१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
दीपक अधिकारी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:४o:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भारतीय जेलमा अनाहक ४१ वर्ष थुनिएका दुर्गाप्रसादलाई क्षतिपूर्तिको प्रक्रिया अझै अघि बढेन

Read Time : > 3 मिनेट
दीपक अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:४o:oo

नसिक रूपमा कमजोर बन्दै गएपछि दुर्गाप्रसादलाई उपचार र हेरचाहका लािग मानव सेवा आश्रममा राखियो

आफन्तका अनुसार दुर्गाप्रसादमा देखिएका समस्या

  • केही समय राम्रा कुरा गर्ने, छिनमै परिवर्तन हुने 
  • कसैलाई नसोधी जता मन लाग्यो त्यतै जाने 
  • के खाने के नखाने भन्ने थाहा नपाउने
  •  आवेशमा आउने, झनक्क रिसाउने 
  •  ओछ्यानमै दिसापिसाब गर्ने

गत चैतमा ४१ वर्षपछि जेल जीवनमुक्त इलाम माई नगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिना (दीपक जैशी)ले खुला आकाशमुनि जीवन बिताएको ६ महिना बित्यो । भारतका विभिन्न जेल हुँदै ७ चैतमा कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’बाट रिहाइ भएका तिम्सिनाको खुला आकाशमुनिको जीवन पनि त्यति सहज छैन । घरमा ९६ वर्षकी आमा, बिरामी भाइ र मानसिक अवस्था ठीक नभएकी बहिनी छन् । चारजना बिरामीको स्याहारसँगै घर चलाउनुपर्ने जिम्मेवारी १९ वर्षीय भतिज गोपालको काँधमा छ । 

घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण दुर्गाप्रसादले खुला आकाशमुनि निकै कष्टकर जीवन बिताइरहेका छन् । ६१ वर्षको उमेरमा नागरिकता पाए । तर, जेल ४१ वर्षसम्मको शारीरिक र मानसिक यातनाका कारण अहिले पनि सहज जीवन बिताउन पाएनन् । मानसिक रूपमा विक्षिप्त दुर्गाप्रसाद केही समय राम्रा कुरा गर्छन्, तर छिनमै परिवर्तन हुन्छन् । 

विनाकुनै अदालती प्रक्रिया र आरोप प्रमाणित नभईकन चार दशकसम्म जेलमा बसेका तिम्सिना घर फर्किएको ६ महिना हुनै लाग्यो । तर, जेलमा हुँदाको यातनाले मानसिक र शारीरिक रूपमा विक्षिप्त छन्, उनी । ६ चैत अर्थात् १९ मार्चमा उनको शारीरिक र मानसिक अवस्था ठीक नभएको भन्दै उनलाई कोलकाता उच्च अदालतले रिहाइ गर्न आदेश दिएको थियो । दार्जिलिङकी एक महिलाको हत्या अभियोग लागे पनि प्रमाणित नभई सन् १९८० देखि भारत पश्चिम बंगालको विभिन्न जेलमा बसेका उनको ‘आइक्यु लेबल’ ९ वर्षको बालकको जस्तो भएको भन्दै अदालतले छोड्न आदेश दिएको थियो । उनको अवस्था ६÷६ महिनामा कोलकात्तास्थित नेपाली महावाणिज्य दूतावासमार्फत अदालतलाई जानकारी गराउनुपर्छ । 

कोलकाता उच्च अदालतले आदेश दिएसँगै उनका भाइ (काकाका छोरा) प्रकाशचन्द्र तिम्सिना र विश्व सेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेतले नेपाल ल्याएका थिए । नेपाल ल्याएपछि प्रदेश सरकारको पहलमा बिराट मेडिकल कलेजमा उनको उपचार गरेको थियो । उपचारपछि उनको शारीरिक अवस्थामा केही सुधार भए पनि मानसिक अवस्था निकै कमजोर बन्दै गएको भतिज गोपाल बताउँछन् ।

दुर्गाप्रसादले फकर–फरक व्यवहार देखाउन थालेका छन् । कहिले घरका सदस्यलाई हप्काउने गरेका छन् त कहिले घरै छाडेर हिँड्ने गरेका छन् । आइतबार घर छाडेर हिँडेका कारण खोजीका लागि प्रहरीको सहायता लिनुपरेको गोपाल बताउँछन् । ‘उपचारपछि ठूलोबुबाको शारीरिक अवस्थामा सुधार आएको छ । मज्जाले हिँड्न सक्नुहुन्छ । तर, मानसिक अवस्था निकै कमजोर भएको छ । जे पायो त्यही खाने । कहिलेकाहीँ त फोहोर नै खानुहुन्छ । जता पनि हिँड्ने गर्न थाल्नुभएको छ । सम्झाउँदा उल्टै आक्रमण गर्न खोज्नुहुन्छ । ओछ्यानमै दिसापिसाब गर्ने गर्नुहुन्छ,’ गोपालले नयाँ पत्रिकासँग भने, ‘घरमा स्याहार र हेरचाह गर्ने कोही छैन । मैले चारजना बिरामीको हेरचाह गर्नुपर्छ । घरको काम पनि आफैँ गर्नुपर्छ । म घाँस काट्न हिँडेको वेला घर छाडेर जानुभयो । घरमा कोही नभएपछि बाध्य भएर मानव सेवा आश्रम ल्याइयो ।’

उपचार गर्ने घोषणा गरेको प्रदेश सरकारले वास्ता गर्न छाड्योे
दुर्गाप्रसादलाई नेपाल ल्याएपछि प्रदेश–१ सरकारले उनको उपचार खर्च व्यहोर्ने घोषणा गर्‍यो । तत्काल विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरेर १५ दिन उपचार पनि गरायो । शारीरिक रूपमा उनलाई केही सुधार पनि भयो । 

