बर्खामा झापा गाउँपालिकाका केही भूभाग प्रत्येक वर्ष डुब्छन् । पूर्वमा बिरिङ र पश्चिममा कन्काई माई नदीजस्ता ठूला नदीको बिचमा रहेको झापा गाउँपालिका प्रत्येक वर्ष बाढीको चपेटामा पर्ने गरेको छ।
नदीकटान क्षेत्रमा रहेका बस्ती अधिकांश गरिब सन्थालको छ। प्रत्येक वर्ष नदीमा बाढी आउनेबित्तिकै उनीहरूलाई डाँडामा रहेको विद्यालयमा बस्नुपर्ने बाध्यता छ। गाउँपालिकाले सन्थाल समुदायकै लागि भनेर ७६ लाख खर्चेर २० वटा घर बनाएको छ। चिटिक्क परेका तीनकोठे पक्की घर बनेको दुई वर्ष भयो।
झापा– २ स्थित बालुवाटारमा गाउँपालिकाले तराई मधेस समृद्ध कार्यक्रमको ७६ लाख बजेट खर्चिएर विपन्न सन्थाल समुदायका नागरिकका लागि एकीकृत बस्ती बनाएको छ। तर, झापा गाउँपालिकाका सन्थाल समुदायले ती घरमा बस्नै पाएका छैनन्। सन्थाल समुदायले त्यहाँ बस्न नपाउँदै दुई वर्षमा ती घरका झ्याल–ढोका फुटेका छन्। संरक्षण अभावमा सन्थालले बस्न नपाउँदै घर जीर्ण बनेका छन् । स्थानीयले बाख्रा बाँध्ने खोरका रूपमा एकीकृत बस्तीलाई प्रयोग गर्न थालेका छन्।
तर, गाउँपालिकाले सुकुम्बासी, गरिब र घरविहीन सन्थाललाई राख्नुको सट्टा त्यहाँ सन्थाल संग्रहालय बनाउने तयारी गरेको छ। ‘यसलाई पर्यटकीय क्षेत्र बनाउन खोजेका छौँ। त्यहाँ सन्थालको परम्परादेखि चल्दै आएको धर्म, संस्कृति, बाजागाजादेखि उनीहरूको सबै रहनसहन राख्ने तयारी छ। अब त्यहाँ एउटा भवन बनाउन बाँकी छ,’ गाउँपालिका अध्यक्ष जयनारायण साहले भने, ‘त्यहाँ केही घर विपन्न सन्थाललाई पनि राख्छौँ। तर, मुख्यतः संग्रहालय हुन्छ।’
गाउँपालिकाले बनाएको घर खाली छ। २० वटा घरमा संरक्षण अभावले झ्याल–ढोका फुट्नुका साथै दिसा–पिसाप पनि देखिन्छ। तर, प्रत्येक वर्ष बाढी पस्ने बस्तीका सन्थाल सुकुम्बासी भने त्रासमै जीवन बिताइरहेका छन्। ‘गाउँपालिकाले सकुम्बासीका लागि भनेर बनाएका २० वटा घर राम्रा छन् । ती घर अहिले खाली छन्। तर, हामीलाई बस्न दिइँदैन। कम्तीमा अलिकति भए पनि त सुरक्षित हुन्थ्यौँ । बर्खा लागेपछि आकाश कालो हुनेबित्तिकै रातभर सुत्न सक्दैनौँ। मोबाइलमा बाढीको म्यासेज कति बेला आउँछ भनेर हेरेर बस्छौँ’, मिलन बस्तीका सुकुम्बासी सोनिलाल सोरेन भन्छन्, ‘सरकारले त्यो घर दिए त हामीलाई ढुक्क हुन्थ्यो। कति बेला खोला आएर बगाउँछ कि भनेर डराउन पर्दैन थियो। तर, हामी ठुलो परिवार हुनेलाई दिँदैन रे ! त्यहाँ त गाईवस्तु नपाल्ने सानो परिवारलाई मात्र दिन्छ रे ! हामीलाई त गाईवस्तु नपाली खानै पुग्दैन।’
गत साल बाढीबाट विस्थापित केही सन्थाललाई त्यहाँ राखिएको थियो। तर, पछि कोरोनाका लागि आइसोलेसन सेन्टर बनाउने भन्दै उनीहरूलाई त्यहाँबाट निकालियो। केही समय आइसोलेसन बनाएर अहिले खाली छाडिँदा संरक्षण अभाव देखिएको छ।
गाउँपालिकाले बनाएका घरको संरक्षण गर्न नसक्दा भत्कन थालेको झापा गाउँपालिका–२ का मुकुन्दलाल राजवंशी बताउँछन्। ‘केटाकेटी आउँछन् भत्काउँछन्। कसैले हेर्दैन। अहिले त बाख्रा बाध्ने ठाउँ बनाएको छ। कतै झ्याल–ढोका फुटेका छन्। गाउँपालिकाले ध्यान दिनुपर्छ नि ! कमसेकम गाउँपालिकाका हाकिमहरूले एउटा चाबी लाइदिएको भए पनि सुरक्षित हुन्थ्यो नि !’ उनले भने, ‘सन्थालका लागि बनाएको रे ! मान्छेलाई दिन बनाएको भए छिटो दिनु नि ! किन यस्तो बिजोग बनाएर राख्ने ? के गर्ने गाउँपालिकाले ध्यान नै दिँदैन।’
गाउँपालिका अध्यक्ष साहले संरक्षण अभाव भएको बताए । ‘त्यहाँ मान्छे नभएकाले केही समस्या आएको हो,’ साहले नयाँ पत्रिकासँग भने, ‘हामी छिट्टै काम सकेर संरक्षण गर्छौँ। त्यहाँ केही घर मान्छे ल्याएर राख्छौँ।’