![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/death2021-08-07-02-04-16.jpeg)
पहिरोमा परी एक र खोलाले बगाएर एक गरी कास्कीमा शनिबार दुईजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– २० भलाममा गएको पहिरोमा परी बिहीबारदेखि बेपत्ता ३ वर्षीय सन्तोष श्रेष्ठलाई उद्धारमा खटिएको सुरक्षाकर्मीसहितको टोलीले शुक्रबार मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।
यसअघि बिहीबार सन्तोषका बुबा ४५ वर्षीय कृष्ण र आमा ३५ वर्षीया सुनमायाको पहिरोमा परी मृत्यु भएको थियो । सन्तोषका नाै वर्षीय दाजु राजकुमार भने पहिरोका कारण घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ । टाउकोमा चोट लागेको उनको अवस्था मध्यम छ ।
यसैगरी पोखरा महानगरपालिका– ३२ खुदीखोला (बेगनास तालबाट आएको पानी) ले बगाउँदा स्थानीय ६० वर्षीय रमेश मगरको मृत्यु भएको छ । खोला तरी गगनगौँडातर्फ जाने क्रममा उनलाई खोलाले बगाएको थियो । खोलाले करिब ३० मिटर तल बगाई रूखमा अड्किएको अवस्थामा स्थानीयले देखपछि उद्धार गरी उपचारका लागि अस्पताल लगेका थिए ।
उपचारका लागि शिशुवा अस्पताल पुर्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको हमालले जानकारी दिए । प्रहरीले घटनाका विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।