
अटिजम अथार्त स्नायु र नसाको विकासमा आउने ह्रासले उत्पन्न हुने समस्या भएका बालबालिकाको लागि भरतपुर महानगरपालिकाले विशेष विद्यालयको स्थापना गरेको छ । शुक्रबार भरतपुर बालमन्दिर अटिजम विशेष विद्यालयको उद्धघाटन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपालमा नै पहिलो पटक अटिजम भएका बालबालिकाको अध्ययनका लागि महानगर स्तरीय सरकारी अटिजम विद्यालय सञ्चालनमा ल्याएको दाबी गरिन् ।
विगतमा बालमन्दिर विद्यालय रहेको स्थानमा अहिले यो विद्यालय स्थापना भएको हो । साविकको बालमन्दिर स्कुल केही महिना अघिमात्र नारायणी नमुना माविमा मर्च भएको थियो । यहाँ अहिले अटिजम भएका १८ विद्यार्थी छन् । निकट दिनमा ४० पुग्ने अनुमान गरिएको छ । दाहालका अनुसार यो विद्यालय महानगरको सामुदायिक विद्यालयका रुपमा सञ्चालन हुने र अरु विद्यालयलाई भन्दा यो विद्यालय महानगरको विशेष प्राथमिकतामा पर्नेछ ।
महानगरले यहि वर्ष यो विद्यालयको व्यवस्थापनका लागि १८ लाख रुपैयाँ खर्च गर्ने योजना सहित विद्यालय सुधारका लागि कार्यक्रम पनि तयार गरेको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले बताए । उनका अनुसार शौचालय, किचन, खाना पकाउने वा खानेपानीका लागि बालमैत्री धारा जडान रङ रोगनदेखि अन्य शैक्षिक पुर्वाधार निर्माणका लागि तत्काल १८ लाख रुपैयाँ खर्च अनुमान गरिएको बताए । विद्यालय संचालनको लागि भरतपुर महानगरपालिका र नेपाल बाल संगठनबीच सम्झौता पनि भएको छ ।
के हो अटिजम ?
अपाङ्गता भन्नेवित्तिकै शारीरिक अपाङ्गता, दृष्टिबिहिन, बहिरा इत्यादि सम्झन्छौं तर सबै अपाङ्गता हेर्नेवित्तिकै बुझ्न र पहिचान गर्न सकिदैन । तीमध्यको एउटा ‘अटिजम’ हो । अटिजम स्नायु र नसाको विकासमा आउने ह्रासले उत्पन्न हुने अपाङ्गता हो । बालबालिका जन्मेर लगभग दुई अढाई वर्षसम्म प्रष्टरुपमा यसका लक्षणहरु चिन्न गाह्रो हुन्छ । अनुभव र तालिमप्राप्त डाक्टरले मात्र अटिजमको सही पहिचान गर्न सक्षम हुने हुँदा धेरै प्रतिशत बालबालिकाको पाँचदेखि छ वर्षको उमेरमा गएर मात्र पहिचान हुने गरेको अवस्था छ ।
यद्धपी आजको दिनमा बालबालिका ३ वर्ष हुनु अगावै यस अवस्थाको पहिचान गर्न सम्भव भइसकेको छ । कुनै पनि बालबालिकाको भाषा विकास हुनु अगावै १२ महिनादेखि २ वर्ष अघि नै उसमा औंलाले संकेत गर्ने, हो वा होइन भनेर सोध्दा टाउको हल्लाउने, अभिभावकले औंलाले देखाएको बस्तुमा आँखा लैजाने, चिनेको आवाज सुन्दा टाउको फर्काउने, चिन्ने व्यक्तिसँग आँखा जुध्दा मुसुक्क हाँस्ने जस्ता सञ्चार गर्ने सीपहरुको विकास भएको छैन भने त्यस्ता बालबलिकामा अटिजम शंक गर्न सकिन्छ ।