मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका न्युयोर्क
२०७८ भदौ ८ मंगलबार १८:५२:००
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

निफ अवार्डमा नेवारी चलचित्र जा मन गुभाजु बन्यो उत्कृष्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, न्युयोर्क
२०७८ भदौ ८ मंगलबार १८:५२:००

नेवारी भाषाको चलचित्र जा मन गुभाजुले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको आयोजनामा न्युयोर्कमा सम्पन्न भएको नेपाल आदिवासी चलचित्र अवार्ड (निफ)को उपाधि जित्न सफल भएको छ । 

अमेरिकाको न्युयोर्कमा अगस्ट २१ र २२ मा भएको चलचित्र महोत्सवमा विभिन्न भाषाका सातवटा चलचित्रलाई पछि पार्दै जा मन गुभाजुले उपाधि जित्न सफल भएको हो । यस चलचित्रले उत्कृष्ट अवार्डसँगै उत्कृष्ट पटकथा र उत्कृष्ट अभिनेताको पुरस्कार पनि हात पारेको छ । 

पुरस्कृत नेवारी चलचित्रले अवार्डसहित एक हजार एक सय ११ डलर नगद पुरस्कार पनि जितेको छ । फिप्नाका अध्यक्ष लोक चेम्जोङ र न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत विष्णुप्रसाद गौतमले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरे । 

अवार्ड वितरण समारोहमा उत्कृष्ट चलचित्रसहित विभिन्न १० विधामा पुरस्कार वितरण गरिएको थियो । सो क्रममा उत्कृष्ट नायिकामा मगर भाषाको चलचित्र ट्याङचालककी नायिका तिला मगरले अवार्ड जितेकी छिन भने लिम्बू जातिको को चलचित्रले उत्कृष्ट कथा, ह्योल्मो जातिको मेटोकले उत्कृष्ट छायांकन र दर्शक रोजाइको पुरस्कार जितेको छ । 

यसैगरी तामाङ जातिको प्रङ्ना चलचित्रलाई उत्कृष्ट वेशभुषा पुरस्कार र गुरुङ जातिको चलचित्र मि होर्वै टले उत्कृष्ट संगीत र उत्कृष्ट निर्देशनको अवार्ड हात पारेका छन् । 
फिप्नाले सन् २०१७ देखि यो महोत्सव सुरु गरेको हो । यो तेस्रो आदिवासी चलचित्र महोत्सव हो । विश्व आदिवासी दिवसको अवसर पारेर फिप्नाले खेलकुद, सांस्कृतिक कार्यक्रमसँगै चलचित्र महोत्सव गरेको हो । 

क्विन्सको गुल्सन टेरेसमा भव्य समारोहबीच गरिएको अवार्ड वितरण कार्यक्रममा आफ्नो वेशभुषासहित विभिन्न जातजातिका व्यक्तिहरूको उपस्थिति रहेको थियो भने कार्यक्रममा विभिन्न जातजातिको कला र संस्कृति झल्किने झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा गायक राजु लामा र जगदीश समालको विशेष प्रस्तुति रहेको थियो । कार्यक्रमका संयोजक तथा फिप्नाका महासचिव नरेन्द्र थापाले महोत्सवलाई सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई विशेष धन्यवाद दिँदै आगामी दिनमा महासंघले थप सशक्त कार्यक्रम लिएर आउने बताए । 

कार्यक्रमको पहिलो र दोस्रो दिन छनोटमा परेका चलचित्रहरू प्रदर्शनमा राखिएको थियो । जसमा न्युयोर्कमा रहेका नेपाली दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो ।