मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ भदौ १२ शनिबार ०८:१७:००
Read Time : > 5 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इपिएलमा आबद्ध चर्चित विदेशी खेलाडी

Read Time : > 5 मिनेट
२०७८ भदौ १२ शनिबार ०८:१७:००

नेपाली क्रिकेटकै सर्वाधिक लोकप्रिय एभरेस्ट प्रिमियर लिग (इपिएल)को सरगर्मी बढिसकेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय त्रिभुवन क्रिकेट मैदानमा इपिएल ९ देखि २३ असोजसम्म चल्नेछ ।  इपिएलमा आबद्ध फ्रेन्चाइज टोलीहरूले एकपछि अर्को नाम चलेका विदेशी खेलाडी आबद्ध गर्ने प्रक्रिया सुरु गरिरहेका छन् । आयोजक इपिएलले योपटकको चौथो संस्करमा नाम चलेका विदेशी खेलाडीलाई भित्र्याउँदै सानदार बनाउने तरखरमा छ । 

पाकिस्तान, वेस्ट इन्डिज, श्रीलंका तथा मलेसियाका खेलाडी अहिलेसम्म इपिएलमा आवद्ध भएका छन् । प्रतियोगिता आउन अझै समय बाँकी छ । त्यस समयसम्म थप विदेशी खेलाडी भित्रिने विश्वास आयोजकले लिएको छ । अहिलेसम्म सर्वाधिक नाम चलेका खेलाडीमा पाकिस्तानका अलराउन्डर सहिद अफ्रिदी नै हुन् । क्रिकेटको छोटो फम्र्याटमा वेस्ट इन्डिजका खेलाडीको नाम अगाडि नै आउँछ । वेस्ट इन्डिज खेलाडी इपिएलमा आबद्ध हुँदा यसको रोमाञ्चकता नै फरक हुने देखिन्छ । 

सन् २०१६ मा वेस्ट इन्डिजलाई टी–२० विश्वकप उपाधि दिलाउँदा प्रमुख भूमिका निर्वाह गरेका कार्लोस ब्रेथवेटले पनि इपिएल खेल्ने पक्का गरेका छन् । पाकिस्तानमा पूर्वकप्तान तथा अलराउन्डर सोएव मलिकले पनि इपिएलमा खेल्नेछन् । श्रीलंकाली खेलाडीमा दिनेश चान्डिमल, सिक्कुगे प्रसन्नादेखि मलेसियाका विरनदीप सिंहसम्म खेलाडीले इपिएलमा आफ्नो अनुभव बाँडनेछन् । 

इपिएलमा विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, चितवन टाइगर्स, ललितपुर प्याट्रियस, भैरहवा ग्ल्याडियटर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । सन् २०१८ मा ललितपुरले भैरहवालाई १४ रनले हराएको थियो । योपटक इपिएलमा सहभागी खेलाडीको तलब २० प्रतिशतले बढेको छ । 

सहिद अफ्रिदी (पाकिस्तान)

अहिलेसम्म इपिएलमा सर्वाधिक नाम चलेका खेलाडीमध्ये पाकिस्तानका पूर्वकप्तान अफ्रिदी नै हुन् । अफ्रिदी आइकोनिक खेलाडीका रूपमा काठमाडौं किंग्स इलाभेनमा आबद्ध छन् । अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजमा राम्रो छाप बनाएका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंमा अफ्रिदीको आगमनसँगै टोली बलियो बनेको छ ।

१८ वर्षको अन्तर्राष्ट्रिय क्रिकेटमा अफ्रिदीले आफूलाई एक विस्फोटक ब्याट्सम्यान र अलराउन्डरका रूपमा स्थापित गरे । उनकै कप्तानीमा पाकिस्तानले आइसिसी टी–२० विश्वकप उपाधि जितेको थियो । सन् १९९५ देखि २०१८ सम्म पाकिस्तानी टोलीमा रहँदा अफ्रिदीले विश्व क्रिकेटमा पहिलोदेखि अन्तिम बलसम्म आक्रामक रूपमा ब्याटिङ गर्नुपर्ने शैली विकास गरे । 

