केही दिनअघि विराटनगर जाने मौका मिलेको थियो । कोरोना महामारीबीच त्यहाँ देखिएको बढ्दो चहलपहलको कुरा गर्दै जाँदा त्यहाँका एकजना प्रहरी अधिकारीले सीमानाका पनि खुलेकाले प्रहरीहरू अरू व्यस्त रहनुपरेको कुरा खुलाए । लामो अन्तरालपश्चात् खुलेको सीमानाकाका बारेमा स्पष्ट पार्दै उनले भने, ‘व्यापक भिडभाड चलिरहेको छ । हुन पनि किन नहोस्, भेडेटारसम्मका मानिस एउटा पंखा किन्न पनि कहिले सीमानाका खुल्ला र किनौँला भनेर कुरेर बसेका छन् ।’ यो छलफलले कोरोना कहरबीचको जोगबनी नाकाको आवत–जावत हेर्ने रहर र चासो अरू बढेका कारण मध्याह्नको समय पारेर सिमानामा पुग्दा अन्य अवस्थामा भन्दा खास फरक अनुभूति भएन ।
सीमा पार नै गर्दा मुखमा मास्क लगाउनेबाहेक बजार घुम्दा मास्क प्रयोग नगर्नेहरू पनि त्यत्तिकै संख्यामा देखिन्थे । महिनौँपश्चात् खुलेको जोगबनी बजारका साहुजीहरूमा एक प्रकारको उत्साह देखिन्थ्यो भने त्यस बजारका ग्राहक नेपालीहरूमा योजनाअनुसार चाहिएको सामान किनेर नेपालतर्फ फर्किहाल्ने चटारो । भारतीय व्यापारीहरू महिनौँसम्म पसल बन्द गर्नुपर्दाको पीडा ग्राहकसँग नम्र भएर पोखिरहेका र नेपाली ग्रहकहरू सामानको मूल्य कस्दै सस्तोमा किन्न पाएकोमा मख्ख देखिन्थे ।
सीमावारि र पारिको ५० मिटरको फरकमा सामानको मूल्यमा पाइने फरकका कारण त्यहाँको तस्बिर रोचक देखिन्छ । नेपालतर्फ ८५ रुपैयाँ प्रतिकिलो पर्ने चिनी ४०–५० मिटर पारि भारततर्फको बजार जानासाथ ६० रुपैयाँमै पाइन्छ । एउटा ५० ग्राम तौलको डेरिमिल्क चकलेट सीमापारि ६४ रुपैयाँमा पाइन्छ भने दशगजा पार गरेर यता आएर ८० रुपैयाँ तिर्नुपर्छ । त्यसैले सिमानावरपरका मात्र होइन, ५०औँ किलोमिटर टाढा बसोवास गर्ने नेपालीले पनि सामान किन्न सीमापारि जाने रुटिन बनाएका छन् भन्ने प्रहरी अधिकारीको भनाइ यथार्थनजिक छ ।
यसैबीच, महाकाली नदी तरेर भारतीय बाटो प्रयोग गर्दै वैदेशिक रोजगारीमा जान लागेका युवक जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको दुःखद समाचार आयो । लगातार एक महिनादेखि यसबारेमा जनस्तरमा खोजखबर भइरहेको छ । भारततर्फको सीमा सुरक्षामा खटिएका अधिकारीले महाकाली नदीमा रहेको तुइन काटिदिएका कारण उक्त घटना भएको आरोप स्थानीयको छ भने नेपाल सरकारले यसलाई अनुसन्धानको विषय बनाई धामी परिवारलाई १० लाख क्षतिपूर्तिको घोषणा गर्यो र भर्खरै (अस्पष्ट) प्रतिवेदन पनि बुझेको छ ।
