मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २५ शुक्रबार ०६:२५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल–बंगलादेश मैत्रीपूर्ण महिला फुटबल : पहिलो खेलमा नेपाल विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २५ शुक्रबार ०६:२५:००

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाली सिनियर महिला फुटबल टोलीले बंगलादेशलाई २–१ ले पराजित गरेको छ । दशरथ रंगशालमा बिहीबार भएको खेलमा चारमध्ये दुई डेब्यु खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली टोली विजयी बनेको हो ।

स्ट्राइकर सबिता रानामगर, प्रीति राई, सृजना सिंह र रश्मिकुमारी घिसिङले बंगलादेशविरुद्धको खेलमा डेब्यु गरेका हुन् । जसमध्ये प्रीति र सबिताले एक–एक गोल गर्दा नेपालले आफूभन्दा फिफा वरीयतामा ३६ स्थान तल रहेको बंगलादेशलाई हराएको हो । दशरथ रंगशालामा आगामी आइतबार नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल हुनेछ ।

२३ मिनेटभित्रै दुई गोल
विदेशी प्रशिक्षक ग्यारी फिलिप्सको प्रशिक्षणमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलोपटक दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेलेको हो । अर्को अर्थमा नेपाली महिला टोलीको रंगशालामा पहिलो डेब्यु अन्तर्राष्ट्रिय खेल हो । खेलको १३औँ मिनेटमै नेपालले बंगलादेशविरुद्ध १–० को अग्रता लियो । नेपालका लागि पहिलो गोल सबिताले गरेकी हुन् । सबिताले गोल गर्दा विमला चौधरीको योगदान महत्वपूर्ण रह्यो । 

डिबक्सबाहिर विमला चौधरीले निकालेको क्रसमा सबिताले बंगलादेशकी गोलरक्षक रूपना चक्मा र डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । एक गोलको अग्रता लिएपछि नेपाली खेलाडीले आफ्नो पोसेजन बलियो बनाए । निरन्तर बंगलादेशको पोस्टमा चार्ज गरे । खेलको २३औँ मिनेटमा नेपालले दोस्रो गोल थप्यो । यसपटक अर्की डेब्यु खेलाडी प्रीतिले गोल गरिन् । 

मैदानको मध्यभागबाट नेपालकी सरु लिम्बुले निकै चलाखीपूर्ण रूपमा प्रीतिलाई पास उपलब्ध गराइन् । प्रीतिले अफसाइड ट्याप बिट गर्दै डिबक्सभित्रबाटै गोलरक्षक रूपना चक्मा अघि बढेको अवस्थामा सहजै गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाइन् । बंगलादेशले खेलमा फर्कने प्रयास गरेको थियो । दबाब झेलिरहेको बंगलादेशी खेलाडीले आफ्नो स्पिड र बल कन्ट्रोलमा राखेका थिए । 

खेलको ३५औँ मिनेटमा बंगलादेशले गोलअन्तर घटाउने मौका गुमाएको थियो । नेपाली डिबक्सभित्र बंगलादेशकी मोसामत सोप्नाले ओपन प्रहार गरेको बल पहिलो बारनजिक हुँदै बाहिरिएको थियो ।

 एकैपटक घाँसे मैदानमा खेल्दा अप्ठेरो
 ग्यारी फिलिप्स मुख्य प्रशिक्षक, नेपाल

हामीले मैत्रीपूर्ण खेलका लागि ६ साता आर्टिफिसियल मैदानमा अभ्यास गरेका थियौँ । बंगलादेशविरुद्धको खेलअघि दुई दिन मात्र आर्मीको घाँसे मैदानमा अभ्यास ग¥यौँ । एकैपटक घाँसे मैदानमा खेलाडीले केही अप्ठ्यारो अनुभव गरेको पाएँ । मध्यान्तरपछि खेलाडी थकित देखिए ।  

 मध्यान्तरपछि खेल राम्रो
 गोलाम रोवानी छोटन मुख्य प्रशिक्षक, बंगलादेश

महामारीबीच मैत्रीपूर्ण खेल प्रबन्ध मिलाएको संस्थालाई धन्यवाद ! समग्रमा नेपालविरुद्धको खेलमा हाम्रो प्रदर्शन राम्रो नै थियो । सुरुका दुई गोल हाम्रै गल्तीमा भएको थियो । योबाहेक अन्य पक्ष विश्लेषण गर्दा खेलाडीहरूले धेरै राम्रो खेले । सुरुवातमै दुई गोल व्यहोर्दा खेलाडी अलि नर्भस भए । हामीले बिस्तारै खेलमा नियन्त्रण लिँदै गयौँ । बंगलादेशले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गरेको हो ।