१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७८ भदौ २ बुधबार ०८:३७:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

मोफसलका सहरबीचको उडानमा पनि खचाखच यात्रु

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७८ भदौ २ बुधबार ०८:३७:००

उपत्यकाबाहिर कुनै एउटा सहरबाट अर्को सहरमा हवाई यात्रा गर्नुपर्दा काठमाडौं ट्रान्जिट गर्नैपर्ने बाध्यता पनि हटेको छ 

कहाँ–कहाँ छ उडान ?

  • बुद्ध एयरले पोखरा–भैरहवा, पोखरा–भरतपुर, पोखरा–नेपालगन्ज, भरतपुर–भैरहवा र विराटनगर–तुम्लिङटार क्षेत्रीय उडान गरिरहेको छ
  • तारा एयरले पोखरा–जोमसोम, सुर्खेत र नेपालगन्जबाट माथिल्लो भेग डोल्पा, बाजुरा, सिमिकोट, मुगु र जुम्लामा नियमित र चार्टर उडान गरिरहेको छ ।
  • सीता एयरले नेपालगन्ज र सुर्खेतलाई हब बनाएर हिमाली जिल्लामा यात्रु र कार्गो उडान गरिरहेको छ ।
  • समिट एयरले पोखरालाई हब बनाएर जोमसोम र नेपालगन्ज तथा सुर्खेतलाई हब बनाएर रारा, डोल्पा, सिमिकोटलगायत गन्तव्यमा उडान गर्छ ।
  • कोभिड सुरु हुन अघिसम्म यती एयरलाइन्सले पोखराबाट भैरहवा र भरतपुर दैनिक उडान गरिरहेको थियो । तर, ३० सिटको सानो जेटस्ट्रिम जहाज बिक्री गरेपछि यस्तो सेवा रोकिएको छ ।

१७ साउनमा नेपालगन्जबाट पोखरा उडान गर्नुअघि बुद्ध एयरका कर्मचारी । तस्बिर सौजन्य बुद्ध एयर

काठमाडौंलाई हब बनाएर मुलुकका विभिन्न ठाउँहरूमा उडान गर्दै आइरहेका वायुसेवा कम्पनीहरू क्षेत्रीय (प्रादेशिक) उडानमा आकर्षित देखिएका छन् । काठमाडौं उपत्यकाबाहिर एउटा सहरबाट अर्को सहरमा जाने हवाई यात्रुहरू बढेसँगै वायुसेवा कम्पनी प्रादेशिक उडानमा केन्द्रित हुन थालेका हुन् । यसले उपत्यकाबाहिर कुनै एउटा सहरबाट अर्को सहरमा हवाई यात्रा गर्नुपर्दा काठमाडौं ट्रान्जिट गर्नैपर्ने बाध्यत पनि हटेको छ । 

आन्तरिक उडानमा अग्रणी बुद्ध एयरले पर्यटकीय सहर पोखरालाई हब बनाएर भैरहवा, नेपालगन्ज, भरतपुरलगायत सहरमा उडान गरिरहेको छ । कोभिड–१९ महामारी सुरु हुनुअघि यती एयरलाइन्सले पनि पोखराबाट भैरहवा र भरतपुर दैनिक उडान गरिरहेको थियो । यहीबीचमा ३० सिटको सानो जेटस्ट्रिम जहाज बिक्री गरेपछि तत्कालका लागि क्षेत्रीय उडानहरू रोकिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । तर, बुद्ध एयरले उपत्यकाबाहिर क्षेत्रीय उडानहरू विस्तार गरिरहेको छ । बुद्धले उपत्यकाबाहिर पोखरा–भैरहवा, पोखरा–भरतपुर, पोखरा–नेपालगन्ज, भरतपुर–भैरहवा र विराटनगर–तुम्लिङटार क्षेत्रीय उडान गरिरहेको छ ।

आइतबारदेखि भरतपुर–भैरहवा उडान सुरु गरेको कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्णले जानकारी दिए । कोभिडको दोस्रो लहर मत्थर भएपछि १६ साउनदेखि पोखरा–नेपालगन्ज सीधा उडान सुरु गरेको छ । ‘नेपालगन्जबाट पोखरा पुग्नका लागि गाडीमा करिब १४ घन्टासम्म समय लाग्छ, बाटो पनि त्यति राम्रो छैन,’ उनले भने, ‘यात्रुले सडकबाट भन्दा पनि हवाई यात्रा गर्न थालेका छन् ।’ त्यस्तै नारायणगढ–मुग्लिन सडकमा पहिरो गइरहने र सडक अवरुद्ध भइरहने हुनाले पनि पोखरा–भरतपुर उडान बढी प्रभावकारी बनेको कर्णको भनाइ छ । 