झट्ट हेर्दा माथिका यी दुई दृष्टान्त फरक लाग्न सक्छन्, तर यी दुई घटना नेपाली जनताको खुला सिमानाप्रतिको आस्था र प्रतिबद्धता अनि नेपालको सत्ता (जसअन्तर्गत सबै दलका उच्च नेतृत्व, कर्मचारीतन्त्र र काठमाडौंकेन्द्रित कुलीनहरूको समूहसमेत पर्छ) को उदासीनता अनि अस्पष्टता जोडिएका छन् । सिमानावरपर जनस्तरमा नेपाल र भारतबीचमा राजनीतिक सीमा छ, तर आवतजावत र सामान्य किनबेचमा कुनै समस्या छैन र हुन हुँदैन भन्ने भावना अत्यन्त बलियो देखिन्छ ।
विराटनगरमा देखिए जस्तो सीमापार किनमेलमा जाने त्यो भीड र महाकाली तर्न खोज्ने युवक जयसिंह धामी दुवैथरीले यो नेपाल र भारतको सीमा खुला हो र रहनुपर्छ भन्ने भावनाको प्रतिनिधित्व गर्छन् । तर, नेपालमा सरकारमा रहेका र रहने सम्भावना भएकाहरू त्यो भावनासँग असहमत छन् । असहमत हुने पंक्तिमा काठमाडौंकेन्द्रित हामीजस्तो ‘नागरिक समाज’ पनि छ । यो वर्ग खुला सिमानालाई नेपालमा देखिएका सबैै समस्याको मुख्य कारक मान्छ । यो समूहलाई नेपालीको गरिबी, अशिक्षा, अभावको स्रोत, अनि राजनीतिमा देखिने उतारचढावको स्रोत पनि खुला सीमा नै लाग्छ । यस्तै भावनामा भारतको दिल्ली, लखनउ र पटनामा बस्ने ‘भाइसाप’हरू पनि एकमत देखिन्छन् । उनीहरूमध्ये धेरैले पछिल्ला दिनमा दुई देशबीचको खुला सीमालाई सुरक्षा खतराको रूपमा हेर्दै आएको र एउटा सानो समूहसँग हातेमालो गरेर सोहीबमोजिम नीति तथा कार्यक्रमको वकालत गर्न थालेको देखिन्छ ।
के नेपाल र भारतबीच खुला सीमा छ ? : परबाट हेर्नेका लागि नेपाल र भारतबीचमा खुला सिमाना छ । तर, सीमाहरूको सूक्ष्म अवलोकन गर्ने हो भने यहाँ खुलाजस्तो देखिने तर नियन्त्रित अर्थात् कतै अर्धखुला र कतै पूर्ण रूपमा नियन्त्रित सिमानाका अभ्यासहरू देखिन्छन् । एकातिर रोटीबेटीको सम्बन्धका कुरा भइरहे, अर्कोतिर खुला सिमाना भनिए पनि बिस्तारै सिमानामा हुने आवातजावतमा निषेध र नियन्त्रण थपिँदै गए । सिमानामा आवतजावतको रेकर्ड राख्नेदेखि यति–यति बजे नाका खोल्ने र बन्द हुने भनेर आवत–जावतको समयसीमा तोक्ने काम गरिँदै गइयो । महाकाली नदीमा रहेका पक्की तथा कच्ची दुवै प्रकारका पुलमा समयसीमासहितको आवातजावतको अभ्यास वर्षौंदेखि चलेको देखिन्छ ।
