलीका लागि कीर्तिमान बनेको छ, म खुसी छु,’ मेसीले भने, ‘देशका लागि योगदान र गोल गर्न पाएँ, योभन्दा अरू खुसी के हुन सक्छ ?’ माउमेन्टल रंगशालामा बोलिभिया र अर्जेन्टिनाबीच खेल हेर्न २० हजार दर्शक थिए । 

 ब्राजिल अपराजित
नेमार जुनियरको एक गोलको मद्दतमा ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा लगातार आठौँ जित निकालेको छ । शुक्रबार बिहान पाँचपटकको विजेता ब्राजिलले पेरुलाई २–० ले हरायो । एक गोल गरेका नेमारले थप एक गोलका लागि सहयोगसमेत गरेका थिए । खेलको १४औँ मिनेटमा मिडफिल्डर एभर्टन रिवेइरोले नेमारका क्रसमा ब्राजिललाई १–० को अग्रता दिलाए । खेलको ४०औँ मिनेटमा नेमारले ब्राजिललाई २–० को स्थितिमा पुर्‍याए । 

रिवेइरोको प्रहारलाई पेरुका डिफेन्डरले क्लियर गर्न नसकेको फाइदा उठाउँदै नेमारले सहजै गोल गरे । दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिल २४ अंकका साथ शीर्ष स्थानमा छ । अर्जेन्टिनाले दोस्रो स्थान पक्का गर्दा १८ अंक जोडेको छ । यसैगरी, कोलम्बियाले घरेलु मैदानमा चिलीलाई ३–१ ले पराजित गरेको छ । कोलम्बियाका लागि मिगुइल बोर्जाले दुई तथा लुइस डियाजले एक गोल गरेका थिए । 

कोलम्बियाले नौ खेलबाट १३ अंक जोडेर पाँचाैँ स्थानमा बलियो बनाएको छ । चिली सात अंकका साथ आठौँ स्थानमा रहेको छ । यसैगरी, उरुग्वेले इक्वेडरलाई १–० ले पराजित गर्‍यो । उरुग्वेको कठिन जितमा गास्टन पेरेइरोले खेलको अन्तिम समयमा एक मात्र गोल गरेका थिए । उरुग्वे नौ खेलबाट १५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । इक्वेडर १३ अंकका साथ चौथौँ स्थानमा रह्यो । अर्काे खेलमा पाराग्वेले भेनेजुएलालाई २–१ ले हरायो ।