मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २५ शुक्रबार ०६:१६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

एन्टिबडी परीक्षण कति आवश्यक ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २५ शुक्रबार ०६:१६:००

कोभिड नियन्त्रणको विकल्प मानिएको भ्याक्सिन तीव्र प्रयोगमा आइरहेको छ । संक्रमणविरुद्ध अन्य औषधि उपलब्ध नहुँदा महामारीबाट बच्न भ्याक्सिनलाई प्रमुख प्राथमिकतामा राखिएको हो । तर, स्वरूप परिवर्तन गरिरहेको कोरोना भाइरसको भेरियन्टले खोप लगाएपछि उत्पादन भएको एन्टिबडीले आशा गरिएअनुसार लामो समयसम्म काम गर्न नसक्ने अध्ययनहरूले देखाइरहेका छन् । तर, क्लिनिकल रिपोर्टहरूले खोप लगाइसकेपछि गम्भीर संक्रमण हुनबाट बचाउने भने पुष्टि गरिसकेका छन् ।

पछिल्लो समय स्वरूप परिवर्तित डेल्टा भेरियन्ट संक्रमणबाट पूर्ण भ्याक्सिन लगाएकाहरूमा पनि जोखिम देखिएपछि एन्टिबडी परीक्षण गराउनेको संख्या बढ्न थालेको छ । खासगरी, खोपको पूर्ण डोज लगाएका सबै व्यक्तिमा समान एन्टिबडी नहुने हुँदा पोस्ट भ्याक्सिनेसन अर्थात् खोपको अर्को डोज आवश्यक पर्ने भन्दै एन्टिबडी परीक्षणमा जोड दिन थालिएको हो । 

एन्टिबडी परीक्षण वा सेरोलोजी परीक्षणले प्रतिरक्षा प्रणालीद्वारा बनाएको आइजिजी र आइजिएम प्रोटिन निर्धारण गर्छ । अर्थात्, व्यक्तिको सुरक्षा प्रतिरक्षा स्तरको निर्धारण गर्न सक्छन् । जसका माध्यमबाट सुरक्षित रहे÷नरहेको वा खोप प्रभावकारी भए/नभएको यकिन गर्न सकिन्छ । सामान्यतया खोप आफैँमा संक्रमणको पूर्ण उपचार भने होइन । तर, खोपका माध्यमबाट संक्रमणको जोखिम कम गर्न, रोगको गम्भीरता र अर्को व्यक्तिमा सर्न नदिन प्रभावकारी भूमिका खेल्ने गर्छन् । 

शरीरमा निश्चित समयसम्म रहने हुँदा अन्य औषधि पनि उत्तिकै आवश्यक मानिन्छ । क्लिनिकल अध्ययनहरूका अनुसार खोपबाट उत्पन्न प्रतिरक्षा प्राकृतिक प्रतिरक्षाको तुलनामा निकै भिन्न हुन्छ । खोपको पूर्ण डोज लगाएको ९० देखि १२० दिनपछि मात्र शरीरमा एन्टिबडी उत्पादन हुने गर्छ । अर्थात्, उच्च प्रतिरक्षा विकसित भएको व्यक्तिले खोप लगाएको महिनौँपछि एन्टिबडी संख्यामा रेकर्ड गर्न थाल्छ । यो अवधिभित्रमा डेल्टा भेरिएन्टजस्ता भेरियन्टहरूले संक्रमण गर्न सक्ने सम्भावना रहन्छ । 

अर्थात्, शरीरमा एन्टिबडी बलियो नहुँदै हुन सक्ने संक्रमणले जोखिम निम्त्याउन सक्छन् । रोगप्रतिरोधात्मक क्षमतामा कमी आउनु केही व्यक्तिहरूका लागि समस्याको कारक हुन सक्ने चिकित्सकहरू बताउँछन् । तर, तुलनात्मक रूपमा सबैमा एन्टिबडीको मात्रा निकै भिन्न रहने हुँदा भ्याक्सिनपछि निश्चित अवधिसम्म संक्रमणको जोखिम न्यून रहन्छ ।

कसले गर्नुपर्छ एन्टिबडी परीक्षण ?
तेस्रो लहरको जोखिमको समयमा एन्टिबडी परीक्षण आवश्यक हुन सक्ने विज्ञहरूको अनुमान छ । सामान्यतया आफू संक्रमणको जोखिममा रहे/नरहेको थाहा पाउन एन्टिबडी परीक्षण गर्न सकिन्छ । सामान्यतया एन्टिबडीको आधारमा उच्च जोखिममा रहेको पत्ता लगाउन सकिने र आवश्यक सावधानी अपनाउन सकिने हुँदा एन्टिबडी परीक्षण प्रभावकारी हुन सक्ने चिकित्सकहरू बताउँछन् । तर, तत्काल बुस्टर खोपहरू उपलब्ध नभएको र सम्पूर्णमा भ्याक्सिनको पहुँचसमेत नभएकाले एन्टिबडी परीक्षणमा खासै ध्यान दिइएको पाइँदैन ।

 तत्कालका लागि अन्य स्वास्थ्य समस्या भएका र एन्टिबडी कम हुने व्यक्तिका लागि परीक्षण आवश्यक हुने विज्ञहरूको सुझाब छ । तर, नेपालमा भने एन्टिबडी परीक्षणलाई प्राथमिकतामा राखेको पाइँदैन ।

एन्टिबडी परीक्षण गर्ने न्यून छन् : डा. झा
 

खोपको दायरा बढाउँदै लगे पनि अस्पतालसम्म एन्टिबडी परीक्षणका लागि पुग्नेको संख्या न्यून रहेको चिकित्सकहरू बताउँछन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एन्टिजेन परीक्षणका लागि ल्याइएको रेजेन्टहरूसमेत खेर गइरहेका छन् ।

शरीरमा एन्टिबडी लेभलले कोभिड संक्रमण हुन सक्ने यकिन नहुने भएकाले एन्टिबडी परीक्षण त्यति आवश्यक नभएको बताउँछिन्, राष्ट्रिय जनस्वास्थ्य कार्यालयकी निर्देशक डा. रुना झा । उनी भन्छिन्, ‘अहिलेसम्म शरीरमा कति एन्टिबडी भयो भने संक्रमणबाट बच्न सकिन्छ भन्ने कुनै आधार छैन ।’

सामान्यतया खोप लगाइसकेका र लक्षण देखिएर पनि बेवास्ता गरेकाहरूमा कोभिड संक्रमण भए÷नभएको थाहा पाउनका लागि एन्टिबडी परीक्षण गर्न सकिन्छ । यसबाहेक इम्युनोकम्प्रमाइज्ड अर्थात् स्वास्थ्य अवस्थाका कारण प्रतिरोधी क्षमता कम हुने व्यक्तिहरूले समेत स्वास्थ्य अवस्था थाहा पाउन एन्टिबडी परीक्षण गर्न सक्छन् ।