क्रिकेटको तीनवटै फम्र्याटमा आक्रामक ब्याटिङ गर्न मनपराउने अफ्रिदीले अन्तिमपटक पाकिस्तानी टोलीबाट सन् २०१८ को ३१ मेमा वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गरेका थिए । ९९ अन्तर्राष्ट्रिय टी–२० खेलमा उनले एक हजार चार सय १६ रन बनाउँदा ७३ छक्का र एक सय तीन चौका प्रहार गरेका छन् ।

२७ टेस्टमा उनले पाँच शतकका साथ एक हजार सात सय १६ रन बनाएका छन् । टेस्टमा अफ्रिदीले ५२ छक्का र दुई सय २० चौका ठोकेका छन् । एकदिवसीय खेलमा उनले तीन सय ९८ खेलमा ६ शतकको सहयोगमा आठ हजार ६४ रन बनाए । 

मोहम्मद साहजाद (अफगानिस्तान)

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट मान्यता पाएको १३ वर्षमै अफगानिस्तान एकदिवसीय टोली बन्यो । अफगानिस्तानले छोटो समयमै टेस्ट मान्यता पाउँदा विकेटकिपर ब्याट्सम्यान साहजादको योगदान उच्च रहेको छ । आक्रामक ब्याट्सम्यान साहजाद चितवन टाइगर्ससँगै आबद्ध छन् । चितवनले सन् २०१९ मा स्थगित भएको इपिएलमा साहजादलाई अनुबन्ध गरेको थियो । साहजादसँग भारत, पाकिस्तान, युएई तथा अफगानिस्तानमा सञ्चालन हुने फ्रेन्चाइज लिगको अनुभव छ । 

अफगानिस्तानले निरन्तर एकदिवसीय विश्वकप तथा टी–२० विश्वकपमा स्थान बनाउँदा साहजाद प्रमुख खेलाडीकै रूपमा थिए । विश्व क्रिकेटमा अझ भनौँ एसोसिएट राष्ट्रमा अफगानिस्तानले नम्बर वानको छवि कायम राख्दा साहजाद नै एक शक्तिशाली खेलाडी थिए । दायाँहाते ब्याट्सम्यान साहजादले अफगानिस्तानलाई सन् २०१० देखि चारपटक टी–२० विश्वकपमा पुर्‍याउँदा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । 

ठूलो इनिङ्स र विशाल छक्का प्रहार गर्न उनी सक्छन् । क्यानडाविरुद्ध सन् २०१० को अन्तरमहादेशीय कपमा उनले चौथो इनिङ्समा नटआउट २१४ रन बनाएका थिए । अफगानिस्तान टोलीबाट पहिलो शतकीय इनिङ्स खेल्ने साहजाद पहिलो खेलाडी हुन् । सन् २००९ मा नेदरल्यान्ड्सविरुद्ध उनले एमस्टलभिनमा बनाएको एक सय १० अफगानिस्तानका खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक थियो । 

कार्लोस ब्रेथवेट (वेस्ट इन्डिज)

चौथो इपिएलमा यसपटक वेस्ट इन्डिजका अलराउन्डर कार्लोस ब्रेथवेट पनि सहभागी हुनेछन् । उनी कुन टोलीबाट इपिएलमा देखिने आयोजकले सार्वजनिक गरेको छैन । आयोजकका अनुसार ब्रेथवेटले इपिएल खेल्ने पक्का गरिसकेका छन् । 