बुद्धले विराटनगरबाट तुम्लिङटारमा सातामा तीन–चार दिन उडान गर्ने गर्छ । भोलिका दिनमा पोखराबाट सिमरा, भद्रपुर, विराटनगर पनि उडान गर्न सकिने कर्णले जानकारी दिए । कोभिडको पहिलो लहरपछि यतीले पोखराबाट सिमरा उडान गर्ने तालिका बनाएको थियो । तर, लगत्तै दोस्रो लहर फैलिन थालेपछि उडान हुन सकेन । यतीले आफूसँग भएका साना जहाज बिक्री गरेपछि उपत्यकाबाहिर क्षेत्रीय उडान अनिश्चित बनेको छ । तर, यतीको भगिनी कम्पनी तारा एयरले पोखरा–जोमसोम, सुर्खेत र नेपालगन्जबाट माथिल्लो भेग डोल्पा, बाजुरा, सिमिकोट, मुगु र जुम्लामा नियमित र चार्टर उडान गरिरहेको छ ।  

आन्तरिक उडान गर्दै आइरहेको श्री एयरलाइन्सले उपत्यकाबाहिर एउटा सहरबाट अर्को सहरमा उडान गर्ने तयारी अझै गरेको छैन । कोभिड मत्थर भएपछि आन्तरिक र विदेशी यात्रुहरू निर्बाध हिँडडुल गर्न थालेपछि क्षेत्रीय उडान गर्न सकिने श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले बताए । सीता एयरले उपत्यकाबाहिर नेपालगन्ज र सुर्खेतलाई हब बनाएर हिमाली जिल्लामा यात्रु र कार्गो उडान गरिरहेको वरिष्ठ महाप्रबन्धक घनश्यामराज आचार्यले बताए । समिट एयरले पोखरालाई हब बनाएर जोमसोम र नेपालगन्ज तथा सुर्खेतलाई हब बनाएर रारा, डोल्पा, सिमिकोटलगायत गन्तव्यमा उडान गर्ने गर्छ । सीता र समिट दुवैले काठमाडौंबाट पनि विकट गन्तव्यमा उडान गर्दै आइरहेका छन् । 

सस्तिँदै टिकट छोटिँदै बाटो
आन्तरिक उडानमा कडा प्रतिस्पर्धा हुन थालेपछि हवाई टिकटको मूल्य स्वात्तै घटेको छ ।  सस्तो टिकटमा सुरक्षित र सजिलो यात्रा गर्न पाइने भएकाले कोभिड महामारीको बीचमा पनि जहाजले राम्रै यात्रुहरू पाइरहेका छन् । बसमा भन्दा जहाजमा तुलनात्मक रूपमा सुरक्षित यात्रा हुने भएकाले पनि धेरैले कोभिड महामारीमा हवाई यात्रा गर्न खोजेको व्यवसायी बताउँछन् । जहाज चढेदेखि नझरेसम्म फेससिल्ड, मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य छ । सरक्षित र सस्तो हुने भएपछि विस्तारै बस चढ्ने यात्रुहरू जहाज चढ्न थालेको बुद्ध एयरका कर्णको भनाइ छ । 

पर्यटन प्रवर्द्धनमा सहयोग
बुद्ध एयरको उडानले पर्यटकीय नगरी पोखरा, चितवन, लुम्बिनी, नेपालगन्ज हवाई सम्पर्कमा जोडिएका छन् । विमान कम्पनीहरूले काठमाडौंपछिको हब पोखरा बनाइरहेका छन् । पोखरा हुँदै ट्रेकिङ जाने र मुक्तिनाथ पुग्ने पर्यटक पनि उत्तिकै हुने गर्छन् । सिजनमा भारतीय पर्यटक नेपालगन्ज, भैरहवा नाका हुँदै आउने गर्छन् । उनीहरू त्यहीँबाटै विमान चढेर पोखरालगायत पर्यटकीय गन्तव्यमा पुग्न सक्छन् । नेपालगन्ज सीमावर्ती सहर लखनउ, कानपुरलगायत सहरबाट पोखरा घुम्न आउनेहरू १४ घन्टाको बसको यात्रा गर्नुको सट्टा जहाजको यात्रा गर्न मनपराउने कर्णको बुझाइ छ ।

उनी भन्छन्, ‘अहिले कोभिडका कारण भारतीय पर्यटक घुम्न आएका छैनन्, भोलि कोभिड मत्थर हुनेबित्तिकै उनीहरू पोखरा घुम्न आइहाल्छन् ।’ पोखराका बासिन्दा बाँके, बर्दिया, सुक्लाफाँटा घुम्न जान्छन् । अझ रारा, फोक्सुन्डो, खप्तडलगायत गन्तव्यमा पुग्न नेपालगन्ज पुग्नैपर्ने अवस्था छ । श्री एयरलाइन्सका प्रवक्ता मानन्धरका अनुसार पर्यटकीय सिजन सुरु भएपछि पोखरालाई हब बनाएर उडान सुरु गर्न सकिन्छ । कोभिडअघि बुद्ध एयरले पोखरा–भैरहवा दैनिक उडान गरिरहेको थियो । तर, बीचमा पोखरा, मुक्तिनाथलगायत ठाउँमा जाने पर्यटकको चाप बढेपछि पोखरा–भैरहवा र पोखरा–भरतपुर दिनमा दुईवटासम्म उडान गर्नुपरेको थियो ।