हरेक झोलुंगे पुलमा नेपाल र भारत दुवैतर्फ बन्द गर्ने र खोल्ने ढोकाको अनौठो व्यवस्था गरेर त्यहाँ मानव आवत–जावत नियन्त्रण गरेको देखिन्छ । यी पुलमा ताल्चा लागेको वेलामा पारि जानैपरे महाकाली नदीमै तैरिनुपर्ने विकल्प महाकालीवारिपारि बसोवास गर्नेहरूको दिनचर्या भएको वर्षौं भएको छ । दक्षिणतर्फ नेपालको तराईबाट सीमापारमा महाकालीमा जस्तो सकस नदेखिए पनि दुई देशले आवतजावत गर्न पाइने स्थानको संख्या तोक्ने प्रावधानमा सहमति गरेको अवस्था छ । सयौँ किलोमिटरको सीमामा सयौँ स्थानबाट आवतजावत भइआएको अवस्थामा ‘सुरक्षा’लाई बहाना बनाएर अबदेखि यी–यी स्थानबाट मात्र हिँडडुल गर्ने भनेर ‘व्यवस्थापन’को नाममा नियन्त्रण सुरु भयो । यही कारणले दुई सरकारले तोकेको भन्दा अन्य स्थानबाट सीमा पार गर्नेले कहिले नेपालका तर्फबाट त कहिले भारतका तर्फबाट त्यहाँ भेटिने सुरक्षाकर्मीको असहज व्यवहार भोग्न परिरहेको देखिन्छ ।
सिमाना कहीँ खुलाजस्तो, कतै नियन्त्रित अर्थात् अर्धखुला त कति–कति वेला पूर्ण रूपमा नियन्त्रित अभ्यासमा नेपालले सहमति जनाउने गरेको देखिन्छ । नेपाली राज्यले केही समयअघिसम्म भारत र चीनका सीमामा रहेका ३१ वटा भन्सार र एक सय ४३ वटा छोटी भन्सारमार्फत व्यक्ति र सामानको ओसारपसारको क्रियाकलाप गराउँदै आएको थियो । अहिले आएर भारततर्फ १९ मुख्य भन्सार र भद्रपुर, ठाडी, भिष्वा, महेशपुर, सुथौली, पृथ्वीपुर, सती, गुलरिया, दार्चुला जस्ता स्थानमा रहने छोटी भन्सारका रूपमा सीमित रह्यो । सामान आवतजावतमा भन्सार या छोटी भन्सारको सान्दर्भिकता थियो होला, तर दुई देशले सर्वसाधारणको आवतजावत र सामानको ओसारपसार फरक विषय हुन्, यसमा फरक व्यवस्था गर्नुपर्छ भन्ने अवधारणामा रहेर नेपाल आफैँले काम नगरेको र गर्न नखोजेको देखिन्छ । नेपाली या भारतीयले सीमा वारपार गर्दा नजिकैको बजारबाट केही किनबेच गरेकै हुन्छन्, त्यसैले मानव आवतजावत र सामान ओसारपसारको स्थान फरक हुन हुन्न भन्ने मानसिकताले सीमा व्यवस्थापनमा काम गर्नेहरूलाई गाँजेको देखिन्छ । परिणाम, भन्सार या छोटी भन्सार भएका स्थान नै मानव आवतजावतका बाटो पनि हुन् भन्ने मान्यताले दुवैतिर आधिकारिकता प्राप्त गरेको देखिन्छ ।
खुला सीमा अभियान चलाउने, सदियौँदेखि चलिआएको अभ्यासलाई अपनत्व लिएर प्रशंसा गर्ने, खोज र अनुसन्धानमार्फत खुला सीमाका सबल पक्षहरू बाहिर ल्याउने र खुला विश्वको यही मोडेल नै विश्वशान्तिको मोडेल हो भन्ने वातावरणको सिर्जना गर्नेहरू एकजुट भएर धामीजस्ता युवाको चाहनाको खुला आवतजावतको आवश्यकतालाई अरू सुदृढ गर्न आवश्यक छ