सन् २०१६ मा वेस्ट इन्डिजले पहिलोपटक टी–२० विश्वकपको उपाधि उचाल्दा उनी नायक बनेका थिए । इंग्ल्यान्डविरुद्धको फाइनलमा वेस्ट इन्डिजलाई अन्तिम ओभरमा १९ रन आवश्यक थियो । उनले इंग्ल्यान्डका अनुभवी बलर बेन स्टोक्सको ओभरमा लगातार चार छक्का प्रहार गर्दै वेस्ट इन्डिजलाई विश्वकप उपाधि दिलाए ।

सन् २०११ मा उनले बंगलदेशविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए । टेस्ट खेलमा उनले अस्ट्रेलियाविरुद्ध २०१५ र अन्तर्राष्ट्रिय टी–२० मा सन् २०११ मा बंगलादेशविरुद्ध डेब्यु गरेका थिए । टी–२० मा उनले दुई सय १३ खेलमा एक हजार ७५ रन तथा ३१ विकेट लिएका छन् । यसैगरी ४४ एकदिवसीय खेलमा पाँच सय ५९ रन जोडेका ब्रेथवेटले ४३ विकेट हात पारेका छन् । 

दिनेश चान्डिमल (श्रीलंका)

इपिएलमा अर्को ठूला नाम गरेका क्रिकेटर चान्डिमल हुन् । श्रीलंकाको राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान चान्डिमल भैरहवा ग्ल्याडियटर्सबाट इपिएल खेल्नेछन् । भैरहवाका कप्तान सरद भेषवाकर हुन् । चान्डिमलले श्रीलंकाको तीनवैट क्रिकेट फम्यार्टमा कप्तानीको अवसर पाइसकेका छन् । ३१ वर्षीय चान्डिमल श्रीलंका टी–२० टोलीका कप्तानी गर्ने उनी कम उमेरका खेलाडी हुन् । सन् २०१३ मा चान्डिमलले बंगलादेशविरुद्ध २३ वर्ष १ सय ३३ दिनको उमेरमा कप्तानी गरेका थिए ।

२०१४ को टि–२० श्रीलंकाले भारतलाई हराएर विश्वकप उपाधि जित्दा चान्डिमल महत्वपूर्ण खेलाडी थिए । उनीसँग इन्डियन प्रिमियर लिगको अनुभव पनि छ । उनले आइपिएलकै पूर्वविजेता राजस्थान रोयल्सबाट खेलेका थिए । टी–२० सँगै एकदिवसीय खेलमा पनि उनको ब्याट चल्छ । चान्डिमलले २०१५ को एकदिवसीय विश्वकपमा अस्ट्रेलियाविरुद्ध २२ बलमा अर्धशतकीय इनिङ्स खेलेका थिए । 

विश्वकपमा श्रीलंकाबाट छिटो ५० रन पूरा गर्ने कीर्तिमान उनले लेखे । २०१३ मा दक्षिण अफ्रिकाविरुद्ध एकदिवसीय खेलमा उनले कप्तानी गर्न अवसर पाए । चान्डिमलले ६२ टेस्ट, १ सय ४९ एकदिवसीय तथा टी–२० खेलेका छन् । अनुभवी ब्याट्सम्यान चान्डिमलले टी–२० मा पाँच अर्धशतकको योगदानमा आठ सय ६८ रन जोडेका छन् ।

सोएव मलिक (पाकिस्तान) 

पाकिस्तानका पूर्वकप्तान सोएव मलिक पनि आइपिएलमा आबद्ध हुने क्रममै छन । यद्यपि आयोजकले सोएवले इपिएल खेल्ने निश्चित गरे पनि कुन टोलीमा आवद्ध भएको जानकारी दिएको छैन । पाकिस्तानी टोलीकै निकै अनुभवी अलराउन्डरका रूपमा चिनिने सोएवले सन् १९९९ डेब्यु गरेका थिए । 