तर, मानसिक रूपमा सुधार हुन नसकेको भतिज गोपाल बताउँछन् । प्रदेश सरकारले दुर्गाप्रसादको फलोअपसमेत नगरेको परिवारको गुनासो छ । दुर्गाप्रसादको स्वास्थ्य गम्भीर बन्दा पनि त्यसपछि भने कसैले सोधखोज नगरेको गोपालका दुखेसो छ । ‘खै प्रदेश सरकारले सबै उपचार खर्च व्यहोर्ने भनेको त थियो तर अस्पतालबाट पठाएपछि कुनै सोधखोज पनि गरेन,’ उनी भन्छन् । 

मानव सेवा आश्रममा ल्याइयो 
दुर्गाप्रसादलाई बुधबार विराटनगरस्थित मानव सेवा आश्रम ल्याइएको छ । उपचार अभावले संरक्षण र सुरक्षामा समस्या आउन थालेपछि अधिकारकर्मीहरूको पहलमा उपचारसहितको संरक्षणका लागि आश्रममा राखिएको हो । दुर्गाप्रसादलाई उनको हेरचाह गर्दै आएका १९ वर्षीय भतिज गोपाल तिम्सिना, मानव अधिकार संरक्षण मञ्चका निर्देशक श्याम माबुहाङ, माई नगरपालिकाकी सहजकर्ता निरुता थापाको टोलीले आश्रमको जिम्मा लगाइएको हो । उनलाई आश्रमले उपचारसहित विशेष हेरचाह गरेर राख्ने आश्रमका संयोजक नवराज केसीले बताए । 

क्षतिपूर्तिको पहल चाँडै सुरु हुन्छ : महावाणिज्य दूतावास
दुर्गाप्रससाद २० मार्चमा छुटे । त्यसको दुई दिनपछि अर्थात् २२ मार्चमा उच्च अदालत कोलकाताले दुर्गाप्रसादले विनासुनुवाइ ४१ वर्ष जेलमा बिताउँदा भोगेका शारीरिक र मानसिक यातनाको क्षतिपूर्ति दिन आदेश गर्‍यो । तर, आदेशको ६ महिना हुनै लाग्दासमेत क्षतिपूर्ति प्राप्तिको प्रक्रिया अघि बढ्न सकेको छैन । २२ मार्चमा उच्च अदालत कोलकाताका मुख्य न्यायाधीश थोट्टाथिल बी राधाकृष्ण र न्यायाधीश अनिरुद्र रोयको इजलासले दुर्गाप्रसादको परिवारलाई कानुनअनुसार क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारको नाममा आदेश गरेको थियो ।

तर, क्षतिपूर्तिका लागि कसरी पहल अघि बढाउने भन्ने विषयमा परिवारका सदस्य अन्योलमा छन् । ‘क्षतिपूर्तिका लागि कसरी पहल गर्ने हामीलाई जानकारी छैन । क्षतिपूर्तिका लागि पहल गर्न हाम्रो पहुँचले पनि भ्याउँदैन,’ दुर्गाप्रसादका भतिज गोपाल भन्छन्, ‘कोलकाताको महावाणिज्यदूतसँग पनि कुरा गरेँ । सिडियो साबलाई पनि फोन गरेँ । भएका सबै कागजात हामीसँगै छ । कसले पहल ग¥यो होला र ?’ आरोप प्रमाणित नभए पनि जेलमा लामो समय बिताएको भन्दै परिवारले क्षतिपूर्ति मागेमा दिन अदालतले पश्चिमबंगाल सरकारको नाममा आदेश दिएको थियो । आदेशमा कति क्षतिपूर्ति दिने भन्ने उल्लेख थिएन । 

कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले भने चाँडै क्षतिपूर्तिका लागि पहल थाल्ने जनाएको छ । महावाणिज्यदूत ईश्वरराज पौडेलले दुर्गाप्रसाद र उनको परिवारको अवस्था पनि दयनीय रहेकाले भारतीय कानुनअनुसार अघि बढ्न पहल गर्ने बताए । ‘उहाँहरूको अवस्था एकदम दयनीय छ । फलोअप गर्न सक्ने अवस्थामा पनि छैन । हामी समन्वयात्मक भूमिका निर्वाह गर्छौँ,’ पौडेलले नयाँ पत्रिकासँग टेलिफोन सम्पर्कमा भने, ‘पहिला उहाँ(दुर्गाप्रसाद)लाई छुटाउन प्राथमिकता भयो । त्यो वेलामा हामीले परिवारका सदस्यलाई आउन जान भाडा दिएर पनि सहयोग गर्‍यौँ । क्षतिपूर्तिको प्रक्रिया चाँडै अघि बढाउँछौँ । यो लामो जान पनि सक्छ । तर, परिवार आउन÷जान परेमा महावाणिज्य दूतावासले विगतमा जस्तै सहयोग गर्छ ।’ जेलमा दुर्गाप्रसादको अवस्था थाहा पाउनासाथ निःशुल्क बहस गरेर उनको रिहाइ गर्न र परिवारको सदस्यसम्म खोज्न सहयोग गरेका अधिवक्ता हीरक सिन्हाले कोरोना महामारीका कारण दुर्गाप्रसादले क्षतिपूर्ति पाउन ढिलाइ भएको बताए । उनले महामारी सहज हुनेबितिकै प्रक्रिया अघि बढ्ने जानकारी दिए । 
 

ad
ad