मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ १८ शुक्रबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका न्युयोर्क
२o७८ भदौ १८ शुक्रबार १६:५५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकामा बाढी र आँधी, ४४ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्युयोर्क
नयाँ पत्रिका
२o७८ भदौ १८ शुक्रबार १६:५५:oo

बाढी र आँधीका कारण अमेरिकामा कम्तीमा ४४ जनाको मृत्यु भएको छ। यहाँको उत्तरपूर्वी क्षेत्रमा पर्ने न्युयोर्क र न्युजर्सी राज्यमा गत बिहीबार रातभरि बाढी र आँधी आएको थियो। सो घटनालाई धेरैले ऐतिहासिक घटनाको संज्ञा दिएका छन्।

‘म अहिले ५० वर्षको भएँ। यस्तो घटना अहिलेसम्म देखेको थिइनँ। यति धेरै वर्षा, आँधी र बाढी कहिले पनि आएको थिएन होला,’ स्थानीय मेटोडिजा मिहाज्लोभले भने। बाढीका कारण आफ्नो रेस्टुरेन्ट पनि पूरै डुबानमा परेको र धेरै क्षति भएकोसमेत उनले जानकारी दिए।

‘म त जंगलमा बसिरहेको छु कि जस्तो लागेको थियो। विश्वासै गर्न नसकिने गरी वर्षा र बाढी आएको थियो। त्यसले धेरै कुरामा क्षति गरेको छ,’ उनले थपे। केही बासिन्दाहरू बाढीको चपेटामा परेको कारहरू र भवनहरूका सबैभन्दा मुनिको तलामा फसेका थिए।

मृत्यु भएकामध्ये अधिकांश पानीको तह बढेपछि आफ्नै सवारीसाधनमा फसेका थिए। घटनाका बारेमा टिप्पणी गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यस घटनालाई जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्ने बताएका छन्। उनले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न नसकेमा यस्तो संकट अरू पनि आइलाग्न सक्ने बताए।

अहिले अमेरिकाले देशैभरि जलवायुसम्बन्धी संकट भोगिरहेको र त्यसको सामना गर्नु परिरहेको बताउँदै यसलाई उनले जीवन वा मरणको सवालको रूपमा उल्लेख गरे। समुद्री सतहको तापक्रम बढ्दा त्यसमाथिको हावालाई तताएर तुफान, चक्रवात र समुद्री हुरी उत्पन्न गर्नका लागि शक्ति प्रदान गर्ने भएकाले यस्ता घटना अझ बढ्ने विज्ञहरूले आकलन गरेका छन्।