एकदिवसीय तथा टेस्ट खेलमा उनले एकै वर्ष डेब्यु गरेका हुन् । टेस्टमा बंगलादेश र एकदिवसीयमा वेस्ट इन्डिजविरुद्ध उनले डेब्यु अवसर पाए । सन् २००६ उनले इंग्ल्यान्डविरुद्ध टी–२० मा डेब्यु गरे । 

सोएवले ३५ टेस्टमा तीन शतकीय इनिङ्ससहित एक हजार आठ सय ९८ रन तथा ३२ विकेट हात पारेका छन् । यसैगरी दुई सय ८७ एकदिवसीय खेलमा उनले नौ शतकको योगदानमा सात हजार पाँच सय ३४ रन बटुल्नुका साथै एक सय ५८ विकेट हात पारेका छन् । 

अन्तर्राष्ट्रिय टी–२० मा एक सय १६ खेल खेलेका सोएवले दुई हजार तीन सय ३५ रन जोडेका छन् । यस खेलमा उनले २८ विकेट लिएका छन् । 

विरनदीप सिंह (मलेसिया) 

चितवनले मलेसियाका अनुभवी खेलाडी विरनदीप सिंहलाई अनुबन्ध गरेको छ । मलेसियन टोलीमा उनी अलराउन्डर नै हुन् । विकेटकिपिङ गर्नु मुख्य जिम्मेवारी उनको हो । आवश्यक पर्दा उनी बायाँहाते बलरका रूपमा प्रस्तुत हुनछन् ।

मलेसियाको उमेर समूहदेखि नै सिंहले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । सन् २०१९ को जुन २४ मा उनले थाइल्यान्डविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । 

कीर्तिपुरको मैदानसँग उनी अभ्यस्त छन् । गत वैशाखमा सम्पन्न तीन देशीय टी–२० सिरिजमा उनले नेदरल्यान्ड्सविरुद्ध ५३ बलमा ८७ रन बनाएका थिए । घरेलु सिरिज मलेसिया क्रिकेट एसोसिएसन (एमसिए)मा उनी सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । 

सिक्कुगे प्रसन्ना (श्रीलंका )

चितवनले उपाधि जित्ने लक्ष्यका साथ राम्रो विदेशी खेलाडी अनुबन्ध गर्ने क्रममा श्रीलंका अलराउन्डर सिक्कुगे प्रसन्नालाई टोलीमा समावेश गरेको छ । मध्यक्रममा ब्याटिङ गर्न रुचाउने प्रसन्ना लेगस्पिन गर्छन् ।

३६ वर्षीय प्रसन्नाले श्रीलंकाबाट एक टेस्ट, ४० एकदिवसीय , टी–२० आई र १ सय ७० टी–२० क्रिकेट खेलेका छन् । उनले तल्लो क्रममा राम्रो ब्याटिङ गर्दा लेगस्पिन बलिङ गर्छन् ।

सन् २०१६ मा आयरल्यान्डविरुद्धको एकदिवसीय खेलमा उनले ४५ बलमा ९५ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए । टी–२० मा उनले एक हजार ७ सय ७७ रन तथा एक सय ३५ विकेट लिएका छन् । २०११ मा श्रीलंका टोलीमा डेब्यु गरेका प्रसन्ना २०१९ पछि टोलीबाहिर छन् । 

दानिस अजिज (पाकिस्तान) 

चितवनले पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी दानिस अजिजलाई इपिएलमा उतार्नेछ । बायाँहाते ब्याट्सम्यान अजिजले यसै वर्ष राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । उनले दक्षिण अफ्रिका एकदिवसीय तथा जिम्बाबेविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

अजिजले दुई एकदिवसीय खेलमा १२ रन जोडेका छन् । यसैगरी अन्तर्राष्ट्रिय टी–२० मा उनले दुई खेलमा ३७ रन बनाएका छन् । यस खेलमा उनले दुई विकेट हात पारेका छन् । लिस्ट एमा उनले ३३ खेलमा सर्वाधिक २५ विकेट हात पारेका छन् ।