मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ३ बिहीबार १२:१६:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानी राष्ट्रपति घानी युएईमा, पैसा बोकेर भागेको आरोप अस्वीकार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ३ बिहीबार १२:१६:००

तालिवानले सत्ता कब्जा गरेपछि देश छाडेका अफगानी राष्ट्रपति असरफ घानी युएई पुगेका छन्। बुधबारसम्म राष्ट्रपति घानी कहाँ थिए भन्नेबारे आधिकारिक सूचना थिएन। केही सञ्चारमाध्यमहरूले उनी ताजकिस्तान, उज्वेकिस्तान हुँदै ओमन पुगेको बताएका थिए। 

बुधबार बिहान युएईको एक मन्त्रालयले वक्तव्य जारी गर्दै असरफ घानी र उनको परिवारलाई मानवताको आधारमा युएईले आश्रय दिएको बताएको छ। 

पैसा लिएर भागेको भन्ने आरोप निराधार : घानी 
युएई पुगेसँगै अफगानी राष्ट्रपति घानीले आफूले पैसा लिएर भागेको भन्ने आरोप निराधार रहेको बताएका छन्। उनले रक्तपात हुन नदिन आफूले काबुल छाडेको बताएका छन्। 

‘म मेरा केही कपडाहरू मात्रै बोकेर हिँडेको थिएँ। मैले पैसा बोकेर हिँडेको भनेर मेरो चरित्रहत्या गर्ने प्रयास भइरहेको छ,’ उनले एक भिडियोमा भनेका छन्, ‘यी आरोपहरू निराधार छन्। तपाईं भन्सारका कर्मचारीहरूसँग सोध्न पनि सक्नुहुन्छ। यी आरोपहरू आधारहीन छन्।’ 

सामाजिक सञ्जाल फेसबुकमा प्रसारण गरिएको उक्त भिडियोमा उनले भनेका छन्, ‘यदि म काबुलमै बसेको भए यतिवेला मैले ठूलो रक्तपात देखिरहेको हुन्थेँ ।’ उनका अनुसार सरकारी अधिकारीहरूको सल्लाहबमोजिम उनले देश छाडेका हुन्। ‘शक्तिसंघर्षका कारण काबुल अर्को यमन अथवा सिरिया हुनुहुँदैन। त्यसकारण मैले काबुल छाड्न बाध्य भएँ,’ भिडियोमा उनले भनेका छन्। उनले आफू अफगानिस्तान फर्किनका लागि छलफल गरिरहेको पनि बताएका छन्। ‘म अफगानिस्तान फर्किनका लागि छलफल गरिरहेको छु ता कि न्यायका लागि इस्लामिक र राष्ट्रिय मूल्यहरूका लागि निरन्तर लाग्न सकुँ,’ उनले भनेका छन्।

यसअघि तालिवानले सत्ता कब्जा गरेपछि देश छाडेका राष्ट्रपति घानीले ठूलो मात्रामा पैसा लिएर भागेको भन्ने समाचारहरू आएका थिए। अफगानिस्तानमा रहेको रसियन राजदूतावासले घानीले केही कार र हेलिकोप्टरमा पैसा भरेर भागेको बताएको थियो। त्यस्तै, ताजकिस्तानका लागि अफगानी राजदूतले घानीले एक सय ६९ मिलियन अमेरिकी डलर लिएर भागेको दाबी गर्दै उनलाई पक्राउ गर्न इन्टरपोलसँग आग्रह गरेका थिए।