१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ७ सोमबार
  • Wednesday, 03 July, 2024
२o७८ भदौ ७ सोमबार o८:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

लागुऔषधमा पत्रकारलाई फसाउन खोज्ने प्रहरीमाथि कारबाहीको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ७ सोमबार o८:३४:oo

पत्रकार महासंघ रौतहटले नियोजित रूपले पत्रकारलाई लागुऔषध ओसारपसारमा फसाउन खोज्ने प्रहरीलाई कारबाहीको माग गरेको छ । महासंघका रौतहट अध्यक्ष प्रेमचन्द्र झाले शनिबार विज्ञप्ति जारी गरी दुवै प्रहरीलाई निलम्बन गरी नियन्त्रणमा लिएर कारबाही अघि बढाउन माग गरेका हुन् । 

प्रहरीकै संलग्नतामा रौतहटका एक पत्रकारलाई लागुऔषध ओसारपसारमा फसाइएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत असइ उदय यादव र जवान मनोज साहको उपस्थितिमै पत्रकारको मोटरसाइकलमा नाइट्राभेट नामको लागुऔषध राख्दै गरेको सिसिटिभी फुटेज सार्वजनिक भएपछि प्रहरीको संलग्नता खुलेको हो । 

मोटरसाइकलमा लागुऔषध लुकाउन असइ यादव र जवान साहले स्थानीय दुई युवालाई प्रयोग गरेको देखिन्छ । यादव जिप्रकाका घुमुवा प्रहरी हुन् । गत ३२ साउनमा प्रहरीले स्थानीय अनलाइनका पत्रकार मोहम्मद मोजिबुल्लाहलाई लागुऔषध ‘नाइट्राभेट’सहित पक्राउ गरेको थियो । उनी चढेको मोटरसाइकलबाट प्रहरीले सो लागुऔषध बरामद गरेको थियो । उनीसँगै राजपुर नगरपालिका–७ का शेख गुलाब अतिउल्लाहलाई पनि सादा पोसाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । 

तर, शनिबार सार्वजनिक भएको फुटेजमा पक्राउ पर्नुभन्दा केही अघि पत्रकार र उनका साथी होटेलमा खाजा खान पसेका वेला असइ यादव र जवान साहको प्रत्यक्ष उपस्थितिमा दुई युवाले मोटरसाइकलमा लागुऔषध लुकाउँदै गरेको देखिएको छ । 

सिसिटिभी फुटेज बाहिरिएपछि प्रहरीले मोटरसाइकलमा लागुऔषध राख्ने धिरज यादव र जितेश यादवलाई नियन्त्रणमा लिएको छ । तर, प्रहरीलाई भने नियन्त्रमा लिइएको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नारायणप्रसाद चिमौरियाले भिडियोमा देखिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताए । प्रहरीको संलग्नताबारे भने उनले तत्काल कुनै प्रतिक्रिया दिन नसक्ने बताए । 

पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरीले केन्द्रीयस्तरको जाँच हुनुपर्ने माग गर्दै फसाइएका दुवै पत्रकारलाई तत्काल रिहाइ गर्न आग्रह गरेका छन् । केही दिनअघि पत्रकार मोजिबुल्लाहले घुमुवा असइ यादवका गलत क्रियाकलापबारे अनलाइनमा समाचार लेखेका थिए । त्यही रिसइबी साँध्न नियोजित रूपमा उनलाई लागुऔषध कारोबारमा फसाउन खोजिएको रौतहटका पत्रकारहरूले आशंका गरेका छन् । 

ad
ad
ad
ad