नेपाल र भारतको राज्यस्तरको र जनस्तरको सम्बन्धमा रहेको यही फरक सोच नै दुई देशको सम्बन्धमा आउने उथलपुथलका कारण बन्ने गरेका छन् । धामी मृत्युको घटनाले यस मामलामा नेपालको खासगरी खुला सीमा समस्या हो र यसलाई नियन्त्रण गर्नुपर्छ भन्नेहरूका अगाडि नैतिक र सैद्धान्तिक प्रश्न तेर्सिएको छ । परिणाम, नेपाली पक्षले आज धामीको मृत्युलाई हत्या हो भन्न सकेन । नसक्नुको कारण खुला सिमानाप्रति उसको अस्पष्टता हो । मृतक धामीको न्यायको पक्षमा खुलेर वकालत गरौँ त आफैँले विभिन्न नाममा नियन्त्रण गर्न खोजेको सीमामा तुइन खडा गरेर वारपार गर्ने प्रयास गरेर धामीले त्यसलाई चुनौती दिएका छन्, नगरौँ आफ्नो ‘राष्ट्रवादी पहिचान’ पनि बचाउनु छ ।
सीमा नियन्त्रणको प्रस्ताव बहसमा ल्याउनेमा नेपाली कर्मचारीतन्त्र र नेपाली वामपन्थ त थियो नै, आधिकारिक रूपमा पेस गरेर सार्वजनिक नै नभई इपिजीका नाममा बहुप्रचारित टिप्पणीले पनि त्यतै संकेत गरिरहेको छ । नेपाल–भारत प्रबुद्ध वर्ग (इपिजी)को म्यान्डेट हेर्दा नेपाल–भारत सम्बन्ध अरू सुमधुर बनाउन आवश्यक सुझाब दिने भन्नेमा केन्द्रित देखिए पनि यसमा सहभागी नेपाल पक्षीय सदस्यले वर्षौंदेखि अभ्यासमा रहेको र एकहदमा १९५० को सन्धिमार्फत आधिकारिकता पाएको दुई देशका जनताको स्तरमा खुला आवतजावतको प्रावधानलाई कमजोर गर्दै नियन्त्रित सीमाको पक्षमा भरमग्दुर वकालत गरेको बताइन्छ । यहाँ भन्न सकिन्छ कि इपिजीको प्रतिवेदन तयार गर्न काम गरेको अहिलेको प्रमुख प्रतिपक्ष पनि धामीका बारेमा यही विरोधाभासमा छ भन्ने हो ।
नेपालको कर्मचारीतन्त्रदेखि लिएर विपक्षसम्म सुषुप्त रूपमा यो मामलालाई उठाए जस्तो गर्छन्, तर चट्टानी अडानका साथ भारतीय पक्षसँग वार्ता गर्न कोही तयार देखिँदैनन् । जुन तुइनको हवाला दिइँदै छ, त्यो आफैँमा दुई देशले सहमत गरेर राखेको संरचना त थिएन नै, त्यस स्थानबाट नागरिक आवतजावतका लागि स्थानीय या अस्थायी पुलको आवश्यकताको अनुभूति पनि न त काठमाडौं, न त दार्चुलाको सदरमुकाम खलंगाले नै गरेको देखिन्छ । नेपालतर्फको दार्चुला र भारतको धार्चुला रहेको जिल्ला प्रमुखस्तरको सीमा व्यवस्थापन समितिमा समेत कुरा उठेको नसुनिदा ती अनकन्टार स्थानमा रहेका नेपालीका सन्दर्भमा सदरमुकाम र राजधानीमा रहने हाम्रो प्रशासन र हामीजस्ता सुकिलामुकिलाको संवेदनहीनता बुझ्न गाह्रो छैन ।
