दाङबाट २१ जनप्रतिनिधि माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीमा खुलेका छन्। स्थानीय तह गढवा गाउँपालिका उपाध्यक्ष शान्ति चौधरीले एकीकृत समाजवादी रोजेकी छिन्। उनी प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीकी दिदी हुन्।
त्यस्तै, घोराही उपमहानगरपालिका– ४ का वडाध्यक्ष भीमबहादुर सार्की, तुलसीपुर उपमहानगरपालिका– १६ का वडाध्यक्ष भूपबहादुर केसी, घोराही उपमहानगरपालिकाका कार्यपालिका सदस्य डिल्ली नेपाली, धनबहादुर कुसुण्डालगायत रहेको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख निमराज भट्टराईले जानकारी दिए।
त्यस्तै, घोराही १२ का वडा सदस्य गिरबहादुर विक, जिल्ला समन्वय समिति दाङका सदस्य तिला पुनलगायत रहेका छन्। त्यस्तै, एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलको वडा तुलसीपुर उपमहानगरपालिका– १९ का तीनजना जनप्रतिनिधिसहित १० जनाले आइतबार सनाखत गरेका थिए।
दाङमा यस अघि माधव समूहमा रहेका घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपाने र बबई गाउँपालिका उपाध्यक्ष सावित्रा विश्वकर्माले अन्ततः एमालेमै रहने निर्णय गरेका छन्।
उनीहरूले एमालेभित्रै संघर्ष गर्ने भन्दै फुटलाई साथ नदिएको नयाँ पत्रिकालाई प्रतिक्रिया दिएका छन्।
दाङमा माधव नेपाललाई साथ दिएका पार्टीका जिल्ला अध्यक्ष टीकाराम खड्काले नै न्युट्रल रहेपछि धेरै जनप्रतिनिधि समाजवादीको पक्षमा खुलेनन्। दाङमा ३० वटा वडा एमालेले जितेको थियो। तीमध्ये दुईवटा वडाका अध्यक्षले मात्रै माधवको साथ रोजे।