१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ५ शनिबार
  • Friday, 04 July, 2025
२o७८ भदौ ५ शनिबार १८:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरीकै संलग्नतामा पत्रकारलाई लागुऔषध कारोबारमा फसाउने प्रयास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ५ शनिबार १८:o४:oo

प्रहरीकै संलग्नतामा रौतहटका एक पत्रकारलाई लागुऔषध ओसारपसारमा फसाइएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत असइ उदय यादव र जवान मनोज साहको उपस्थितिमै पत्रकारको मोटरसाइकलमा नाइट्राभेट नामको लागुऔषध राख्दै गरेको सिसिटिभी फुटेज सार्वजनिक भएपछि प्रहरीको संलग्नता खुलेको हो। 

मोटरसाइकलमा लागुऔषध लुकाउन असइ यादव र जवान साहले स्थानीय दुई युवालाई प्रयोग गरेको देखिन्छ । यादव जिप्रकाका घुमुवा प्रहरी हुन् । गत ३२ साउनमा प्रहरीले स्थानीय अनलाइनका पत्रकार मोहम्मद मोजिबुल्लाहलाई लागुऔषध ‘नाइट्राभेट’सहित पक्राउ गरेको थियो । उनी चढेको मोटरसाइकलबाट प्रहरीले सो लागुऔषध बरामद गरेको थियो। उनीसँगै राजपुर नगरपालिका–७ का शेख गुलाब अतिउल्लाहलाई पनि सादा पोसाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो। 

तर, शनिबार सार्वजनिक भएको फुटेजमा पक्राउ पर्नुभन्दा केही समयअघि पत्रकार र उनका साथी होटेलमा खाजा खान पसेका वेला असइ यादव र जवान साहको प्रत्यक्ष उपस्थितिमा दुई युवाले मोटरसाइकलमा लागुऔषध लुकाउँदै गरेको देखिएको छ। सिसिटिभी फुटेज बाहिरिएपछि प्रहरीले मोटरसाइकलमा लागुऔषध राख्ने धिरज यादव र जितेश यादवलाई नियन्त्रणमा लिएको छ। तर, प्रहरीलाई भने नियन्त्रमा लिइएको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नारायणप्रसाद चिमौरियाले भिडियोमा देखिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताए। प्रहरीको संलग्नताबारे भने उनले तत्काल कुनै प्रतिक्रिया दिन नसक्ने बताए। 

यसैबीच, पत्रकार महासंघ रौतहटले नियोजित रूपले पत्रकारलाई लागुऔषध ओसारपसारमा फसाउन खोज्ने दुवै प्रहरीलाई कडा कारबाहीको माग गरेको छ। महासंघका रौतहट अध्यक्ष प्रेमचन्द्र झाले शनिबार विज्ञप्ति जारी गरी दुवै प्रहरीलाई निलम्बन गरी नियन्त्रणमा लिएर कारबाहीअघि बढाउन माग गरेका छन्। 

पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरीले केन्द्रीयस्तरको जाँच हुनुपर्ने माग गर्दै फसाइएका दुवै पत्रकारलाई तत्काल रिहाइ गर्न आग्रह गरेका छन्। केही दिनअघि पत्रकार मोजिबुल्लाहले घुमुवा असइ यादवका गलत क्रियाकलापबारे अनलाइनमा समाचार लेखेका थिए। त्यही रिसइबी साँध्न नियोजित रूपमा उनलाई लागुऔषध कारोबारमा फसाउन खोजिएको रौतहटका पत्रकारहरूले आशंका गरेका छन् ।