निष्कर्षमा, धामीले ‘बसुधैव कुटुम्बकम’को नारालाई एकपटक अरू उजागर गरेर विश्वमा चलिरहेको हिँडडुलको स्वतन्त्रताको आन्दोलनका सहिद सूचीमा आफ्नो नाम दर्ज गरेका छन् । स–साना कामका लागि सीमावारपार गर्ने नेपाली र भारतीय जनताहरू यस आन्दोलनका सहयात्री छन् र रहनेछन् । केही वर्षअघिसम्म दुवै छिमेकीसँग खुला आवतजावत गरेका नेपालीहरू आज उत्तरतर्फको त्यो अधिकार एक प्रकारले गुमाइसकेर भारततर्फको पनि नियन्त्रित सीमाको अभ्यासमा खुम्चन बाध्य छौँ । नेपाल र भारत दुवैले सरकारी तहमा यो कुरा मनन गर्न र सीमावरपरका जनतालाई यस मामलामा साथ दिएर अगाडि जान आवश्यक देखिन्छ । वर्षौंदेखि चलिआएका अभ्यासलाई नियन्त्रित गर्ने काममा लाग्नुभन्दा खुला सीमालाई अरू खुला, सुरक्षित र जनचाहनाअनुरूपको कसरी बनाउन सकिन्छ भनेर दुवै देशका नीति–निर्माता घोत्लिनुपर्ने भएको छ । यसमा स्थानीय जनतासँग सहकार्य आवश्यक मात्र होइन, अपरिहार्य देखिन्छ ।
अन्य छिमेकीका सन्दर्भमा यस मामलामा धेरै सकारात्मक नदेखिए पनि नेपाल र भुटानसँग रहेको खुला सीमा अभ्यासमा सुरक्षासंयन्त्रबाहिरका भारतीयहरूले कडा विरोध नजनाइसकेको अवस्थामा कतै नेपाल पक्ष नै यसबारेमा अनुदार त देखिएन भन्ने प्रश्न यहाँ छ । हामीमा रहने यो अस्पष्टताले धामीले गरेको बलिदानी कमजोर मात्र हुँदैन, दुई देशबीचको जनस्तरको सम्बन्ध पनि कमजोर भएर जाने देखिन्छ । कमसेकम कागजी रूपमा खुला मानिदा त स्थानीयले आजको अवस्था भोग्नुपरेको छ भने यो वा त्यो बहानामा दुई देशबीचको सिमाना नियन्त्रणको प्रयास भयो भने भविष्यमा धामीजस्ता आवतजावतको स्वतन्त्रताको उपभोग गर्न खोज्नेको हालत अफ्रिकाबाट युरोप छिर्ने क्रममा समुद्रमा डुबेर मरेकाहरूको, मेक्सिकोबाट अमेरिका छिर्न खोज्दा मरेकाहरूको जस्तो बेवारिसे नहोला भन्न सकिँदैन ।
खुला सीमा अभियान चलाउने, सदियौँदेखि चलिआएको अभ्यासलाई अपनत्व लिएर प्रशंसा गर्ने, खोज र अनुसन्धानमार्फत खुला सीमाका सबल पक्षहरू बाहिर ल्याउने र खुला विश्वको यही मोडेल नै विश्वशान्तिको मोडेल हो भन्ने वातावरणको सिर्जना गर्नेहरू एकजुट भएर धामीजस्ता युवाको चाहनाको खुला आवतजावतको आवश्यकतालाई अरू सुदृढ गर्न आवश्यक छ । खुला सीमा सुरक्षा चुनौती हो भन्ने सुरक्षा संयन्त्रको तर्कलाई तुलनात्मक अध्ययन र अनुसन्धानका निष्कर्षबाट मात्र नाकाम गर्न सकिन्छ । खुला आवतजावतलाई व्यवस्थित र सुरक्षित गर्नकै लागि सीमामा प्रशासनिक र सुरक्षा संयन्त्र परिचालनको आवश्यकता भएको हो, मानव आवतजावत नै बन्द गरे त राज्यलाई उक्त संयन्त्रहरूको पनि के नै काम हुन्छ र भन्ने विषय पनि बहसमा ल्याउनुपर्ने देखिन्छ ।
(प्याकुरेल नेपाल–भारत खुला सिमाना : चुनौती र सम्भावना पुस्तकका सहलेखक हुन्)