१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
उपेन्द्र खनाल
२०७५ पौष ५ बिहीबार ११:३७:००
Read Time : < 1 मिनेट
समाचार

तनहुँ जलविद्युत् आयोजना अन्योलमा 

Read Time : < 1 मिनेट
उपेन्द्र खनाल
२०७५ पौष ५ बिहीबार ११:३७:००

निर्माण कम्पनीका कर्मचारी पक्राउ परेपछि १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना अन्योलमा परेको छ । मेलम्ची खानेपानी आयोजनाको समेत निर्माणको जिम्मा लिएको इटालियन कम्पनी सिएमसीका कर्मचारीलाई दुई दिनअघि प्रहरीले काठमाडौंमा पक्राउ गरेको हो ।

काम अधुरै छोडेर भाग्न लागेको जनाउँदै पक्राउ गरिएका कर्मचारीको राहदानीसमेत जफत गरिएको छ । निर्माण कम्पनीका कर्मचारीलाई नियन्त्रणमा लिएसँगै काम प्रभावित हुन सक्ने तनहुँ जलविद्युत् आयोजनाका साइट इन्चार्ज विदुर अधिकारीले बताए । ‘आयोजनाले गति लिन लागेको अवस्थामा यो घटनाले थप संकट पैदा भएको छ,’ इन्जिनियर अधिकारीले भने । 

तनहुँ जलविद्युत् आयोजनाको नदी फर्काउने, बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि सिएमसीलाई ठेक्का दिइएको थियो । निर्माण कम्पनी वित्तीय संकटमा परेको समाचार आएको जनाउँदै आयोजनाका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले भने, ‘यदि सिएमसी कानुनी रूपमा वित्तीय संकटमा परेको प्रमाणित भएमा नयाँ प्रक्रियाबाट अगाडि बढ्नेछौँ ।’

 यस्तो छ निर्माणको अवस्था 
अहिले आयोजनाको तीन सय मिटर टेस्टिङ टनेल निर्माण भएको छ । त्यस्तै, आवास निर्माणको काम, पावरहाउस जाने सडक कालोपत्रे र विद्युत् खरिद–विक्री सम्झौता भएको छ । आयोजनाले गति लिइरहेका वेला निर्माण कम्पनीका कर्मचारी पक्राउ परेपछि कामदार पनि अन्योलमा परेका छन् । काम गरेको पैसा पाइने हो कि होइन भन्ने संशय देखिएको छ ।