१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ११ शुक्रबार
  • Saturday, 05 July, 2025
२o७८ भदौ ११ शुक्रबार o६:५५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सन्दीपले यसपटक पनि बिग बास खेल्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ११ शुक्रबार o६:५५:oo

एकपछि अर्को अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिग गुमाएका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियाको चर्चित बिग बास (बिबिएल) लिग भने खेल्ने भएका छन् । बिग बासमा आबद्ध होबार्ट हरिकेन्सले सन्दीपसँग सम्झौता नवीकरण गरेको छ । सन्दीप लगातार दोस्रो वर्ष होबार्टबाट खेल्न लागेका हुन् ।

बिग बासको नयाँ सिजन ५ डिसेम्बर २०२१ देखि २८ जनवरी २८ सम्म हुनेछ । बिग बासमा पुन अनुबन्धित भएपछि सन्दीपले सामाजिक सञ्जालमा पूरै सिजन अस्ट्रेलियामा हुने प्रतिक्रिया दिएका छन् । गत सिजनमा होबार्टमा आबद्ध धेरै जसो खेलाडीसँग यसपटक आबद्ध रहेको उनले जनाएका छन् । ‘हामीमध्ये धेरै यस वर्ष सँगै खेल्नेछौँ,’ सन्दीपले भनेका छन्, ‘यसपटक सम्भवतः पूरै सिजन बिग बासमा हुनेछु, व्यक्तिगत रूपमा बलियो प्रदर्शन गर्दै टोलीको सफलतामा योगदान गर्नेछु ।’

गत वर्ष पहिलोपटक आबद्ध हुँदा सन्दीपले होबार्टबाट आठ खेलमा आठै विकेट लिएका थिए । गत सिजन उनले ७.५४ इकोनोमी रेट राख्दै बलिङ गरेका थिए । बिग वासको ११औँ सिजनमा होबार्टले सम्झौता गरेका खेलाडीमध्ये पहिलो विदेशी सन्दीप नै हुन् ।

होबार्टले पनि विदेशी खेलाडीमा सन्दीपलाई आबद्ध गर्न पाउँदा निकै खुसी लागेको जनाएको छ । ‘हामीले विदेशी खेलाडीका रूपमा सन्दीपलाई पुनः आबद्ध गरेका छौँ, हामीलाई उनको प्रतीक्षामा छौँ,’ होबार्टले सामाजिक सञ्जालमा भनेको छ ।

यसअघि होबार्टले घरेलु खेलाडी स्कट बोल्यान्ड, टिम डेभिड, नाथन इल्स, पिटर ह्यान्ड्सकोम्ब, कालेब ज्वेल, जोस कानजस्ता खेलाडीसँग सम्झौता गरेको छ ।होबार्टसँग अनुबन्धित हुनुअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए ।

सन्दीपले मेलबर्नबाट पहिलो सिजनमा १३ खेलमा १५ विकेट र दोस्रो सिजनमा आठ खेलमा ११ विकेट लिएका थिए । आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजको लागि सन्दीप ओमानमा छन् । 

पछिल्लो समय सन्दीपले पाकिस्तान सुपर लिग कोरोनाका कारण गुमाए । यसैगरी बेलायतमा भएको टी– २० ब्लास्ट र द हन्ड्रेड भिसाको कारण नै उनले गुमाए । बेलायतमै रहेका वेला उनको भिसा समाप्त भएको थियो ।

बेलायत सरकारले उनलाई भिसा सकिएको जनाउँदै स्वदेश फिर्ता हुन निर्देशन त दियो । क्यारेबियन प्रिमियर लिग नेपालको अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको खेल तालिकासँग मिलेका कारण गुमाएका छन् ।